भारतद्वारा नेपालको उच्च सराहना

  चैत ०९, २०७६

काठमाडौँ, चैत ९ : कोभिड–१९ अर्थात् कोरोना भाइरससँग लड्न सार्क मुलुकको उपयोगका लागि प्रस्तावित सार्क आपत्कालीन कोषमा नेपालले गर्ने भनिएको आर्थिक योगदानको भारतले उच्च सराहना गरेको छ ।

नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले कोषमा नेपालका तर्फबाट १० करोड रुपियाँ थप गर्ने घोषणा गर्नु भएलगत्तै भारतले त्यस कदमको उच्च सराहना गरेको हो ।

नेपाल सरकारको त्यस निर्णयको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नुभयो । नेपाल सरकारको यस कदमको सराहनासँगै मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कृतज्ञता व्यक्त गर्दै ट्विट गर्नुभएको छ ।

भारतका प्रधानमन्त्री मोदीले ओलीजीको यो प्रतिबद्धताको म सराहना गर्दछु । यसले कोरोनाको महामारीविरुद्ध सामूहिक लडाइँ लड्ने सार्क देशको समर्थनलाई दर्शाउँछ भन्ने सन्देशसहित ट्विट गर्नुभएको छ ।

सार्क राष्ट्रप्रमुख तथा सरकार प्रमुखबीच चैत २ गते भिडियोमा कुराकानी भएको थियो । सोही क्रममा भारतीय प्रधानमन्त्री मोदीले आपत्कालीन कोषको घोषणा गर्दै एक करोड अमेरिकी डलर सुरुमै जम्मा गर्ने बताउनुभएको थियो ।

प्रस्तावका क्रममा उहाँले सार्क मुलुकले आफ्नो इच्छा अनुसार त्यस कोषमा रकम जम्मा गर्न सक्ने र त्यसको उपयोग गर्न सक्ने बताउनुभएको थियो । सो क्रममा नेपालका प्रधानमन्त्री ओलीले भारतको त्यस कदमको स्वागत गर्दै कोषमा आफू सहभागी हुने वचन दिनुभएको थियो ।

त्यस्तै भुटानले एक लाख अमेरिकी डलर बराबरको सहयोग राशि कोषमा थप्ने भएको छ । भुटानका प्रधानमन्त्री लोट्टी छिरिङले कोषमा राख्ने सहयोग रकमको घोषणा गर्नुभएको हो । त्यस घोषणाको भारतका प्रधानमन्त्री मोदीले सराहना गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया