कोषमा सांसदबाट सहयोग घोषणा

  चैत ११, २०७६

काठमाडौँ, चैत ११ : कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको केन्द्रीय कोषमा सङ्घीय संसद्का पदाधिकारीसहित सांसदले सहयोग घोषणा गरेका छन् ।

कोषमा बैङ्क तथा वित्तीय संस्था, व्यापारिक घराना, पूर्वप्रशासक लगायतले पनि रकम सहयोगको घोषणा गरिसकेका छन् । मन्त्रिपरिषद्को आइतबारको बैठकले कोष स्थापनाको निर्णय गरेको थियो । यसमा ५० करोड रुपियाँ सरकारका तर्फबाट राखिएको छ ।

सङ्घीय संसद् प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्को आर्थिक प्रशासन शाखालाई एक महिनाको पारिश्रमिक कोषमा जम्मा हुने व्यवस्थाका लागि सोमबार नै पत्राचार गरिसक्नुभएको छ । पत्राचारअनुसार कोषमा रकम जम्माको प्रबन्ध प्रशासनले गर्नेछ ।

यस्तै नेपाली कांँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले कोषमा पाँच लाख रुपियाँ सहयोगको घोषणा गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पदम गिरीले तीन महिनाको पारिश्रमिक आफ्नो निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड स्थापनाका लागि सहयोग गर्ने घोषणा गरिसक्नुभएको छ ।

नेकपाकै सांसद रामकुमारी झाँक्री सरकारले स्थापना गरेको कोषमा एक महिनाको पारिश्रमिक दिने घोषणा गर्नुभएको छ । नेकपाका सांसद महेश बस्नेत, डा. सूर्य पाठकले एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने घोषणा गरिसक्नुभएको छ ।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ । यसअघि सोमबार नै काँग्रेस सांसद गगन थापाले एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने प्रस्ताव गर्नुभएको थियो । सरकारले स्थापना गरेको कोषमा नेपाल बैङ्क लिमिटेडले एक करोड सहयोग गर्ने घोषणा गरिकेको छ ।

व्यवसायी वसन्त चौधरीले कोषमा एक करोड रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । पूर्वसचिव रामेश्वर खनालले कोषमा आफ्नो एक महिनाको पेन्सन उपलब्ध गराउने घोषणा गर्नुभएको छ । प्रधानमन्त्रीको निजी सचिवालयमा कार्यरत सल्लाहकारले एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ । सचिवालयका विज्ञ सदस्यहरूले भने आधा महिनाको तलब कोषमा जम्मा गर्नुहुनेछ ।

आइसोलेसन वार्ड स्थापना
सङ्घीय संसद् सचिवालयमा आइसोलेसन वार्ड स्थापना गरिएको छ । सचिवालयको भवन नम्बर १ मा वार्ड स्थापना गरिएको स्वास्थ्य एकाइ प्रमुख डा. पुष्पराज रिजालले जानकारी दिनुभयो ।
सङ्क्रमणको शङ्का भएमा सुरुमा उक्त वार्डमा राखिनेछ । सङ्क्रमण पुष्टि नहुँदासम्म वार्ड प्रयोग गरिनेछ । सचिवालयले एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको जनाएको छ । पदाधिकारी, सांसद, कर्मचारी र आगन्तुकको पनि तापक्रम मापनको व्यवस्था सचिवालयमा गरिएको छ । सिंहदरबार प्रवेशको मूल गेटमा पनि ज्वरो नाप्न थालिएको छ ।

तपाईको प्रतिक्रिया