कोरोना अस्पतालमा मृत्यु भएका बिरामीमा देखिएन कोरोना संक्रमण

  चैत ११, २०७६

चितवन, चैत ११ : भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका कोरोना आशंका गरिएका युवामा कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ । वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार बिहान ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको थियो ।

लुपस भन्ने रोगबाट पीडित उनमा ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा ९ चैतमा रिफर भएर कोरोना विशेष अस्पताल पुगेका थिए ।

उनको स्वाब १० गते काठमाडौं पठाइएको छ । त्यही दिन दिउ“सोबाट श्वासप्रश्वासमा समस्या बढेपछि सघन उपचार कक्ष (आईसीयू)मा सारिएको उनको उपचारकै क्रममा मंगलबार बिहान साढे ९ बजे निधन भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको अस्थायी अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारले कान्तिपुरलाई बताए । उनको स्वाबको नमूना परीक्षणका लागि सोमबार नै राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याइएको थियो ।

प्रयोगशाला प्रमुखले भरतपुर अस्पतालका मेडिकल सुपरिडेन्डन्टलाई उनको रिपोर्टमा कोरोना नदेखिएको जानकारी गराएको पनि प्रवक्ता अधिकारीले बताए। । भरतपुर अस्पतालका मेसु श्रीराम तिवारीकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मृतक यादवमा कोरोना संक्रमण नभएको पाइएको छ ।

तपाईको प्रतिक्रिया