विद्युत आयोजनामा कार्यरत एक भारतीय नागरिकलाई कोरोना आशंका

  चैत १२, २०७६

लमजुङ, चैत ११ : लमजुङको एक जलविद्युत आयोजनामा कार्यरत एक भारतीय कामदारलाई कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएको छ । आफ्नो देश भारतमा होली मनाएर लमजुङ फर्किएका बिहार राज्यको सिपोलका २४ वर्षीय ती युवकलाई कोरोना संक्रमण भएको आशंका गरिएको हो ।

दोर्दीखोलामा निर्माण भइरहेको २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजनामा कार्यरत ती युवकलाई आइतबार एक्कासी ज्वरो आएपछि आयोजनास्थलमै सामान्य औषधि खाएर बसेका थिए । सोमबार ज्वरो बढ्दै गएपछि मंगलबार विहानै ती युवकलाई एम्बुलेन्समार्फत् बेसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

मंगलबार अस्पतालका ल्याइएका उनलाई आइसोलेशनमा राखेर जाँच गर्दा ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, छातिमा संक्रमण जस्ता कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

होली मनाउन भारत गएको र भारतबाट आएको एकसातापछि उनमा देखिएको लक्षण कोरोना संक्रमणसँग मिल्दोजुल्दो देखिएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।

आइसुलेसनमा राखेर उपचार गरिएका युवकमा ज्वरो कम भएको छ । श्रेष्ठका अनुसार ती युवकलाई कोरोना संक्रमण परीक्षणका लागि काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिफर गरिएको छ ।

जलविद्युत आयोजनाका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालका अनुसार ती युवक केही समयदेखि आयोजनामा कार्यरत छन् । आइतबार परेको पानीमा भिजेपछि ज्वरो आएको उनलाई अस्पताल ल्याइएको उहाँले बताउनुभयो । अस्पताल चेकअफपछि काठमाडौं पठाउने तयारी गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आयोजनामा ती युवकसहित ५ जना होली मनाएर आयोजनास्थल फर्किएका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया