सुदूरपश्चिमका सीमा सुनसान, फर्किएका क्वारेन्टाइनमा, गाँउमा त्रास

  चैत १२, २०७६

धनगढी, चैत १२ : सुदूरपश्चिममा भारतका विभिन्न स्थानबाट एक लाख ३५ हजार भन्दा बढी नेपाली नागरिक आएका छन् । रोजगारीका शिलशिलामा भारत गएका उनीहरु आफूले काम गर्ने उद्योग, धन्दा, होटल, व्यवसाय वन्द भएपछि घर फर्किएका हुन ।

कैलालीको धनगढी त्रिनगर, कञ्चनपुरको महेन्द्रनगर गड्डाचौकी, बैतडीको झुलाघाट, दार्चुला लगायतका नाकाबाट नेपाल आएका नेपालीहरु नेपाल आउदा कोरोना भाइरस लिएर आउछन् भन्ने त्रास थियो । तर नेपाल फर्किएका प्राय सबैको अवस्था सामान्य देखिएपछि सुदूरपश्चिमकाबासिन्दा धेरै हदसम्म सुरक्षित भएको महशुस गरिरहेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा भन्नुहुन्छ, यति धेरै नागरिक भारतबाट आउँदा आफूहरु पनि स्थिति विग्रन्छ कि भनेर चिन्तित थियौ, तर मुख्यमन्त्री त्रिलोचन भट्ट समेतले आफूसंगको कुराकानीमा सबै स्वस्थ रहेको बताएपछि खुसी लागेको छ । अझै पनि भारतबाट आएकालाइए निगरानीमा राख्नु पर्ने सुझाव धेरैको छ भने बैतडीमा केही व्यक्तिमा ज्वरो आएको भेटिएको छ ।

सुदुरपश्चिममाका नाका प्रयोग गरेर वाग्मती र १ नम्बर बाहेकका सबै प्रदेशका नागरिक आएका थिए । यसैबेला डोटी, बैतडी र बैतडी जिल्लाका केही स्थानीय तहले भारतबाट आउनेलाई क्वारेन्टाइनमा राखेर राम्रो र उदाहरणीय काम गरेका छन् ।

डोटीमा पनि राखियो क्वारेन्टाइनमा
विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड –१९) को संंक्रमणको त्रासका कारण भारतबाट घर फर्किएकाहरुलाई डोटी जिल्लाका विभिन्न स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छन् ।

भारती सीमामा रोकिएका उनीहरुलाई मंगलबार मात्र सुदूरपश्चिम प्रदेश सरकारले घर पठाउने व्यवस्था गरेको थियो । डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार भारतबाट फर्किएका डोटी जिल्लाका दुई सय ४८ जनालाई सम्वन्धित स्थानीय तहहरुले क्वारेन्टाइनको निर्माण गरेर १४ दिनसम्म राख्ने व्यवस्था गरेका छन् ।

स्थानीय तहहरुले सार्वजनिक भवन, विद्यालय, सम्वन्धित वडा कार्यालयहरु लगायतका स्थानहरुलाइ क्वारेन्टाइनका रुपमा प्रयोग गरेका छन् । दीपायलदेखि सम्वन्धित स्थानसम्म लैजाने क्रममा लाग्ने यातायात खर्चदेखि क्वारेन्टाइनमा बस्दा लाग्ने सम्पूर्ण खर्च स्थानीय तहहले व्यहोरेका छन् ।

डोटीको दीपायल सिलगढी नगरपालिका र केआइसिंह गाउँपालिकाले दिपायल राजपुरमा रहेको सेतीसभा हलमा ३२ जनालाइ राख्ने व्यवस्था गरेका छन् । सायल गाउँपालिकाले वडा नम्बर ३ को कार्यालय भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरेको छ । बोगटान गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा क्वारेन्टाइन निर्माण गरेर ४४ भन्दा बढी व्यक्तिहरुलाइ राखेको जनाएको छ ।

दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले भन्नुभयो, –‘भारतबाट फर्किएका नगरपालिका क्षेत्रका व्यक्तिहरुको लागि राजपुरस्थित सेती सभाहलमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा बस्दा लाग्ने सम्पूर्ण खर्च हामीले व्यहोरेका छौं ।’

भारतबाट फर्किएकाहरु क्वारेन्टाइनमा बस्न नमानेपछि केही बेर सम्झाईबुझाइ गर्नु परेको थियो । लगातारको आठ दिनको यात्राको कारण थकित भइसकेको हुँदा आफूलाई फेरी क्वारेन्टाइनमा बस्न कठिनाइ हुने धेरैको भनाई थियो ।

गाउँबस्तीमा त्रासको वातावरण
डोटी जिल्लाका ग्रामीण क्षेत्रमा विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड –१९) को संक्रमण त्रास फैलिएको छ । भारतमा धेरै संक्रमित देखिएपछि यहाँका बासिन्दाहरु त्रासमा रहेका हुन ।

भारतमा संक्रमण बढी छ त्यहाँबाट हाम्रा दाजुभाइ र आफन्तहरु गाउँ आएका छन् उहाँहरुलाई संक्रमण भए हामीलाई पनि सर्छ होला त्यसैले चिन्तित छौ डोटीको सायल गाउँपालिकास्थित जनता जनार्दन माध्यामिक विद्यालयका प्रधानाध्यापक टिकादत्त जोशीले भन्नुभयो, – ‘भारतबाट काम गर्न गएकाहरु घर फर्किएहरुका कारण गाउँघरमा चहलपहल बढेसँगै सँक्रमण हुन सक्ने भन्दै त्रास पनि फैलिएको छ ।’

धनगढीको त्रिनगर सीमा सुनसान
मंगलबार साँझसम्म भारतबाट आएका नेपालीका कारण भीडभाड भएको धनगढीको त्रिनगरनाका बुधबार सुनसान भएको छ । नाका कडा बनाइएपछि भारतबाट आउनेहरु रोकिएको हुनसक्ने अनुमान छ । अर्कोतिर भारत पनि “लक डाउन” भएकोले नेपालीहरु घर फर्किन नपाएको हुन कि भन्ने भनाइ सुरक्षा अधिकारीहरुको छ ।

त्रिनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक महादेव भट्टका अनुसार बुधबार विहान नाका सुनसान छ, तरकारी, पेट्रोलियम पद्धार्थका गाडी पनि आज आएका छैनन् । मंगलबार भने झण्डै २४ घण्टापछि मात्रै भारतको विभिन्न स्थानबाट आएर सीमामा अलपत्र परेकालाई नेपाल आउन दिइएको थियो । २४ घण्टाजस्तो सीमामा अलपत्र भएपछि उनीहरुले नाराजुलुस गर्दे प्रहरीमाथि ढुंगामुढा समेत गरेका थिए । त्यसपछि प्रहरीले पनि सामान्य लाठी चार्ज गरेर उनीहरुलाई नियन्त्रणमा राखेको थियो ।

उनीहरुमध्ये धेरै जना सीमाबाट ३५ किलोमिटर टाढा पलिया बजारबाट हिडेर आएका थिए । भारतको लक डाउनका कारण गाडी नपाएर हिड्नु परेको कैलालीको अत्तरिया भक्तराज भट्टले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीका अनुसार फागुन २३ देखि चैत्र ११ गतेसम्म सुदूरपश्चिमका विभिन्न नाकाहुँदै एक लाख ३५ हजार नेपालीहरु भारतबाट घर फर्किएका छन् ।

यसैवीच सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमित तथा सम्भावित विरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ४६ थान पिपीई वितरण गरेको छ । प्रदेशका तीन अस्पताललाई चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारका क्रममा लगाउने विशेष खालको पोशाक अर्थात् पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपीई) उपलब्ध गराइएको हो ।
मन्त्रालयले सेती प्रादेशिक अस्पताललाई ३०, महाकाली अस्पताललाई १२ र टीकापुर अस्पताललाई चार थान पिपीई उपलब्ध गराएको हो ।

परीक्षणका लागि नमूना पठाउन समस्या
सुदूरपश्चिम प्रदेशबाट कोरोना सङक्रमण आशङ्का गरिएका व्यक्तिको थ्रोट स्वाबको नमूना परीक्षणका लागि काठमाण्डौं पठाउन समस्या भएको छ ।

काठमाण्डौं–धनगढी हवाई उडान बन्द भएपछि यो प्रदेशबाट काठमाण्डौंमा नमूना पठाउन समस्या भएको हो । यहाँ थ्रोट स्वाब परीक्षण गर्ने प्रयोगशाला नभएका कारण कोरोना शङ्कास्पद् व्यक्तिको थ्रोट स्वाबको नमूना परीक्षणका लागि काठमाण्डौं पठाउने गरिएको छ ।

हालसम्म हवाईजहाजमार्फत थ्रोट स्वाबको नमूना काठमाण्डौं पठाउँदै आएकोमा मङ्गलबारबाट हवाई सेवा बन्द भएपछि समस्या उत्पन्न भएको सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ । ‘लक डाउनले हवाई सेवासमेत बन्द भएपछि हामीलाई थ्रोट स्वाबको नमूना पठाउन धेरै समस्या भएको छ’, प्रयोगशालाका निमित्त निर्देशक अस्मिता सापकोटाले भन्नुभयो । ‘प्रदेश सरकारले नमूना तुरुन्तै काठमाण्ठौं पठाउन सकिने गरी विकल्पको व्यवस्था गर्नु पर्दछ ।’

प्रदेशको सेती प्रादेशिक अस्पतालको आइसोलेशन कक्षमा राखिएका शङ्कास्पद् व्यक्तिको थ्रोट स्वाब नमूना परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको छ । धनगढीबाट पठाइएको नमूनाको रिपोर्ट आउन तीन दिन लाग्ने गरेको छ । हवाई सेवा ठप्प भएपछि थ्रोट स्वाबको नमूना काठमाण्डौं पठाउन नै ढिलाई हुने समस्या सृजना भएको सापकोटाको भनाइ छ ।

हवाई सेवा, यातायात सबै बन्द भएपछि परीक्षणका लागि नमूना काठमाडौं पठाउन ठूलो समस्या भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो । ‘दुई दिनदेखि नमूना पठाउन सकिएको छैन, नमूना पठाउन समस्या भएपछि हामी पनि धेरै स्ट्रेसमा छौं’, उहाँले भन्नुभयो । ‘यो प्रदेशबाट सङ्कलन भएको नमूना नेपालगञ्जमा जम्मा गरिने र त्यहाँबाट पठाउने कुरो भइरहेको छ । तर, सङ्घीय सरकारको स्पष्ट निर्देशन आइपुगेको छैन ।’ प्रदेशले सङ्घको निर्देशन कुरिरहेको कार्कीले बताउनुभयो ।

धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालबाट हालसम्म १४ जना शङ्कास्पद् व्यक्तिको नमूना परीक्षणको लागि पठाइएको थियो । सबैको परीक्षण रिपोर्टमा कोरोना सङ्क्रमण नरहेको नेगेटिभ रिपोर्ट आएको छ ।

बजारमा लक डाउन, मन्दिरमा भीडभाड
नेपाल –भारत दुबै देशले कोरोना सङ्क्रमण फैलिन नदिन लकडाउन गरेको बेला सीमा नाकाबाट लुकी छिपी आउनेहरु बढ्न थालेका छन् भने मन्दिरमा पूजाआजा गर्नेहरुका कारण भीडभाड बढ्न थालेको छ ।

कोरोना सङ्क्रमण फैलिन नदिन गरिएको लकडाउन बजारमा पूर्णतया पालन भए पनि मन्दिरमा भीडभाड गर्नेहरु बढेको बैतडी प्रहरीले जानकारी दिएको छ । “अन्धविश्वासले लकडाउन मानेन, मन्दिरमा भीडभाड भईरहेको छ,” जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमखु प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले भन्नुभयो, मन्दिरमा भीडभाड हुन नदिन स्थानीय तहका जनप्रतिनिधिले ध्यान पु¥याएनन् । जनप्रतिनिधि आफै मन्दिरमा टीका लगाउन जान थालेका छन् ।”

मङ्गलबार नेपाल भारतको महाकाली सीमा नदीमा ट्युब तरेर नेपाल आउँदै गरेका पाँच जनालाई बैतडी सदरमुकामस्थित जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको छ । क्वारेन्टाईनमा राखिएका दुई जनामा ज्वरो आउने समस्या देखिएको छ ।

यसैबीच लकडाउनका बेला भारतबाट गौरीफन्टा नाका हुँदै कैलालीको धनगढीबाट प्रहरी स्कटिङमा बैतडी आईपुगेका ८५ जनालाई स्थानीय तहका विभिन्न क्वारेन्टाइनमा राखिएको छ ।
गौरीफन्टा नाका भएर बैतडी पुगेको ८५ जनालाई स्थानीय तहका जनप्रतिनिधि बोलाएर जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

गौरीफन्टा नाकाबाट बैतडी आइपुगेका मध्ये दशरथ चन्द नगरपालिकाका १८ जना, दोगडाकेदर गाउँपालिकाका ३८ जना, सुर्नया गाउँपालिकाका ११ जना पाटन नगरपालिकाका १० जना, मेलौली नगरपालिकाका सात जना, शिवनाथ गाउँपालिकाका दुई जना, पुरचौडी नगरपालिकाका चार जना गरि ८५ जनालाई स्थानीय तहको जिल्मा लगाईएको जिल्ला प्रहरीले जनाएको छ ।

अछाममा पनि ५० जनालाई क्वारेन्टाइनमा राखियो
कोरोना भाइरसको सम्भावित जोखिमलाई नियन्त्रणका लागि भारतबाट घर फर्किएका ५० जनालाई सदरमुकाममा तयार पारिएको ‘क्वारेन्टाइन’ मा राखिएको छ । भारतबाट धनगढीको त्रिनगर नाकाहुँदै अछामका ल्यायएकालाई कृषि विकास कार्यालयको खाली भवनमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो ।

क्वारेन्टाइनमा राखिएका मध्येमा १० महिला, १२ बालबालिका र २८ पुरुष रहेका छन् । मंगलसेन नगरपालिकाका ११, चौरपाटी गाउँपालिका १०, कमलजबार र ढकारी गाउँपालिकाका आठ÷आठ जना, मेल्लेख गाउँपालिकाका छ जना, साँफेबगर नगरपालिकाका तीन जना, रामारोशन गाउँपालिकाका दुई जना र पञ्चदेवल विनायक नगरपालिकाका एक जना रहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको ज्वरोको स्थिति जाँचेर अलग्गै ओछ्यानमा १४ दिन राखिने भएको छ । क्वारेन्टाइन रहेकै स्थानमा मंगलसेन नगरपालिकाले स्वास्थ्य केन्द्र (हेल्थ डेक्स) समेत स्थापना गरेको छ । हरेका दिन उनीहरुको स्वास्थ्य परीक्षण पश्चात १४ दिनपछि घर पठाइने बताइएको छ । १४ दिनको अवधिमा कसैलाई कोरोनाको लक्ष्यण देखा परेका जिल्ला अस्पतालमा रहेका आइसोलेशन कक्षमा भर्ना गरिने जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. अतुल भारद्धाजले जानकारी दिनुभयो ।

क्वारेन्टाइन बस्ने अवधिसम्म सबै जनाको खानासहितको सबै खर्च मंगलसेन नगरपालिकाले व्यहोर्ने भएको छ । ‘क्वारेन्टाइन’ बाहिर प्रहरीले चौबिसै घण्टा सुरक्षा दिने भएको छ । भारतमा काम गर्ने अधिकाँस अछामका बासिन्दा घर फर्केपछि जिल्ला कोरोना भाइरसको सम्भावित उच्च जोखिममा रहेको विश्लेषण गर्न थालिएको छ ।

तपाईको प्रतिक्रिया