मुख्यमन्त्री भट्टद्वारा गड्डाचौकी नाका अनुगमन

  चैत ०८, २०७६

भीमदत्तनगर, चैत ८ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज बिहान गड्डाचौकी नाकाको स्थलगत अनुगमन गर्नुभएको छ । कैलाली र कञ्चनपुरमा बृहत्रुपमा तयारी भइरहेको बताउँदै उहाँले विभिन्न अस्पताल र वार्ड व्यवस्थापनका लागि पहल भइरहेको बताउनुभयो ।

सो अवसरमा उहाँले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार लागि परेको बताउनुभयो । “सीमा नाकाबाट नेपाली घर फर्किने क्रम बढेकाले सिमाना सतर्कता अपनाउन लागिएको छ”, उहाँले भन्नुभयो, “थप सुरक्षा र सतर्कता अपनाउन सङ्घीय सरकारसँग पनि सहयोग र समन्वय हुन्छ ।”

मुख्यमन्त्रीसँगै सीमा नाकाको अनुगमनका लागि सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, प्रदेशसभा सदस्य लालबहादुर खड्का, भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्ट, नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी शङ्करबहादुर पण्डित लगायतको टोली गड्डाचौकी पुगेको थियो ।

सो क्रममा सामाजिक विकासमन्त्री सुवेदीले दुई थान इन्फ्रारेड थर्मोमिटर मेसिन स्वास्थ्यकर्मीको टोलीलाई उपलब्ध गराउनुभयो । साथै अनुगमनका क्रममा सेनाका बाहिनीपति सहायकरथी पण्डितले मुख्यमन्त्रीलाई गड्डाचौकी सीमा नाकामा अपनाइएको सतर्कता, स्वास्थ्य परीक्षण र आवश्यक व्यवस्थापनका विषयमा जानकारी गराउनुभएको थियो ।

त्यसैगरी स्थानीय प्रशासनले पनि कोरोना भाइरस सङ्क्रमण हुन नदिन आज बैठक बसी विभिन्न निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताउनुभयो । उहाँले गड्डाचौकी नाकाबाहेक कञ्चनपुरका अन्य सबै नाकाबाट भारततर्फको आवागमन तत्कालका लागि बन्द गर्ने निर्णय भएको बताउनुभयो ।

“गड्डाचौकीबाट स्वदेश फर्किएका नेपालीलाई आफ्नो गन्तव्य पुगिसकेपछि अनिवार्य स्वास्थ्य परीक्षणका लागि यहाँका सबै स्थानीय तहसँग समन्वय गर्ने निर्णय भएको छ”, प्रजिअ खतिवडाले भन्नुभयो, “यहाँको महाकाली अस्पालमा आइसोलेसन वार्ड तयारी अवस्थामा राख्ने भनेका छौँ ।”

उहाँले जिल्लामा रहेका सबै स्वास्थ्यकर्मी र एम्बुलेन्सलगायतका सेवा तयारी अवस्थामा राखिएको जानकारीसमेत दिनुभयो । बैठकले भीमदत्तनगरमा रहेको सिएमए छात्राबास र जिल्ला प्रशासन कार्यालयको पुरानो भवनलाई तत्काल क्वारेन्टाइनस्थलका रुपमा प्रयोग गर्ने निर्णयसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया