काठमाडौंका होटेल, स्कूल, होस्टेल र रंगशालालाई क्वारेन्टाइन बनाइने

  चैत ०९, २०७६

काठमाडौं, चैत ९ : काठमाडौं उपत्यकामा तत्काल ५ हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल बनाइने भएको छ । त्यसका लागि काठमाडौं उपत्यकाभित्रका होटेल, होस्टल, स्कूल तथा रंगशालाहरुलाई उपयोग गरिने भएको छ ।

कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शनिबार गठन गरेको क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको पहिलो बैठक आइतबार बसेको छ ।

बैठकले काठमाडौं उपत्यकामा तत्काल ५ हजार व्यक्ति अट्ने क्वारेन्टाइन स्थल बनाउने र त्यसलाई आवश्यक परेका बेला अस्थायी अस्पतालमा समेत परिणत गर्न सकिने निर्णय गरेको अनलाइन खबरले जनाएको छ ।

यस कार्यदलको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेका छन् ।

होटेल र स्कूलमा २-२ हजार क्वारेन्टाइन बन्ने
बैठकले पर्यटन विभाग र नेपाल पर्यटन विभागलाई होटेल व्यवसायीहरुसँग समन्वय गरी कम्तिमा २ हजार व्यक्ति क्षमताका लागि उपयुक्त होटेलको स्थानसहितको विवरण तयार गर्न निर्देशन दिएको छ ।

यी दुई निकायले व्यवसायीसँगको समन्वयमा होटेलको तय गर्ने भएका छन् । प्याब्सन, एनप्याब्सन र हिसानका प्रतिनिधिले आपसी समन्वयमा कम्तिमा दुई हजार क्षमताको क्वारेन्टाइन बनाउन स्थान दिनुपर्ने भएको छ ।

यी संस्थासँग भएका होस्टेल स्कूलको प्रयोग गरी क्वारेन्टाइन बनाउने निर्णय सरकारले गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौं, ललितपुर, पोखरा, बुटवल र धरानमा रहेका होस्टेल तथा रंगशालामा क्वारेन्टाइनका लागि व्यवस्थापन गर्न सकिने क्षमता एकिन गरी कार्यदललाई जानकारी गराउन निर्देशन दिइएको छ ।

यी सबै निकायबाट कूल ५ हजार क्षमताको क्वारेन्टाइन उपत्यकाभित्र तयार पार्ने निर्णय भएको हो । यसको तय भने सोमबार भित्र हुने भएको छ । सबै निकायलाई सोमबार बिहान भित्र कुन कुन स्थान र होटेललाई क्वारेन्टाइन बनाउन सकिन्छ भन्नेबारे सुझाव दिनेछन् ।

तपाईको प्रतिक्रिया