कोरोना भाइरसविरूद्ध विश्व समुदायबीच सहकार्य जरुरी : राष्ट्रसंघ महासचिव

  चैत १३, २०७६

संयुक्त राष्ट्रसंघ, चैत १३ : संयुक्त राष्ट्रसंघका महासचिवले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सबै विश्वसमुदायबीच सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । एन्टोनियो गुटेर्रेसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताउनुभयो ।

आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले दुई अर्ब डलर कोषको घोषणा गरेको छ । महासचिव गुटेर्रेसले भन्नुभयोे, “यदि यो महामारीलाई विकसित मुलुकहरूमा नियन्त्रण गरिन्छ तर यदि यसलाई विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलिन दिइन्छ भने दशौँ लाख मानिसको ज्यान जान सक्छ ।”

“त्यति मात्र होइन त्यसले भाइरसलाई स्वरूप परिवर्तन गर्ने अवसर पनि दिनेछ र परिवर्तित भाइरसले बनेका खोप पनि काम नलाग्ने गरी फेरि सबैलाई आक्रमण गर्न सक्नेछ । त्यसैले यो लडाइँ आधामात्र लड्न सकिँदैन ।” यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले परीक्षण, क्वारन्टीन तथा संक्रमणका स्रोतको निरन्तर खोजीको आवश्यकतामाथि जोड दिएको छ ।

संक्रमणबाट अति प्रभावित इटलीको प्रयासलाई प्रशंसा गर्दै विस्तारै उसका प्रयासले नतिजा ल्याउने राम्रा संकेत देखिएको डब्ल्यूएचओले बताएको छ । यसअघि उनले कोरोनाभाइरस प्रकोपका माझ विश्वभरि चलिरहेका द्वन्द्वको युद्धविराम गरिनुपर्ने बताएका थिए ।

राष्ट्रसंघले एकताबद्ध लडाइँको महत्त्व बताइरहँदा शक्तिशाली देशहरूमाझ भाइरसलाई लिएर मतभेद देखिएका छन् । सम्पन्न देशहरूको समूह जी सेभेनका विदेशमन्त्रीहरूमाझ कोरोनाभाइरसको स्रोतसम्बन्धी वक्तव्यमा राखिने वाक्यबारे मतभेद भएको थियो ।

अमेरिकाले वक्तव्यमा ‘चीनको नियतवश गलत सूचना अभियान’ उल्लेख हुनुपर्ने बताएको थियो, तर अन्य कैयौँ सदस्य देशहरूले भने त्यसलाई अनावश्यक विभाजनकारी भनेर अस्वीकार गरेका थिए । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बैठकलाई कूटनीतिज्ञहरूमाझ चीनले भाइरसको स्रोतबारे अनर्गल षड्यन्त्रका सिद्धान्त फैलाइरहेको जानकारी रहेको बताउनुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ लाई ‘चिनियाँ भाइरस’ बताउने गर्नुभएको छ भने वरिष्ठ चिनियाँ अधिकारीहरूले उक्त भाइरस ‘अमेरिकी सेना’ ले चीन भित्राएको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया