स्वाब लिन आएको जहाज रनवेबाट चिप्लिएर दुर्घटना, सबै सकुशल

  चैत १५, २०७६

नेपालगञ्ज, चैत १५ : नेपाल एरलाइन्सको जहाज नेपालगञ्ज एरपोर्टमा शनिवार विहान अवतरण गर्दा चिप्लिएर रनवेभन्दा बाहिर गई दुर्घटना भएको छ ।

आशंकित कोरोना संक्रमणका विरामीको स्वाब नमुना लिन काठमाडौबाट आएको सो जहाज शनिवार विहान ११ बजेर २५ मिनेटमा अवतरण गर्ने बेला चिप्लिएर एअरपार्टको रनवे भन्दा बाहिर करिब ८० मिटर टाढा गएको प्रहरीले जनाएको छ । विमान रनवे बाट चिप्लिएर विमानस्थलको झाडीमा गएर अडिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार प्लेन रनवे भन्दा बाहिर गएको जानकारी आएको छ । विमानमा रहेका दुई जना चिकित्सकसहित पाँच जना सकुशल रहेको पनि जानकारी आएको उहाँले बताउनु भयो ।

दुर्घटना लगत्तै प्रहरी ठुलो संख्यामा विमानस्थलमा पुगेको र जहाजमा रहेका चालकदल र यात्रुको उद्धार गरिएको पनि एसपी ओलीले बताउनुभयो ।

नेपालगञ्ज विमानस्थलका अनुसार विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य सबै सुरक्षित छन्। जहाज अवतरण हुनेबेला धावनमार्गबाट बाहिर जालीनेर पुगेको हो। चालक दलका सदस्य र चिकित्सकहरुलाई लिन नेपाल एयरलाइन्सले अर्को जहाज पठाउने तयारी गरेको छ ।

विभिन्न अस्पतालबाट जम्मा गरिएका बिरामीको स्वाबको नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि ल्याउन स्वास्थ्य मन्त्रलायले यो विमान चार्टर गरेको थियो ।

तपाईको प्रतिक्रिया