आजै मध्यरातदेखि भारतमा २१ दिनसम्म पूर्ण ‘लक डाउन’

  चैत ११, २०७६

काठमाडौं, चैत ११ : भारतमा २१ दिनको लागि लक डाउनको घोषणा गरिएको छ । मङ्गलबार मध्यरातबाट सुरु हुने लक डाउन अप्रिल १४ तारेखसम्म चल्नेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको नाममा सम्बोधन गर्नुहुँदै २१ दिनको लागि भारत पूर्णरुपमा लक डाउन हुने घोषणा गर्नुभएको हो ।

उहाँले २१ दिन लामो समय रहेपनि समाज र नागरिकको सुरक्षाको लागि एकमात्र विकल्प लागू गरिएको बताउनुभयो । उहाँले २१ दिने लक डाउनको क्रममा सडकमा नआउन आग्रह गर्नुभयो । सम्बोधनको क्रममा उहाँले प्रधानमन्त्रीको रुपमा नभई परिवारको सदस्यको रुपमा आफ्नो आग्रहलाई स्वीकार गरी पछ्याउन आग्रह गर्नुभयो ।

भारतको भन्दा उच्चतम् स्वास्थ्य पूर्वाधार, प्रविधि र प्रणाली रहेको अमेरिका र इटाली जस्तो शक्तिशाली राष्ट्रले कोरोना भाइरसको संक्रमणको जोखिममा परेको बताउनुहुँदै उहाँले कोरोनाबाट बच्न एकमात्रै उपाय अवलम्बन गर्न लागिएको उल्लेख गर्नुभयो । संक्रमित एकजनाबाट सयौंमा फैल्न सक्ने हुनाले घरबाट बाहिर नआउन उहाँले नागरिकमा आग्रह गर्नुभयो ।

प्रधानमन्त्री मोदीले कोरोना भाइरसको संक्रमणको सामना गर्न १५ खर्बको कोष परिचालन गरिने घोषणा गर्नुभयो । उक्त बजेट नागरिकको व्यक्तिगत् सुरक्षा, आइसोलेशन शैय्या, भेन्टिलेटरको संख्या यथासक्दो छिटो बढाउन सकिने कार्यको लागि खर्च गरिने जानकारी दिनुभयो ।

भारतमा कोभिड–१९ को संक्रमितको संख्या करिब ५ सय पुगेको छ । मृतकको संख्या नौ रहेको छ । भारतले मङ्गलबारदेखि सबै आन्तरिक उडान स्थगित गरिसकेको छ । आइतबारदेखि भारतमा यातायातको प्रमुख साधन रहेको रेल्वे सञ्जाल अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको थियो ।

कोभिड–१९ को संक्रमण पहिलो एक लाख व्यक्तिमा फैल्न ६७ दिन लागेको थियो । ११ दिनभित्रै दुई लाख व्यक्तिमा संक्रमण सरेको थियो । चार दिनभित्र विश्वका अर्को एक लाख व्यक्तिमा कोभिड–१९ को संक्रमण फैलिएको छ ।

तपाईको प्रतिक्रिया