भारतमा संक्रमण बढ्न थालेपछि डोटीका स्थानीय स्वदेश फर्कने थाले

  चैत ०८, २०७६

डोटी, चैत ८ : विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड –१९) को संक्रमण छिमेकी मुलुक भारतमा पनि दैनिक रुपमा बढ्न थालेपछि डोटी जिल्लाका विभिन्न स्थानबाट भारतमा काम गर्न गएका व्यक्तिहरु घर फर्कन थालेका छन् । कोरोनाको डरसँगै नेपाली नयाँ वर्षको उपलक्ष्यमा यस क्षेत्रमा बिसु पर्वका मनाइने गरेका कारण फर्किनेहरुको संख्या बढेको छ ।

भारतको महाराष्ट्रबाट फर्किएर डोटीको दिपायल बसपार्कमा गाडीको पर्खाईमा रहेका डोटीको आदर्श गाउँपालिकाका रमेश साउदले भन्नुभयो, –‘चाडपर्व पनि आयो त्यसैमा महामारी फैलिएको छ भन्ने थाहा पाएँ, केही भईहाले पनि आफ्नै ठाउँमा उपचार गरौंला भनेर घर आयौं ।’

जिल्ला सदरमुकाममा कोरोना भाइरसको जोखिममा न्यूनीकरणका लागि तयारी गरिएको भए पनि अन्य स्थानीय तहहरुल्े खासै तयारी गरिएको देखिदैंन । भारतबाट घर फर्किनेहरुको संख्या दिन दिनै बढिरहेको भए पनि जिल्लामा पर्याप्त सतर्कता भने अपनाईएको देखिदैंन ।

भारतबाट फर्किनेहरु सदरमुकाम भन्दा ग्रामीण क्षेत्रका बढी छन् । अन्तराष्ट्रिय सिमाना सँग जिल्ला नजोडिएका कारण जिल्लामा कोरोना संक्रमणको कम जोखिम आँकलन गरिएको छ । संक्रमणको कम जोखिम आँकलन गरिएको भए पनि ग्रामीण क्षेत्रका अधिकाँश बासिन्दाको आर्थिक स्रोत भने भारतीय रोजगारी नै हो ।

जिल्ला विपद् व्यवस्थापन समिति डोटीले भिडभाड हुने जिल्लाका मुख्य चार स्थानमा हेल्थ डेस्क (स्वास्थ कक्ष) स्थापना गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सूचना सामग्रीसहित डोटीको जोरायल गाउँपालिका–२ बुडर, दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारमा रहेको शैलेश्वरी अस्पताल, आर्दश गाउँपालिका–२ मौवा नगरदह मौवा स्वास्थ्य चौकी र जिल्ला अस्पताल डोटीमा सहायता कक्ष स्थापना गरिएको गोरखापत्र अनलाइनले जनाएको छ ।

छ ।

हेल्थ डेस्क स्थापना गरिएको भए पनि हेल्ड डेस्कमा शरीरको तापक्रम परीक्षण गर्नेहरु भने न्यून मात्रामा देखिन्छन् । मुख्य राजमार्गमा स्थापना भएका कारण जिल्लाको बुडरमा स्थापना गरिएको हेल्थ डेस्कमा धेरै व्यक्तिहरुको परीक्षण गरिएको भए पनि अन्य स्थानमा भने परीक्षण गर्नेहरुको संख्या न्यून छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललका अनुसार जिल्लामा १० वटा आईसोलेसन बेड तयार गरिएको छ । डोटी जिल्ला अस्पताल, सुदूरपश्चिम प्रहरी अस्पताल, सुजङ्ग अस्पताल, शैलेश्वरी अस्पताल र चोपडा अस्पताल गरी पाँच अस्पतालमा दुई÷दुई वटाका दरले १० वटा आईसोलेसन बेड तयार गरिएको छ ।

डोटीको दिपायल सिलगढी नगरपालिकाले घर आँगन र व्यक्तिगत सरसफाइका लागि नगरवासीसँग सार्वजनिक रुपमा अपिल गरेको छ ।

यस्तै भारतबाट आउने नेपालीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य जाँच गराउनु पर्ने व्यवस्था गरिएको छ । नगर क्षेत्र भित्रका जनप्रतिनिधिहरुले आफ्नो वडाभित्र भारतवाट आउने नेपालीहरुलाई अनिवार्य जाँच गराउन पहल गर्नु पर्ने नगरपालिकाले निर्देशन गरेको छ ।

स्वास्थ्यकर्मी र उपकरणको अभाव
कोरोनाको संक्रमणबाट बच्न जिल्लामा स्वास्थ्यकर्मी र उपकरणहरुको अभाव देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका सुपरभाइजर तेजबिक्रम शाहीका अनुसार जिल्लामा औषधि अभाव नरहेको तर स्वास्थ्यकर्मी र उपकरणको अभाव रहेको छ ।

सुपरभाइजर शाहीले भन्नुभयो, –‘स्वास्थ्यकर्मीको समायोजनले जिल्लामा धेरै दरबन्दीहरु रिक्त रहेका छन् । करारमा स्वास्थ्यकर्मी भर्नाका लागि विज्ञापन भएको छ ।’
हेल्थ डेस्क स्थापना भएका भए पनि त्यहाँ खटिएका स्वास्थ्यकर्मीहरुको आफ्नै सुरक्षा नभएको गुनासो छ । जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका हेल्थ डेस्कहरुमा र अस्पतालहरुमा ‘थर्मल गन’ समेत अभाव रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया