एकैदिन भारतबाट १७ हजारभन्दा बढी नेपाली फर्किए

  चैत ०८, २०७६

धनगढी, चैत ८ : सुदूरपश्चिम प्रदेशमा रहेको दुई मुख्य नाकाबाट एकै दिन १७ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । छिमेकी राष्ट्र भारतको विभिन्न राज्यमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिदैं गएपछि त्यहाँ रहेका नेपाली धमाधम घर फर्किन लागेका हुन् ।

शनिबार दिउँसोसम्ममात्रै कञ्चनपुरको गड्डाचौकी नाकाबाट १३ हजार र कैलालीको त्रिनगर भन्सार नाकाबाट चार हजार नेपाली स्वदेश फर्केका छन् । विहानै दुवै नाकामा अत्यधिक नेपाली पुगेपछि उनीहरुलाई चेकजाँच गरेर मुलुकभित्र आउन दिन हम्मे–हम्मे भएको थियो ।

नाकामा स्थापना भएका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीलेमात्रै चेकजाँच गर्न सम्भव नभएपछि तत्काल दुवै नाकामा नेपाली सेनालेसमेत हेल्थ डेस्क स्थापना गरेर भारतबाट फर्किनेहरुको स्वास्थ्य चेकजाँच गरेको थियो । रोजगारीको सिलसिलामा सुदूरपश्चिमबाट धेरै नेपालीहरु कामको लागि भारत जाने गरेका छन् । कोरोना सङ्क्रमणको त्रास बढेपछि उनीहरु फर्किनेक्रम जारी रहेको छ ।

यसैबीच, गड्डाचौकी नाकाबाट भारतीय गाडीहरु नेपाल प्रवेशमा रोक लगाइएको छ । यस्तै, भारतीय बजारमा किनमेल गर्न जाने कार्यमा पनि दुवै नाकामा रोक लगाइएको छ । कैलाली, कञ्चनपुरका विभिन्न ठाउँका स्थानीय दैनिक उपभोग्य वस्तु किनमेलका लागि सीमावर्ती भारतीय बजारमा पुग्ने गरेका छन् ।

कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गरेर यताबाट पारि जान रोक लगाइएको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले गड्डाचौकीसहित सम्पूर्ण नाकाबाट भारत जान रोक लगाइएको बताउनुभयो ।

यसैगरी, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले पनि त्रिनगर नाकाबाट पारि जान रोक लगाइएको जानकारी दिनुभयो । ‘आजदेखि भारतबाट फर्किनेमात्रै यो नाकाबाट आउन पाउँछन् । दैनिक उपभोग्य सामग्री किन्नका लागि पारि जान हामीले केही दिनका लागि रोक लगाएका छौं’ उहाँले भन्नुभयो ।

गएको बिहीबारसम्म यो नाकाबाट किनमेलका लागि भारतीय बजार पुगेकाहरु फर्किने बेला हेल्थ डेस्कमा चेकजाँच नगराई निर्वाध रुपमा फर्किने गरेका थिए । दैनिक उपभोग्य वस्तु धनगढीमै पाइने गरेको र नाकामा अनावश्यक भीडभाड हुन थालेपछि पारि जान रोक लगाएको प्रमुख जिल्ला अधिकारी बोहराले बताउनुभयो । उहाँले भारतबाट फर्किरहेका नेपालीहरुको पनि कडाईका साथ चेकजाँच भइरहेको उल्लेख गर्नुभयो । जिल्लाको खक्रौला र त्रिनगर नाकाबाहेक बाँकी स–साना नाका बन्द गरिएको छ ।

मुख्यमन्त्रीद्वारा अनुगमन
यसैबीच, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार मुलुकको पश्चिमी नाका गड्डाचौकी पुगेर त्यहाँ रहेको हेल्थ डेस्क र क्वारेन्टाइनको अनुगमन गर्नु भएको छ । ठूलो सङ्ख्यामा नेपालीहरु नाकाबाट प्रवेश गर्न लागेपछि मुख्यमन्त्रीले हेल्थ डेस्क र क्वारेन्टाइनको अनुगमन गर्नु भएको हो ।

सो क्रममा उहाँले कोरोनाको सङ्क्रमण रोकथामका लागि नाकामा स्वास्थ्य प्रवद्र्धनको कार्य गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । हेल्थ डेस्कमा अपुग रहेको सामग्री उपलब्ध गराउनका लागि प्रदेश सरकारले सङ्घीय सरकारसंग आग्रह गरेको उहाँको भनाइ थियो ।

अनुगमनका लागि सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट पनि गड्डाचौकी नाकामा पुग्नु भएको थियो । यस्तै, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले पनि शनिबार त्रिनगर नाका पुगेर त्यहाँ स्थापना भएको आइसोलेशन कक्षको अनुगमन गर्नु भएको छ । उहाँले हेल्थ डेस्कमा खटेका स्वास्थ्यकर्मीलाई तदारुकताकासाथ काम गर्न निर्देशन पनि दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया