हुम्लाका ८० विद्यार्थी नेपालगन्ज विमानस्थलमा अलपत्र

  चैत १३, २०७६

सिमकोट, चैत १३ : देशका विभिन्न स्थानमा अध्ययन गर्ने क्रममा विद्यालय र कलेज बन्द भएपछि बिदामा घर आएका बालबालिका नेपालगंज विमानस्थलमा अलपत्र परेका छन् । मंगलबार हुम्ला आउने तयारी गरिएको भए पनि लक डाउनको कारण हवाई यातायात बन्द हुँदा ती विधार्थीहरु नेपालगंज विमानस्थलमा रोकिएका हुन् ।

सिमकोट गाउँपालिका वडा नम्बर ५ का सुमन रावतले काठमाडौंमा अध्ययन गर्ने क्रममा विद्यालय र कलेज बिदा भएपछि हुम्ला आउने क्रममा लक डाउनको कारण नेपालगंज बिमान स्थलमा रोकिएको विधार्थीको उद्धार गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार पैसा पनि सकिएको अवस्थामा ती विधार्थीहरुलाई कि हुम्ला ल्याउने व्यवस्था वा र नेपालगंजमा सबै प्रकारको व्यवस्था गर्नुपर्छ । कोरोनाको डरले विद्यालय बन्द भएपछि काठमाडाैंबाट घर आउन ती विधार्थी नेपालगंज आई पुगेका हुन् ।

हिल्सा टुर एण्ड ट्राभलका सञ्चालक विष्णु रावतले असीजना विधार्थीहरु हाल नेपालगंज विमानस्थलमा रोकिएको बताउनुभयो । लक डाउनको पहिलो दिन निजी एयरलाईन्समा टिकट भए पनि उनीहरुको हवाई उडान नहँुदा नेपालगंजमै रोकिएका हुन् ।

कर्णाली प्रदेश सरकारले युवायुवतीलाई नेपालगंजबाट गाडीमा सुर्खेत ल्याएर क्वारेन्टाइनमा राखी साविकका कर्णालीमा पठाउने व्यवस्था गरेको भए पनि साना विधार्थीलाई त्यसरी पठाउन सम्भब नभएको हुँदा उनीहरु नेपालगंजमै रोकिएका हुन् ।

सबै विधार्थी कक्षा एकदेखि आठसम्म अध्ययन गर्ने रहेका छन् । हुम्लामा रहेका आफन्तहरु भने निक्कै चिन्तित अवस्था रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया