ऊर्जामन्त्री पुन भन्छन्– विद्युत महशुल पूरै छुट हुनसक्छ, छुट डेरावाललाई पनि

  चैत १३, २०७६

काठमाडौं, चैत १३ : सरकारले लकडाउनको अवधिलाई लक्षित गरी चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट दिने भएको छ । यसअघि इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई दिने भनिएको छुट अब नेपाल विद्युत प्राधिकरणका सबै ३६ लाख ५० हजार ग्राहकले पाउनेछन् ।

उर्जामन्त्री वर्षमान पुनले शुक्रबार प्राधिकरणको बोर्ड बैठक बसेर सबै ग्राहकलाई २० प्रतिशत महशुल छुट दिने निर्णय हुने बताए । यसो गर्दा करीव एक अर्ब रुपैयाँ राज्यको तर्फबाट जनताले छुट पाउने मन्त्री पुनले जानकारी दिए ।

उर्जामन्त्री पुनले यो महिनाको विद्युत महशुल बुझाउन ढिला भए पनि जरिवाना नलाग्ने प्रष्ट पारे । मन्त्री पुनले विद्युत महशुल छुटमा घरबेटी र डेरावाल सबै बराबरी हकदार हुने भन्दै कुनै घरधनीले डेरामा बस्नेसँग पहिलेकै दरमा महशुल उठाएमा सरकारले कारवाही गर्ने बताए ।

लकडाउनको अवधि तीनसाता जाने सम्भावना देखिएकाले कम्तिमा एक महिनाको महशुल मिनाहा गर्न जनस्तरबाट दबाव आइरहेका बेला मन्त्री पुनले त्यसबारे अहिले नै निर्णय नभएको बताए ।यद्यपि परिस्थिति हेरेर जनतालाई अधिकतम राहत दिन सरकारले लकडाउन अवधिभरको विद्युत महशुल मिनाह गर्न सक्ने बताए ।

अनलाइनखबरसँगको भिडियो अन्तर्वाताका क्रममा मन्त्री पुनले अहिले जनताले जति बिजुली उपयोग गरे पनि सरकारले दिन सक्ने भन्दै ग्यास चुल्होको प्रयोग घटाउन इन्डक्सन चुल्होमा छुट दिइएको बताए । उनले इन्डक्सन चुल्हो घर–घरमै अनलाइन प्रणालीबाट उपलब्ध गराउने समेत बताए ।

पूरै महशुल छुट दिन पनि सकिन्छ

अहिले हामीले विद्युत उपभोग गरौं भनेर जनतालाई महशुलमा २० प्रतिशत छुट दिने तयारी गरेका छौं । इन्डक्सन चुल्हो बाहेकका ग्राहकलाई पनि त्यो छुट दिनुपर्छ भन्ने कुरा आएकलो विद्युत खपत बढाउन र उर्जा सुनिश्चितताका लागि पनि २० प्रतिशत छुट दिन्छौं महशुलमा ।

भोलि शुक्रवार विद्युत प्राधिकरणको बोर्डको बैठक बस्छौं । २० प्रतिशत सबै ग्राहकलाई छुट दिन्छौं । इडक्सन चुल्हो प्रयोग गर्दा एउटा घरमा न्युनतम ५० देखि १५० युनिटसम्म प्रयोग हुँदो रहेछ । अहिले हाम्रा सबै ३६ लाख ५० हजार ग्राहकबाट मासिक ५ अर्ब रुपैया महशुल उठ्ने रहेछ । २० प्रतिशत छुट दिँदा करीव १ अर्ब छुट हुन्छ ।

अहिले हामी २० प्रतिशत सबै तहका ग्राहकलाई छुट दिने तयारीमा छौं । हाम्रो विद्युत डिमाण्ड १२ सय मेगाट थियो । अहिले त्यो झेर छ सात समय मेगावाटमा झरेको छ त्यो पनि पिक टाइममा । हाम्रो करीव ६ सय मेगावाट विद्युत उत्पादन आफ्नै छ ।

अहिले धेरै जनताले महशुलमा पूरै छुट होस भन्ने कुरा पनि गर्नुभएको छ । अहिले हामी २० प्रतिशत छुट दिन्छौं लकडाउन लम्बिदै गयो र परिस्थिति अप्ठेरो हुँदै गयो भने सरकारले विद्युत उर्जामा के गर्ने भन्ने थप निर्णय गर्दै जाला । हामी जनताको अप्ठेरो हेर्दै जान्छौं । अहिले विद्युत अधिकतम प्रयोग गर्नुस् ।

विद्युत सप्लाई, इमरजेन्सी मर्मतमा जनशक्ति व्यवस्था गरेका छौं । निर्धक्क भएर बिजुली प्रयोग गर्नुस् । अहिले चैत महिनाको बिलमा छुट हुन्छ । पछिको अवस्था हेरेर अरु छुट हुन सक्छ । बिजुली महशुल तिर्न सक्ने समूहका पनि छौं, सरकारले गर्न चाहेमा लकडाउनको अवस्थामा एक महिनालाई निर्णय गर्न असम्भव छैन ।

कति देशले बैंक ब्याज मिनाहाको कुरा गरेका छन् । श्रमजीवीलाई थप राहतको घोषणा गरेका छन् । हाम्रो पनि बैंकको किस्ता यो महिना नलिन भनिएको छ । सबै मन्त्रालयले आ–आफ्ना काम गरेका छन् ।

जनतालाई संयमित भएर बस्नुपर्ने बेला ऋणको ब्याज, सप्लाईहरुको टेन्सनबिना निर्धक्कसाथ बस्ने वातावरण बनाउँछौं । अहिले २० प्रतिशत महशुल मिनाहाको व्यव्स्था गरिरहेका छौं, समग्र स्थिति हेर्दै जाउँ त्यसपछि पूरै छुट दिने विषयमा सकारात्मक रुपले सोच्न सक्छौं ।

छुट डेरावाललाई पनि, इन्डक्सन घरघरमै

हामीलाई डेरावाल मित्रहरुले प्रश्न गर्नुभएको छ । महशुल छुट सबैलाई हो । घरबेटीलाई जतिमा हो, त्यति नै डेरावाललाई हो । कुनै घरधनीले डेरावालसँग बढाएर लिए कारवाही गर्छौं, छुट भनेको सबै उपभोक्तालाई हो । घरबेटीलाई मात्र छुट हुन्न ।

कुनै घरधनीले पालना नगरेमा विद्युत प्राधिकरण नजिकका ग्राहक सेवा केन्द्रमा गुनासो गरेमा उचित कारवाही हुन्छ । मेरो आग्रह छ, घरबेटीले पनि सरकारले दिएको छुटलाई डेरावालसँग पनि पुराउनुस् ।

अब अर्को कुरा छ, इन्डक्सन चुल्होको । हामीसँग चार हजार इन्डक्सन चुल्हो आपूर्ति मन्त्रालयसँग छ । खाद्य व्यवस्था तथा वितरण कम्पनीसँग थापाथलीमा विक्रीका लागि राखिएको छ । मैले पनि हिजोमात्र किनेँ त्यही ठाउँबाट । मैले सामाजिक सञ्जालमा राखेको छु, चार हजार थान थापाथलीमा विक्रीमा राखेको छ ।

इन्डक्सन चुल्हो बजारमा पनि छ । उच्चस्तरीय समितिले खाद्य तथा इन्डक्सन सप्लाईका सामानलाई सकेसम्म होम डेलिभरी, अनलाइन सर्भिसमा कसरी हुन्छ, निजी क्षेत्रलाई पनि अपील गरेको छ । कम भन्दा कम मान्छे बाहिर निस्कने अवस्था बनाउने भन्ने निर्णय भएको छ । मलाई लाग्छ, बाणिज्य मन्त्रालायले पनि मागका आधारमा घरघरमै पु¥याउने व्यवस्था मिलाओस् ।

जो जहाँ हुनुहुन्छ, छेउ नजिकको ठाउँमा विक्री वितरण हुन सक्छ । वडालाई आधार बनाएर पनि जरुरी सामाग्री बिक्री गर्ने तयारी छ । चीनतर्फका दुई नाका स्वास्थ्य सुरक्षाको ग्यारेन्टीसहित सुचारु गर्ने निर्णय भएको छ । निर्धक्क भएर आफूले खोजेका, चाहेका जरुरी सामान पाउने गरी व्यवस्था हुन्छ ।

तपाईको प्रतिक्रिया