काठमाडौं, चैत ७ : कोराेना भाइरस (काेभिड-१९)को त्राससँगै उपत्यका छाड्नेहरुको संख्या बढेको छ । कोभिड-२०१९ राेकथामका लागि सरकारले स्कुल, क्याम्पस तथा सार्वजनिकस्थलहरु चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेसँगै उपत्यका छाड्नेहरुको संख्या बढेको हो ।
बिहीबार मात्रै १६ हजार ८ सय २४ यात्रुबाहक सवारीसाधन काठमाडौंबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी माहाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार बिहीबार बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्मको तथ्यांकमा काठमाडाैंमा १३ हजार ४ सय ५२ सवारी भित्रिएका छन् ।
यस्तै, ८९ हजार ८ सय ४जना यात्रु काठमाडौंबाट बाहिरिँदा ५६ हजार ९ सय २५ यात्रु भित्रिएको महाशाखाका प्रमुख ढकालले बताए । बुधबार १७ हजार ५ सय २४ वटा गाडी बाहिरिएका थिए भने १६ हजार २ वटा सार्वजनिक सवारी भित्रिएका इकान्तिपुर अनलाइनमा उल्लेख छ ।
बुधबार ९८ हजार ९ सय ३४ जना उपत्यका भित्रिएको र ९५ हजार २ सय ४७ मानिसहरु बाहिरिएको माहाशाखाले जनाएको छ । तलुनात्मक रुपमा काठमाडौंबाट बाहिरिने यात्रुको संख्या केही दिनयता बढ्न थालेको माहाशाखाका प्रमुख ढकालले बताए ।