काठमाडौँ महानगरका पाँच ठाउँमा वाटर एटीएम जडान गरिँदै

  चैत १०, २०७६

काठमाडौँ, चैत १० : काठमाडौँ महानगरपालिका र खानेपानी मन्त्रालयअन्तर्गतको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बीच महानगर क्षेत्रभित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको छ ।

महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा प्रदान गर्न वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डका तर्फबाट कार्यकारी निर्देशक डा सञ्जीव विक्रम राणाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार पहिलो चरणमा काठमाडौँ महानगर क्षेत्रभित्रका धुम्रबराहीको शंखपार्क, स्वयम्भूको भूइँखेल, बालाजु पार्क, वडा नं २८ को शंखधर पार्क र मीनभवनको ट्रलीबस सेवा भएको कम्पाउण्डमा वाटर एटीएम राखिनेछ । तीन वर्षका लागि भएको सम्झौताअनुसार महानगरपालिकाले वाटर एटीएम राख्ने स्थान उपलब्ध गराउने छ भने त्यसको सुरक्षा र बत्तीको पनि व्यवस्था महानगरपालिकाले नै गर्नेछ ।

यो सम्झौतासँगै अब महानगरवासीले प्रति २०० मिलीलिटर पानीका लागि जम्मा एक रुपैयाँ तिरे पुग्नेछ । वाटर एटीएममै व्यवस्था गरेको कागजबाट निर्मित २०० मिली लिटरको कप प्रयोग गर्न चाहेमा कपको छुट्टै एक रुपैयाँ लाग्ने बोर्डका कार्यकारी निर्देशक राणाले जानकारी दिनुभयो । उहाँका अनुसार कप प्रयोग नगरी आफ्नै बोटलमा पानी थाप्न चाहे प्रतिलिटर पानीको रु पाँच तिरे पुग्छ । यो सेवाले एक बोतल पानीको २०–२५ रुपैयाँ तिर्नुपर्ने बाध्यतामा पनि कमी आउनेछ ।

महानगरपालिकाले तोकेका स्थानमा बोर्डले तीन महिनाको सञ्चालन र मर्मत खर्चसहित प्रति एटीएम रु १५ लाख ८६ हजारको लागतमा पाँच एटीएम राख्ने छ । महानगर प्रमुख शाक्यले काठमाडौँमा पानीको हाहाकार भइरहेका बेला महानगरवासीलाई स्वच्छ र गुणस्तरीय पानी पिउने व्यवस्था गर्न यो प्रयासको थालनी गरेको बताउनुभयो । प्रमुख शाक्यले भन्नुभयो, “यो सेवालाई भोलिका दिनमा थप विस्तार गरेर ३२ वटै वडामा पु–याउने हाम्रो लक्ष्य छ, तपाईंहरुले विश्वास दिलाएर काम गर्नुभयो भने हामी आगामी दिनमा थप सहकार्य गर्न तयार छौँ ।”

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले यो सम्झौताले सर्वसाधारणदेखि विद्यार्थी र अन्यले स्वच्छ तथा गुणस्तरीय पानी पिउन पाउने अपेक्षा गरेको बताउनुभयो । बोर्डका कार्यकारी निर्देशक राणाले उपत्यकाका १५ स्थानमा यस्ता एटीएम राख्ने योजना अनुसार नै पहिलो चरणमा काठमाडौँ महानगर क्षेत्रभित्र पाँच स्थानमा राख्न लागेको बताउनुभयो । अहिले हरेक वाटर एटीएममा पाँच हजार लिटरको ट्याङ्की राख्ने र मेलम्चीको पाइप जडानपछि सोझै त्यहाँको पानी राख्ने व्यवस्था गरिने उहाँले बताउनुभयो ।

“प्रविधिसँग सामिप्यता बढाउन पनि यस्तो कार्यक्रम ल्याएका हौँ”, उहाँले भन्नुभयो, “पर्यावरणीय हिसाबले पनि यो उपयुक्त छ, त्यति मात्र होइन कति पानी खर्च भयो, कति पैसा उठ्यो भन्नेसम्म हामीले थाहा पाउन सकिन्छ, त्यसैले यसलाई हामीले व्यापारको भन्दा पनि सेवाको हिसाबले सञ्चालनमा ल्याएका छौँ ।”

तपाईको प्रतिक्रिया