अनावश्यक इन्धन भण्डारण नगर्न आग्रह

  चैत ०९, २०७६

भैरहवा, चैत ९ : कोरोना भाइरसका कारण नेपाल–भारत सीमानाका बन्द हुने हल्लाले सर्वसाधारणले आवश्यकताभन्दा बढी इन्धन भण्डार गर्ने गरेको पाइएको छ ।

नाकाबन्दीका बेलामा जस्तै सर्वसाधरणले इन्धन भण्डारण गर्न थालेपछि नेपाल आयल निगमको रुपन्देहीस्थित भलबारी डिपोले इन्धनको अनावश्यक स्टक नगर्न आग्रह गरेको छ ।

अहिलेसम्म भारतबाट निर्वाध रूपमा पेट्रोलियम पदार्थ नेपाल भित्रिरहेको र बजारमा पेट्रोलियम पदार्थको कुनै खालको अभाव नरहेको भन्दै निगमले हल्लाका पछाडि लागेर भण्डारण नगर्न आग्रह गरेको हो ।

निरन्तर रूपमा पहिलेकै अवस्थामा इन्धन आयात भइरहेको निगमका भलवारी डिपोका प्रमुख ई. सुरज शाहले जानकारी दिनुभयो । विगतमा नाकाबन्दीका बेला सबै नाका बन्द हँुदासमेत खुला रहेको भैरहवा नाका (बेलहिया)बाट मात्रै आयात भएको इन्धन मुलुकभरिका लागि आपूर्ति व्यवस्था मिलाइएको थियो ।

अहिले पनि यो नाकाबाट आयात हुने पेट्रोलियम पदार्थमा कुनै कमी नआएको शाहले जानकारी दिनुभयो । विगतमा जुन परिमाणमा इन्धन आइरहेको थियो, त्यही परिमाणमा अहिले पनि आइरहेको छ, उहाँले भन्नुभयो, “ट्याङ्करमा इन्धन लोड भइरहेको छ, हालसम्म भारतबाट इन्धन ढुवानीका लागि केही समस्या आएको छैन । ”

डिपो प्रमुख शाहका अनुसार भारतबाट शुक्रबार दुई लाख ४० हजार लिटर डिजेल र सात लाख ५२ हजार लिटर पेट्रोल र ३२ वटा एलपी ग्यास बुलेट आएको छ । भलबारी डिपो प्रमुख शाहका अनुसार भारतको बैतालपुर, मुगलसराय, केही मात्रामा गोयन्ड र अमलेखगञ्जको पाइप लाइनबाट समेत डिजेल, पेट्रोल आयात भइरहेको छ । भारतबाट औसतमा डिजेल दैनिक ४० ट्याङ्कर र पेट्रोल १५ ट्याङ्कर आयात भइरहेको छ ।

काठमाडौँमा पनि पेट्रोलियम पदार्थको अभाव हुन नदिनका लागि दैनिकजसो ८० हजार लिटर पेट्रोल काठमाडौँ पठाउने गरेको शाहले बताउनुभयो । निगमको भलबारी डिपोमा एक लाख १३ हजार लिटर पेट्रोल र २६ लाख लिटर डिजेल मौज्दात रहेको प्रमुख शाहले बताउनुभयो ।

डिपोबाहिर पनि एक हजार ४८० किलोलिटर डिजेल र ४८० किलोलिटर पेट्रोल मौज्दात रहेको निगमले जनाएको छ । डिपोको क्षमता डिजेलमा ३० लाख लिटर र पेट्रोलमा एक लाख ४० हजार लिटर रहेको छ ।

तपाईको प्रतिक्रिया