कोरोनाबिरुद्ध दाङका स्थानीय तह, आइसोलेसन वेड स्थापनादेखि खाद्यान्न सहयोगसम्म

  चैत १५, २०७६

दाङ, चैत १५ : कोभिड १९ अर्थात् नोवेल कोरोना भाइरस बिरुद्ध लड्न दाङका स्थानीय तहहरुले तयारी तीब्र पारेका छन् । जिल्लाका दशवटै स्थानीय तहहरु कोरोना बिरुद्ध लड्न तयारी अवस्थामा रहेका छन् ।

जिल्ला प्रशासनको समन्वयनमा जिल्लाका स्थानीय तहहरुले आइसोलेसन वेड स्थापनादेखि खाद्यान्न सहयोग गर्नेसम्मका तयारी थालेको जनाएका छन् । गाउँगाउँमा सचेतनाको कार्यक्रम सञ्चालन गरिरहेको भन्दै स्थानीय तहले विदेशबाट आएका नेपाली नागरिकहरुको अभिलेख राख्नेदेखि शंकास्पद व्यक्तिहरुलाई उपचारका लागि अस्पताल पु¥याउने गरेको जनाएका छन् ।

घोराहीले प्रत्यक वडामा लगत संकलन गर्दै

जिल्ला सदरमुकाम घोराहीस्थित घोराही उपमहानगरपालिकाले नगर प्रवेशद्वारका रुपमा रहेको कुइरेपानीमा हेल्पडेस्क स्थापना गरेर पैदल यात्रीको स्वास्थ्य जाँच गर्ने कार्य गरिरहेको जनाएको छ । उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले भारतसहित तेस्रो मुलुकबाट घर फर्केका १९ वटै वडाका नागरिकहरुको नामावली संकलन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

नगर कार्यपालिको आकस्मिक बैठक बसी भारतसहित अन्य देशबाट आएका व्यक्तिहरुको नाम, ठेगाना, आएको मिति, आएको देश, माध्यम, अहिलेको स्वास्थ्य अवस्था, परिवार संख्या, हालसम्म भेटेका व्यक्तिको संख्या र घरमा छुट्टै बसे नबसेको विवरणहरु संकलन गर्ने निर्णय गरेको चौधरीले जानकारी दिनुभयो ।

नामावली र अवस्था संकलनको फारमहरु बैठकमै वडा अध्यक्षहरुलाई बितरण गरिएको उहाँले जानकारी दिनुभयो । वडा नम्वर ३ को कुइरेपानीस्थित प्रेरणाका लागि अभियान नेपालको भवन, वडानम्वर १५ को परिवार नियोजन संघको भवन र वडानम्वर १६ को सर्रा स्थित बाल अस्पतालको भवनलाई परामर्स केन्द्रका रुपमा प्रयोग गरिने नगर प्रमुख चौधरीले बताउनुभयो ।

त्यस्तै लकडाउनको अवस्थामा मजदुरहरुका लागि उपमहानगरले खाद्यान्न वितरण गर्ने तयारी गरेको उपमहानगरपालिका प्रमुख चौधरीले जानकारी दिनुभयो । १९ वटै वडाबाट छाक बसेको परिवारको लगत संकलन गरी एकद्वार प्रणालीबाट खाद्यान्न वितरण गर्ने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै घोराही उपमहानगरपालिकाले कोरोना भाइरस संक्रमण फैलन नदिन तत्काल करिव एक सय जना व्यक्तिलाई राख्न सक्ने क्वारेन्टाइन कक्ष बनाउने उपमहानगरपालिका प्रमुख चौधरीले जानकारी दिनुभयो । क्यारेन्टाइनमा डाक्टरसहित १४ जना स्वास्थ्यकर्मीहरु खटाउने चौधरीले जानकारी दिनुभयो ।

तुलसीपुरले नगर प्रवेश गर्नेमाथि निगरानी राख्दै
कोरोनाका बिरुद्ध विभिन्न कार्य गरिरहेको तुलसीपुर उपमहानगरपालिकाले जानकारी दिएको छ । नगर भित्रिने नागरिकप्रति कडा निगरानी गरिरहेको भन्दै उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले ठाउँठाउँमा हल्पडेस्क राखेर चेकजाँच गर्ने काम गरिरहेको जानकारी दिनुभयो ।

लमही नगरपालिकाद्वारा ५० लाखको कोष स्थापना
कोरोना बिरुद्ध लड्नका लागि लमही नगरपालिकाले ५० लाखको विपद् व्यवस्थापन कोष स्थापना गरेको जनाएको छ । नगरपालिका प्रमुख र उपप्रमुखले एक÷एक महिनाको आफ्नो तलव जम्मा गरेर कोषको सुरुवात गरेको प्रवक्ता बिमबहादुर केसीले जानकारी दिनुभयो । त्यस्तै लमही बहुमुखी क्याम्पसमा ३० वेडको क्वारेन्टाइन स्थापना गरेको नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो ।

बबई गाउँपालिकाद्वारा ३० बेडको क्वारेन्टाइन स्थापना
पश्चिम दाङमा रहेको बबई गाउँपालिकाले ३० वेडको क्वारेन्टाइन स्थापना गरेको अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिनुभयो । मावि पदमपुरमा ३० वेडको क्वारेन्टाइन स्थापना गरेको भन्दै अध्यक्ष पौडेलले आवश्यकता अनुसार क्वारेन्टाइनको बृद्धि गर्दै लैजाने बताउनुभयो । गाउँपालिकाका प्रेस संयोजक बालकृष्ण पाण्डेले गाउँगाउँ पुगेर भारतबाट फर्केका नागरिकहरुको अवस्था बुझ्ने कार्यलाई निरन्तरता दिएको जानकारी दिनुभयो ।

शान्तिनगर गाउँपालिकामा १० वेडको क्वारेन्टाइन स्थापना
शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिह डाँगीले कोरोना विरुद्ध गाउँपालिकामा उच्च सतर्कता अपनाएको जानकारी दिनुभयो । कोराना संक्रमण हुन नदिन र संक्रमण भएपछि के गर्ने भन्नेमा आफूहरु योजनाबद्ध रुपमा लागिपरेको बताउनुभयो । उहाँले पातेटाकुराको बयाले स्कुमा १० बेडको क्वारेन्टाइन निर्माण गरेको जानकारी दिनुभयो । यो क्वारेन्टाइनको क्षमता बृद्धि गर्ने भनि एपनि विभिन्न सामानको अभाव रहेको उहाँले बताउनुभयो ।

त्यस्तै गाउँपालिमा २ वटा एम्वुलेन्स तयारी अवस्थामा राखिएको डाँगीले जानकारी दिनुभयो । उक्त एम्वुलेन्सले गाउँपालिकाभर निःशुल्क रुपमा सेवा दिने उहाँले जानकारी दिनुभयो ।

दंगीशरण गाउँपालिकाद्वारा खाद्यान्न बितरण
दंगीशरण गाउँपालिकाले पनि विभिन्न सचेतनाको कार्यक्रम गरेको भन्दै कोरोना विरुद्ध योजनाबद्ध भएर लागिपरेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले यसबाट जोगिन सतर्क रहेको जनाउनुभयो । गाउँपालिकाको २ वटा स्वास्थ्य चौकी र १ वटा स्वास्थ्य केन्द्रमार्फत् कुनै शंका लागेमा चेक जाँच गर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

उहाँले गाउँपालिकामा क्वारेन्टाइन अझै निर्माण भइनसकेको भन्दै हेकुली स्कुलमा निर्माण गर्ने योजना बनाएको बताउनुभयो । साथै नागरिकलाई कुनै पनि खाद्यान्नको अभव हुन नदिने उहाँको भनाइ छ ।

राप्ती गाउँपालिकाद्वारा ६ वटा एम्वुलेन्स तयारीमा
त्रराप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले वडावासीको सुरक्षामा आफूहरु लागि परेको बताउनुभएको छ । गाउँपालिकाको विभिन्न ठाउँमा हेल्पडेस्क स्थापना गरेको भन्दै उहाँले नागरिकलाई सचेतना गराइ रहेको जानकारी दिनुभयो । उहाँका अनुसार राप्ती गाउँपालिकाले आदर्श माविमा क्वारेन्टाइन स्थापना गरेको छ, भने सिसनिया स्वास्थ्य चौकीमा ५ वेडको आइसोलेसन स्थापना गरेको छ ।

स्वास्थ्य चौकीमा २ जना एमविविएस डाक्टर रहेको भन्दै अध्यक्ष सुवेदीले कोरोनाको कुनै शंका लागेमा स्वास्थ्य चौकीमा चेक जाँच गरिने र त्यस्ता कुनै लक्षण आशंका लागेमा बाहिर रेफर गरिने व्यवस्था गरिएको जानकारी दिनुभयो । गाउँपालिकामा ६ वटा एम्वुलेन्स तयारी अवस्थामा रहेको सुवेदीले जानकारी दिनुभयो ।

गढवा गाउँपालिकाले सीमा क्षेत्रमा खाद्यान्न बाँड्यो
गढवा गाउँपालिकाले वडानम्वर ८ कोइलाबासमा खाद्यान्न सहयोग गरेको छ । वडा कार्यालयको समन्वयमा वडाबासीलाई खाद्यान्न सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष सहजराम अहिरले बताउनुभयो । गढवा गाउँपालिकाको जनता माविमा ३ वेडको आइसोलेसन अस्पताल स्थापना गरिएको जानकारी दिनुभयो ।

राजपुर गाउँपालिकाद्वारा नाका क्षेत्रमा विशेष निगरानी
राजपुर गाउँपालिकाले पनि राजपुर स्वास्थ्य चौकीमा ३ वेडको आइसोलेसन स्थापना गरेको छ । गाउँपालिकामा अहिलेसम्म क्वारेन्टाइन स्थापना नगर पनि आवश्यक परेमा २० देखि ३० वेडको क्वारेन्टाइन स्थापना गर्ने गरी तयारी गरिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिनुभयो । उहाँले नाका क्षेत्रमा विशेष निगरानी गरिएको बताउनुभयो । विभिन्न क्षेत्रको नाका भएर गाउँपालिकामा भित्रन सक्ने भन्दै त्यस विषयमा आफूहरु सचेत रहेको उहाँको भनाई छ ।

अध्यक्ष केसीले गाउँगाउँमा कोरोनाबाट बच्ने उपायका बारेमा पर्चा पम्पलेट वितरण गरिएको, नागरिकलाई सचेत रहनु आग्रह गरिएको, बाहिरबाट कोही आएको भए होम क्वारेन्टाइन बनाएर बस्न अनुरोध गरेको बताउनुभयो । साथै उहाँले गाउँपालिकासँग एउटा एम्वुलेन्स रहेको भन्दै आवश्यक परे अन्य एम्वुलेन्सको व्यस्था गरिने जानकारी दिनुभयो ।

वंगलाचुली गाउँपालिकामा क्वारेन्टाइन स्थापना
बंगलाचुली गाउँपालिकाले क्वारेन्टाइन स्थापना गर्नुका साथै खाद्यान्न वितरणको तयारीसमेत थालेको जानकारी दिएको छ । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले कमिरेचौरस्थित एकीकृत नमुना बस्तीलाई क्यारेन्टाइन बनाएको भन्दै छाक बसेकाहरुका लागि खाद्यान्न वितरण गर्ने तयारी थालेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया