निर्भया बलात्कार काण्डका चारैजना दोषीलाई फाँसी दिइयो

  चैत ०७, २०७६

नयाँदिल्ली, चैत ७ : सन् २०१२ मा भएको निर्भया हत्याकाण्डका दोषी चारै जनालाई दिल्लीस्थित तिहाड जेलमा शुक्रबार बिहान झुण्ड्याएर मृत्युदण्ड दिइएको छ । विगत अढाई महिनादेखि ती चारै जनालाई दिइने फाँसीका बारेमा रहेको अन्यौल पनि मृत्युदण्डसँगै समाप्त भएको छ ।

अभियुक्तहरुले सन् २०१२ मा एक महिलालाई नयाँदिल्लीको सार्वजनिक बसमा साँझ सामूहिक बलात्कार गरी सडक किनारामा फालिदिएका थिए । हत्याका अभियुक्तहरु सबैलाई मृत्युदण्ड दिइनु पर्ने भन्दै नयाँदिल्ली सहित भारतका विभिन्न स्थानमा धर्ना र प्रदर्शन भएका थिए ।

अभियुक्ततर्फका वकील एपी सिंहले अन्तिम सुनुवाईका लागि गरेको आग्रहलाई खारेज गर्दै सर्वोच्च अदालतको बिहीबार अबेर राति बसेको तीन सदस्यीय इजलासले थप सुनुवाई नगर्ने फैसला गरेको थियो । पीडितका अभिभावकहरु, आमा आशादेवी र बुबा बद्रीनाथ सिंहले अभियुक्तहरुलाई मृत्युदण्ड दिइएकोप्रति खुशी व्यक्त गर्नु भयो ।

उहाँहरुले आफ्नी छोरीले आठ वर्षपछि बल्ल न्याय पाएको बताउनुभएको छ । दिल्लीको एक अदालतले गत मार्च ५ तारिखमा चारै जना अपराधीहरु अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई तिहाड जेलमा फाँसीको सजाय दिन आदेश दिएको थियो ।

यसअघि अभियुक्त अक्षय ठाकुरले आफूलाई माफी दिनुपर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । तर सर्वोच्च अदालतले उनको निवेदनलाई अस्वीकार गरेको थियो । साथै, तल्लो अदालतले पनि फाँसीको सजायलाई बिलम्ब गर्न अस्वीकार गर्दै तोकिएकै मितिमा सजाय दिन आदेश दिएको थियो । त्यसपछि उनीहरुका तर्फबाट बिहीबार साँझ दिल्ली उच्च अदालतमा निवेदन दिइएको थियो ।

उच्च अदालतले पनि निवेदनमाथि केही गर्न नसक्ने फैसला सुनाएको थियो । अन्ततः, अभियुक्तहरुका वकील सर्वोच्च अदालत पुगेर मुद्दामाथि तत्काल सुनुवाई गर्न अनुरोध गरे । तर बिहीबार मध्यराति अर्थात् शुक्रबार बिहान २.३० बजे बसेको सर्वोच्च अदालतको तीन सदस्यीय इजलासले उक्त निवेदनलाई खारेज गरिदिएपछि फाँसीको सजाय दिन बाटो खुलेको थियो ।

सर्वोच्च अदालतमा करिब आधा घण्टा सुनुवाई भएको थियो । न्यायाधीशहरु आर बानुमथी, अशोक भुषण र जेएएस बोपानाले अभियुक्तहरुका तर्फबाट दिइएको निवेदन अस्वीकार गर्नु भएको थियो । इजलासले अभियुक्तका वकीलले दिएको निवेदनमा विगतमा विभिन्न अदालत समक्ष प्रस्तुत गरेका उही पुरानै कुरा दोहोरिएको र राष्ट्रपतिबाट माफी पाउनुपर्ने उचित कारण प्रस्तुत हुन नसकेको ठहर गरेको थियो ।

यी चारै जनाले २३ वर्षीया एक विद्यार्थीलाई डिसेम्बर १६, २०१२ मा दक्षिणी दिल्लीमा गुडिरहेको सार्वजनिक बसमा सामूहिक बलात्कार गरी निर्ममतापूर्वक कुटपिट गरेका थिए । शुरुमा दिल्लीस्थित सफदरजङ अस्पतालमा उपचार गरिए पनि अन्तिममा सिंगापुरस्थित एक अस्पतालमा उपचारकै क्रममा ती विद्यार्थीको निधन भएको थियो ।

तपाईको प्रतिक्रिया