छुट्टाछुट्टै घटनामा दुई बालिकासहित चारको मृत्यु

  चैत १३, २०७६

गाईघाट, चैत १३ : उदयपुरमा दुईदिन यता घटेका छुट्टा छुट्टै घटनामा दुई बालिकासहित चार जनाको मृत्यु भएको छ । कपडा सुकाउने बाँसमा सलको पिङ बनाएर खेल्ने क्रममा सोहि बाँसमा बेरिएर लिम्चुङबुङ गाउँपालिका वडा नं २ ताम्लिछा आमबोटका ललितसेर राईकी आठवर्षीय छोरी करुण राईको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैगरी, स्थानीय खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा त्रियुगा नगरपालिका वडा नं २ मोथियाहिका २४ वर्षीय जोतीकुमार राईको करेन्ट लागेर मृत्यु भएको हो ।

खोलामा माछा मार्न प्रयोग गरिएको विजुलीको तारबाट करेन्ट लाग्दा घाईते हुनुभएका राईको उपचारको क्रममा सिभिल अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो ।

प्रहरी उपरीक्षक बुढामगरका अनुसार त्रियुगा नगरपालिका वडा नं ७ चुहाडेकि एक १२ वर्षीया बालिका डिकमाया राईको आफ्नै घरको काठको बलोमा सलको पासो लगाई झुण्डिएर बिहीबार मृत्यु भएको हो ।

त्यसैगरी, उदयपुरगढी गाउँपालिका वडा नं ५ हाडेवासका ४५ वर्षीय चन्द्रवहादुर तामाङको बिहीबार झुडिएर मृत्यु भएको छ ।

घर नजिकैको अर्खाैले जङ्गलमा खिर्राेको रुखमा प्लाष्टिकको डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा तामाङ्को शव फेला परेको प्रहरी उपरीक्षक वुढामगरले बताउनुभयो ।

मृतक चारैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाटमा सङ्कलन गर्ने क्रम जारी रहेको र सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया