उमेरले छेक्छ त कोरोनाको संक्रमण

  चैत १२, २०७६

काठमाडौं, चैत १२ : स्वास्थ्य सन्देश अब प्रष्ट भइसकेको छ– तपाईको उमेर जति बढी, कोभिड–१९ ले उत्ति बढी असर गर्छ । तर विश्व स्वास्थ्य संगठनले युवालाई आफू विजेता रहेको नठान्न चेताबनी दिएको छ ।

बेलायतमा लेबर पार्टीबाट सांसद समेत रहनुभएकी डा. रोसेना अलिन खानले कोभिड–१९ को संक्रमण वृद्ध र अस्वस्थ्य व्यक्तिमा मात्रै सिमित नहुने बताउनुहुन्छ । इंग्ल्याण्डमा १८ वर्ष उमेरका एकजना अस्वस्थ्य व्यक्तिको कोभिड–१९ को संक्रमणले मृत्यु भएपछि उहाँले यस्तो चेताबनी दिनुभयो । डा. अलिन ३० वर्षदेखि ४० सम्मका कोभिड–१९ का बिरामीलाई उपचार गरेर निको बनाए पनि हाल आईसीयूमा भर्ना भएको बताउनुहुन्छ ।

वृद्ध उमेरका व्यक्ति सबैभन्दा ठूलो जोखिममा छन् । लण्डनको इम्पेरियल कलेजका शोधकत्र्ताले उमेर र अस्पतालमा भर्ना हुने बिरामीबीच स्पष्ट सम्बन्ध रहेको शोधबाट पत्ता लगाएका छन् । र उनीहरुले वृद्ध व्यक्ति एकपटक अस्पताल भर्ना भएपछि उच्च निगरानी र सघन उपचार गराउनुपर्ने जनाएका छन् ।

५० वर्ष मुनि उमेरका पाँच प्रतिशतभन्दा कम व्यक्तिमा लक्षण देखिएपछि अस्पताल भर्ना भएका छन् । तर कोभिड–१९ को लक्षण देखिएको ७० देखि ७९ वर्ष उमेरसम्मका २४ प्रतिशत अस्पतालमा भर्ना हुनुपर्यो । चीन र इटालीबाट संकलित नमूना परीक्षण अध्ययनले ८० वर्षभन्दा माथि उमेरका ७१ प्रतिशत संक्रमित अस्पताल भर्ना हुनुपरेको र सघन उपचारको आवश्यकता रहेको शोधले देखाएको छ । ४० वर्ष मुनिका पाँच प्रतिशत संक्रमितमा मात्रै सघन उपचारको आवश्यकता देखियो ।

इंग्ल्याण्डमा भने औसत ६३ वर्ष उमेरका सबै संक्रमितलाई सघन उपचारको जरुरी देखियो । अमेरिकाको सेन्ट फर डिजेज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार ५५ वर्ष उमेरका ५३ प्रतिशत व्यक्ति अस्पतालमा भर्ना हुनुपर्यो । तर मृत्युको हिसाबले ६५ वर्षभन्दा बढी उमेरकामा ८० प्रतिशतलाई मृत्यु हुनुअघि सघन उपचारका लागि राख्नुपरेको छ ।

इटालीमा ४० वर्ष उमेर समूहका शुन्य दशमलब चार प्रतिशत संक्रमितको मृत्यु हुन पुगेको छ । ८० वर्ष उमेर समूहमा उक्त दर १९.७ प्रतिशत रहेको छ । अमेरिकामा भने ४० वर्ष उमेर समूहका संक्रमितमा मृत्युदर शुन्य दशमलब सात प्रतिशत देखिएको छ ।

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जि र इन्फेक्सस डिजिजका निर्देशक एन्थोनी फौसी भन्नुहुन्छ, “वृद्ध र अस्वस्थ्य व्यक्तिमा कोभिड–१९ को संक्रमण र जोखिम उच्च देखिएको छ ।” तर निर्देशक एन्थोनी फौसी थप्नुहुन्छ, “भाइरस गणितीय सूत्र हैन ।”

विश्व स्वास्थ्य संगठनले भनेको छ, “यद्दपी ६० वर्षभन्दा माथि उमेरका बढी जोखिममा छन्, युवा र बालबालिका समेत कोभिड–१९ बाट मरेका छन् ।” चीनले दुई हजार कोभिड–१९ संक्रमित बालबालिकामा गरेको अनुसन्धानले उपचार सहज रहेपनि संक्रमणको सम्भावना बालबालिकामा उच्च रहेको देखाएको छ । तर शारीरिक अस्वस्थ्यताले कोभिड–१९ को जोखिम बढाउन उमेरले कुनै बार नलगाउने देखिन्छ ।

कोभिड–१९ को संक्रमण श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हुँदा आस्थमाका बिरामी बढी जोखिममा हुन्छ । विश्व स्वास्थ्य संगठनको सन् २०१७ को तथ्याङ्क बमोजिम नेपालमा प्रति एक लाख ब्यक्तिमध्ये १६ जना आस्थमाका कारण मृत्यु हुन्छ । जुन नेपालमा दीर्घ रोगले मृत्यु हुने कारणमध्ये १२ औं स्थानमा छ । बेलायतमा आस्थमाका करिब ४३ लाख बिरामी छन् । जसमा कोभिड–१९ को संक्रमण पुष्टि भए उच्च जोखिम उच्च रहनेछन् ।

युवा संक्रमितमा जोखिम कम भएपनि उसले भारी संख्यामा व्यक्तिलाई संक्रमित बनाउन सक्छन् । युवामा लक्षण थोरै वा नदेखिन पनि सक्छ तर उनी संक्रमित भइसकेको हुन्छ । कोभिड–१९ को एकजना संक्रमितले सम्पर्कमा आएका एक दुईजनालाई सहजै संक्रमित बनाउँछन् तर ती दुईजनाले अर्को दुई चारजनामा सार्दा उक्त श्रृखंला सय, हजार र लाखौंसम्म पुगेको छ । सामाजिक दूरीले उक्त संक्रमणलाई तोड्ने काम गर्छ ।
(बीबीसीका स्वास्थ्य समाचारदाता राचेल स्क्रारले लेख्नुभएको समाचारको अनुवादित अंश)

तपाईको प्रतिक्रिया