लमजुङमा ५०० बेड क्षमताको क्वारेन्टाइन

  चैत १४, २०७६

लमजुङ, चैत १४ : लमजुङमा ८ वटै स्थानीय तह क्वारेन्टाइन बनाउन सक्रीय भएका छन् ।  ४ नगरपालिका र ४ गाउँपालिकाले स्थानीय विद्यालय तथा स्वास्थ्य संस्थामा क्वारेन्टाइन बनाउन थालेका छन् । जिल्लामा शुक्रबारसम्म ५०० बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार स्थानीय तहले शुक्रबारसम्म ५०० बेड क्षमताको क्वारेन्टाइन बनाएका छन् । केही स्थानीय तहले बनाउन सुरु गरेका छन् । नगरपालिका र गाउँपालिकाका प्रत्येक वडाले क्वारेन्टाइन बनाएका छन् । एउटा वडाले ५ देखि २० बेडसम्मको क्वारेन्टाइन बनाएका छन् । कोरोना संक्रमण सम्भावितका लागि क्वारेन्टाइन बनाइएको प्रजिअ खड्काले बताउनुभयो ।

क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले ३०० बढी क्वारेन्टाइन बनाइसकेको बताउनुभयो । गाउँपालिका भित्र विदेशबाट आएका तथा भारतबाट आएका नागरिक रहेकाले उनीहरुलाई बस्नका लागि क्वारेन्टाइन बनाइएको उहाँले बताउनुभयो । विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न भनिएपनि सुरक्षित नहुने भएकाले गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखिने बताउनुभयो । स्वास्थ्य शाखा संयोजक त्रिलोकचन्द्र गुरुङका अनुसार गाउँपालिकाका विद्यालय र स्वास्थ्य संस्थामा क्वारेन्टाइन बनाइएको छ । ५०० बेडको क्वारेन्टाइन बनाइने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

बेंसीसहर नगरपालिकाले कोरोना संक्रण सम्भावित विरामी राख्नका लागि १ सय ६० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । नगरपालिकाले वडा नम्बर १ देखि ११ सम्म क्वारेन्टाइन बनाएको छ । प्रत्येक वडाले ५ देखि २० बेडसम्म क्वारेन्टाइन बनाएको छ । संक्रमण सम्भावित व्यक्तिको लागि क्वारेन्टाइन बनाएको नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।

बेंसीसहर नगरपालिका ७ सहजीस्थित शहरी विकास कार्यालयको भवनमा नगरपालिका र वडाको सक्रीयतामा ५० बेड क्षमताको क्वारेन्टाइन बनाइएको छ । अन्य वडाले २० बेडसम्मको क्वारेन्टाइन बनाएको छ । प्रमुख अर्यालका अनुसार विदेशबाट फर्र्किएका तथा भारत घर भई नगरपालिका भित्र काम गर्दै आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ । उनीहरुले चाहेमा क्वारेन्टाइनमा बस्न सक्ने बताउनुभयो । क्वारेन्टाइनमा बस्ने ब्यक्तिलाई नगरपालिकाले खाना खुवाउने नगरपालिकाले जनाएको छ ।

मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेका अनुसार स्थानीय विद्यालयमा ४३ बेडको क्वारेन्टाइन बनाएको छ । १०० बेडसम्म पु¥याउने उहाँले बताउनुभयो । वडा–वडाले पनि क्वारेन्टाइन बनाउन थालेको उहाँले बताउनुभयो । राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका, दोर्दी गाउँपालिका, मस्र्याङदी गाउँपालिका, दूधपोखरी गाउँपालिकाका वडा–वडामा पनि क्वारेन्टाइन बनाउन थालेका छन् ।

विदेशबाट आएकालाई क्वारेन्टाइन
लमजुङका स्थानीय तहले विदेशबाट आएका तथा छिमेकी देश भारतबाट आएकाको तथ्यांक संकलन गर्न थालेको छ । उनीहरुले त्यस्ता व्यक्तिको तथ्यांक संकलन गरी क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । कतिले क्वारेन्टाइमा ल्याएर राखेको छ ।

मध्यनेपाल नगरपालिकाले वडा नम्बर ६ को भोर्लेटारको इशानेश्वर क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा भारतबाट आएका ७ जनालाई क्वारेन्टाइनमा रोखेको छ । ७ जना मध्ये एक जना विदेशबाट आएका हुन् । वडा नम्बर ७ को कुशुमाकर माविको क्वारेन्टाइनमा ३ जना भारतीय नागरिक राखिएको नगर प्रमुख रमेशकुमार पाण्डेले बताउनुभयो ।

क्व्होलासोंथर गाउँपालिकाले वडा नम्बर ९ टक्सारमा विदेशबाट आएका २ जनालाई टक्सारस्थित थोल्जुकन्या आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखेको छ । वडा नम्बर ८ घ्रामाङबेंसीमा आएका १ परिवारलाई नै स्थानीय क्वारेन्टाइनमा राखिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया