कोरोनाको उपचारमा मलेरियाका लागि प्रयोग हुने क्लोरोक्वीन प्रभावकारी

  चैत ०८, २०७६

काठमाडौं, चैत ८ : विगतमा मलेरियाका विरामीको उपचारमा प्रयोग गरिएको क्लोरोक्वीन कोरोना भाइरसको संक्रमितको उपचारमा पनि निकै प्रभावकारी भएको पाइएको छ ।

क्लोरोक्वीन विगत दशकौंदेखि प्रयोगमा छ तर अफ्रिकी मुलुकमा यो मलेरियाका विरामीको औषधिप्रति रेसिस्टेन्ट निकै बढी हुने गरेकाले यसको प्रयोग कम हुँदै गएको छ ।

तर हालै यो औषधिको चीनमा गरिएको क्लिनिकल टेस्टमा यसले कोरोना संक्रमित विरामीमा ज्वरो कम गर्न तथा फोक्सोको सञ्चालनमा सुधार गर्नुका साथै विरामीको निको हुन लाग्ने समयमा निकै कम भएको पाइएको थियो । चीनको नेशनल सेन्टर फर बायो टेक्नोलोजी डिभलपमेन्टले सो अध्ययन गरेको थियो ।

क्लोरोक्वीन फस्फेटलाई विगत ७० वर्ष अघिदेखि विश्व स्वास्थ्य संगठनले अतिआवश्यक औषधिको सूचीमा राखेको र यसलाई निकै सुरक्षित र स्वास्थ्य प्रणालीमा निकै प्रभावकारी औषधिका रुपमा लिदै आएको गोरखापत्र अनलाइनमा उल्लेख गरिएको छ ।

यो औषधिको आविश्कार १९३४ मा ह्यान्स एन्डरसनले गरेको भए पनि शुरुमा यसलाई मानिमा प्रयोग गर्दा विषालु हुने भन्दै पूरै वेवास्ता गरिएको थियो तर दोस्रो विश्वयुद्ध ताका अमेरिकी सरकारले मलेरियाको उपचारमा यसको क्लिनिकल टेस्टका लागि अनुमति दिइएको थियो । सो क्रममा यो औषधि मलेरिया विरुद्धको उपचारमा निकै प्रभावकारी देखिएको थियो ।

क्लोरोक्वीनलाई हाल प्रचलनमा रहेका दशौं हजार औषधि मध्यबाट धेरै पटकको छनोट प्रक्रिया पछि चीनमा क्लिनिकल टेस्टका लागि छानिएको थियो र बेइजिङ्ग लगायतका दशवटा अस्पतालहरूमा पठाइएको थियो । सो अध्ययनका क्रममा क्लोरोक्वीन प्रयोग गरिएका विरामीहरुमा सो औषधि प्रयोग नगरिएका विरामीमा भन्दा निकै राम्रा लक्ष्यणहरू देखापरेको थियो ।

क्लोरोक्वीन प्रयोग गरिएको विरामीमा ज्वारोको मात्रामा तथा फोक्सोको सिटिस्क्यान तस्बीरमा निकै सुधार हुनुका साथै भाइरल न्यूक्लिक एसिडमाको जाँचमा धेरै विरामीमा निकै सुधार भएको पाइएको गोरखापत्र अनलाइनले जनाएको छ ।

साथै, सो औषधि प्रयोग गरिएका विरामी छोटो समयमा निको भएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले हालै उक्त औषधि कोरोना भाइरसविरुद्ध प्रयोग गर्न पाउने अनुमति दिनुभएको छ ।

तपाईको प्रतिक्रिया