कन्टेनरभित्र लुकेर वीरगञ्ज आएका ५२ जनालाई क्वारेन्टाइनमा

  चैत १२, २०७६

वीरगञ्ज, चैत १२ : लकडाउनको अवज्ञा गर्दै कन्टेनरमा लुकेर वीरगञ्ज आएका ५२ जनालाई पर्सा प्रहरीले पक्राउ वीरगञ्ज १६ मा स्थापना गरिएको क्वारेन्टाईनमा राखेको छ ।

काठमाण्डौंमा सामग्री पु¥याएर वीरगञ्ज फर्किदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा बिभिन्न स्थानबाट चढेर लकडाउनको अवज्ञा गर्दै वीरगञ्ज आईपुगेका बारा र पर्साका ३ बालबालिका, एक महिला सहित ५२ जनालाई गएराति पर्सा प्रहरीले पक्राऊ गरी उनीहरु सबैलाई आवश्यक चेकजाँचका लागि क्वारेन्टाईनमा राखिएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले कन्टेनरमा लुकेर आएकाहरुलाई आयुर्वेद मेडिकल कलेजको भवनमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको र उनीहरुको स्वास्थ्य जाँचको साथै अन्य विवरण सोधपुध भईरहेको जानकारी दिनुभयो ।

उनीहरुलाई क्वारेन्टाईनमा राखिएको र सबैको क्वारेन्टाईन चेकजाच तथा सोधपुछ गर्ने काम भईरहेको छ त्यसपछि उनीहरुलाई क्वारेन्टाईनमा नै राख्ने कि सेल्फ क्वारेन्टाईनमा बस्ने गरी कागजगरी छाड्ने भन्ने निर्णय गरिने उहाँले बताउनुभयो ।

कन्टेनरका चालक थुनामा राखेर मुद्दा चलाउने प्रक्रिया अगाडि बढाईएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिनुभयो । मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको उक्त कन्टेनर काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थियो ।

त्यस्तैगरी लक डाउनको पहिलो दिन वीरगञ्जमा लकडाउन अवज्ञा गर्ने २९ वटा सवारी साधन नियन्त्रणमा लिई पाँच पाँच य रुपैया जरिवाना तिराएर साझमात्र छाडिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनु भयो । पहिलो दिन वीरगञ्जमा लकडाउन अवज्ञा गर्ने करिब दुई सय जनालाई नियन्त्रणमा लिई सचेत गराएर छाडिएको उहाँले बताउनुभयो । दोश्रो दिन भने लकडाउनलाई पहिलो दिनभन्दा कडा पारिएकाले वीरगञ्ज बजार र मुख्य सडकहरु सुनसान देखिएका थिए ।

तपाईको प्रतिक्रिया