सिमाना र पहाडी क्षेत्रमा अझ उच्च सतर्कता जरुरी

  चैत १२, २०७६

बुटवल, चैत १२ : सरकारले कोरोनाविरुद्ध उच्च सतर्कता अपनाउँदै लक डाउनलाई कडाई गरिरहेको छ । कतिपय जिल्ला प्रशासनहरुले निषेधाज्ञा समेत जारी गरेका छन् । तर खुल्ला सिमानाको दुरुपयोग गर्दै लुकिछिपी नेपाल छिर्ने र लक डाउन उल्लंघन गर्ने घातक प्रवृतिविरुद्ध स्थानीय प्रशासनहरु अझ कठोर बन्नु पर्ने देखिएको छ ।

प्रदेश ५ मा नेपाल र भारतबीच झण्डै चार सय किलोमिटर खुल्ला सिमाना पर्दछ । मुख्य नाका, सहायक नाका र सम्भव भएका स्थानमा कडा निगरानी गरिए पनि खेत, जंगललगायतका खुल्ला सिमानाबाट नेपाल भित्रिने प्रबृति घातक रहेको भन्दै सरोकारवालाहरुले ती क्षेत्रमा अझ उच्च सतर्कता र कडाई गर्न जरुरी रहेको छ ।

ई देशका सिमाना वारी पारी आफन्तहरु रहेको बहानामा केही दिनअघिसम्म प्रशासनको आँखा छलेर ठूलो संख्यामा नेपाल भित्रिएको स्थानीयले बताएका छन् ।
भारतले लक डाउन गरेपछि त्यो प्रवृति कम भए पनि त्यसअघि भित्रिएकाहरु चूनौती बन्न सक्ने भन्दै सरोकारवालाहरुले तिनबारे कडा निगरानी गर्न सुझाव दिएका छन् ।

नेपाल भारत मैत्री समाजका अध्यक्ष डा. शान्त कुमार शर्माले खुल्ला सिमानाको दुरुपयोग गर्ने घातक प्रवृतिबाट हुन सक्ने क्षति रोक्न खुल्ला र अव्यवस्थित सिमानामा सुरक्षाकर्मीहरु बढाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘नेपालले लक डाउनको अवधि नबढाएमा आफन्त, रोटीबेटीलगायत विभिन्न बहानामा पहिले जस्तै अटेर गरेर नेपाल भित्रिने खतरा हुनेछ ।’
प्रदेश ५ योजना आयोगका उपाध्यक्ष डा.ईश्वर गौतमले दुबै देशको समन्वय र सहकार्यमा जनशक्ति परिचालन गर्दा जोखिम घटाउन सहयोग पुग्ने बताउनु भयो ।

नेपाल भित्रिएकामध्ये कयौं पहाडी जिल्लाका आआफ्ना दुर्गम गाउँमा पुगेर सकृय सामुहिक गतिविधिहरुमा सकृय रहेको पाईएको छ । गुल्मी, अर्घाखाँची लगायतका पहाडी जिल्लाहरुका दुर्गम गाउँहरुमा को कति भित्रिए भन्ने कुरामा स्थानीय प्रशासनले एकिन तथ्यांक संकलन गरिसकेका छैनन् ।

“कडाइ गरे मात्रै सुरक्षित”
भैरहवा समाचारदाता लक्ष्मण पौडेलका अनुसार भारतले समेत आफ्नो देशमा समेत लक डाउन गरेपछि विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्ने क्रम रोकिएको स्थानीय प्रशासनले जनाएको छ । मंगलबारसम्म रुपन्देहीका विभिन्न सीमानाका हुँदै लक डाउन उल्लंघन गर्दै भारतबाट नेपालीहरु प्रवेश गरिरहेका थिए ।

प्रहरीले सुनौली बाहेक रुपन्देहीसँग सीमा जोडिएका अन्य खुला नाकाबाट आउजाउमा रोक लगाएको छ । तर सीमा क्षेत्रका बासिन्दाहरुले चेकजाँच अझै फितलो रहेको भन्दै अझै कडा बनाउनुपर्ने बताएका छन् । मर्चवारका बासिन्दा कन्हैया बानियाँले चेकजाँच फितलो हुँदा केही मानिसहरु नेपाल प्रवेश गरेको बताउँदै सबै नाकामा कडाइ गरे मात्रै सुरक्षित हुन सकिने बताउनुभयो । दुवैदेशमा लकडाउन भएका कारण अहिले भने भारतबाट प्रवेश गरेको नदेखिएको उहाँले बताउनुभयो ।

रुपन्देहीसँग जोडिएको भारसँगको खुला सीमाना ६० किलोमिटर छ । सीमानाका सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सरकारले लकडाउन घोषणा गरेसँगै आउजाउ पूर्णरुपमा रोकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो–“लक डाउन घोषणापछि कुनै पनि नाकाबाट प्रवेश गरेको पाइएको छैन, त्यसअघि दशगजा क्षेत्रमा घर बनाउने मजदुरहरु आवतजावत गर्ने गरेका थिए ।” रुपन्देहीको मेउडीहवा, नेउलीहवा, कक्रहवा र भगवानपुर भारतसँग जोडिएका सीमानाका हुन् । स्थानीय पालिकाले पनि पछिल्ला दिनमा यी नाकाबाट आवतजावतमा कडाइ गरेका छन् ।

तपाईको प्रतिक्रिया