कोरोनाविरुद्धको लडाइँमा कस्तो छ दलहरूको तयारी ?

  चैत ०६, २०७६

काठमाडौं, चैत ६ : कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा प्रमुख राजनीतिक दलले पनि पहल थालेका छन् । विश्‍व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल पनि कोभिड–१९ को उच्च जोखिममा रहेको बताएपछि यसलाई गम्भीरतापूर्वक लिएर राजनीतिक दलले पूर्वनिर्धारित कार्यक्रमसमेत हेरफेर गरेका छन् । नेकपाले पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानलाई परिमार्जन गरेर कोरोना भाइरसविरुद्ध सचेतना अभियानमा केन्द्रित गरेको छ । 

यस अभियानमार्फत कार्यकर्ता परिचालन गरेर सचेतना जगाउन थालेको छ । त्यस्तै, प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना भाइरसविरुद्ध सचेतना अभियान सुरु गरेको छ । कांग्रेसले ‘सहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घर–घरसम्म’ नारा दिएर सतर्कता र चेतनाको अभियान चलाएको छ । राजपा र समाजवादी पार्टीले पनि कोरोना भाइरसविरुद्ध सचेतनामूलक कार्यक्रम चलाइरहेका छन् । अन्य दल र नेता पनि राजनीतिक गतिविधि रोकेर कोरोना भाइरसविरुद्ध सचेतना अभियानमा केन्द्रित भएका छन् ।

नेकपा जागरण अभियानमा 

नेकपाको सचिवालय बैठकले अहिलेसम्म नेपाल कोभिड–१९ को संक्रमणले प्रकोपको रूप नलिएको र यसलाई ख्याल गर्दै थप सर्तकतापूर्ण कदम उठाउन सरकारलाई सुझाब दिएको छ । बुधबारको नेकपाको सचिवालय बैठकमा सबै नेता माक्स लगाएर उपस्थित भएका थिए । काठमाडौं बाहिर रहेकाले वरिष्ठ नेता माधवकुमार नेपाल भने बैठकमा उपस्थित थिएनन् । नेकपाको सचिवालय बैठकले सीमाबाट जाँच गरेर अत्यावश्यक सामान भिœयाउने र आवतजावत बन्द गर्ने विषयमा भारत सरकारसँग सम्वाद गर्न सरकारलाई सुझाब दिएको छ । सरकारले चालेको कदमलाई सफल बनाउन आवश्यक भूमिका निर्वाह गर्न नेता–कार्यकर्तालाई निर्देशनसमेत दिएको छ । 

बैठकमा कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९ को सम्भावित संक्रमणबाट बच्न चालिएको सरकारी तयारीबारे जानकारी गराएका थिए । नेकपाको सचिवालय बैठक अगाडि बसेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्‍न सांस्कृतिक तथा सामाजिक कार्यक्रम, पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, चर्चजस्ता धार्मिक र सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी मानिस भेलामा रोक लगाउने निर्णय लिएको थियो ।

यसबाहेक नेकपाले सार्वजनिक यातायात ‘लकडाउन’ गर्ने विषयमा निर्णय लिन पनि सरकारलाई सुझाब दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । नेकपाले सरकारलाई विद्यालय, कलेज र विश्वविद्यालय बन्द गर्न तथा परीक्षाहरू स्थगित गर्न सुझाब दिएको छ । कोरोना भाइरसको संक्रमणले विश्व समुदायलाई नै गम्भीर रूपमा प्रभावित गरिरहेको, नेपाल सरकारले यसबाट जोगिनका लागि विभिन्न उपायसहित ठूलठूला भेला तथा सम्मेलन आयोजना नगर्न अपिल गरेको भन्दै यसअघि नेकपाले पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान परिमार्जन गरिसकेको छ । परिमार्जित कार्यक्रमअनुसार अभियानअन्तर्गत निर्धारण गरिएका ठूला भेला तथा जनसभा हाललाई स्थगन भएका छन् । योसँगै नेकपाले साना–साना कार्यक्रममार्फत कोरोना भाइरसविरुद्ध जागरण अभियान चलाएको छ ।

नेकपाको पछिल्लो निर्णयअनुसार, पार्टी जिल्ला कमिटीले कोरोना भाइरस र त्यसबाट जोगिने उपायबारे जानकारीमूलक पर्चा तयार गरी प्रत्येक घर तथा व्यक्तिसमक्ष पु¥याएको जनाएको छ । यद्यपि यो सबै जिल्लामा अझै चलेको छैन । यसबाहेक नेकपाले सबै तहका पार्टी कमिटीले आप्mनो तहका जनप्रतिनिधि, सामाजिक जीवनका अगुवा र स्थानीय सञ्चारमाध्यमसँग समन्वय गरी कोरोना भाइरसबाट बच्ने उपायबारे जानकारीमूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । 

टोलसम्मै सर्कुलर, टिभीबाट भिडियो सन्देश

काठमाडौं÷ कांग्रेसले कोरोनाको सम्भावित संक्रमण फैलिन नदिने गरी तयारी गर्न सरकारलाई निरन्तर खबरदारी गर्दै आएको छ । विश्वव्यापी रूपमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै कांग्रेसले २१ फागुनमा पार्टी कार्यक्रम स्थगित गरी गाउँ–गाउँसम्म सतर्कता कार्यक्रम गर्ने निर्णय गरेको थियो । 

प्रवक्ता विश्वप्रकाश शर्माले ‘सहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घर–घरसम्म सतर्कता र चेतनाको अभियान पार्टी र आबद्ध संस्थामार्फत विविध ढंगले अघि बढाइने निधो गरिएको पनि सार्वजनिक रूपले सूचित गर्दछौँ’ भन्दै अभियानको घोषणा गरेका थिए । कोरोना भाइरसबाट बच्न सतर्कता, सरकारको ध्यानाकर्षणसहितको चार मिनेटको भिडियो सामाजिक सञ्जालमा प्रसारण गर्ने, अर्को एक मिनेटको भिडियो जारी गरिएको प्रवक्ता शर्माले बताए ।

उनले विश्वव्यापी रूपमा संक्रमण फैलिइरहेको प्राणघातक कोरोना भाइरसबारे ‘सरकार र समुदायका नाममा नेपाली कांग्रेसको १४ बुँदे अपिल’ जारी गर्दै आफ्नो पार्टीले पनि सतर्कताका लागि अभियान चलाउने जनाएका थिए । विश्व स्वास्थ संगठनले नेपाललाई समेत उच्च जोखिम रहेको राष्ट्र भनेर सतर्क गराइसकेको स्थितिमा हाम्रा सबै प्रयास जोखिम सामना गर्ने दिशामा सम्पूर्ण रूपले केन्द्रित गर्नुपर्ने भन्दै उनले ध्यानाकर्षण गराएका थिए । 

त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै ‘कोरोना जोखिमप्रति विशेष सतर्कताको’ पाँचबुँदे अपिल जारी गरेका थिए । जोखिम सामना गर्न सरकारलाई हाम्रो सम्पूर्ण साथ रहने घोषणा गरिसकेको उल्लेख गर्दै देउवाले युद्धस्तरमा कार्य गर्न सरकारको प्रभावकारिता नदेखिएकोमा ध्यानाकर्षण गराएका थिए । सीमा नाकामा कडाइ गर्न, सम्भावित जोखिम सामनाका लागि दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरणदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइन तथा आइसियूसम्मको अभाव हुन नदिन युद्धस्तरमा कार्य गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए । 

सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आएमा विशेषगरी गरिबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवं दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकाहरूका लागि राहतको योजना ल्याउन सरकारसँग देउवाले माग गरेका छन् । विद्यार्थीको शैक्षिक भविष्यलाई असर नपर्ने गरी जोखिमबाट जोगाउन आवश्यक निर्णय लिन, कोरोनाबाट सतर्क रहन र एक भएर यसको सामना गर्न देउवाले अपिल गरेका छन् । समग्र निजी क्षेत्रको मनोबल उच्च राख्न बैंककर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न जरुरी रहेको पनि देउवाको विज्ञप्तिमा उल्लेख छ । देउवाले जारी गरेको यो सर्कुलर जिल्ला, क्षेत्र, गाउँ, नगर, वडा र टोल–टोलसम्म पठाइएको जानकारी प्रवक्ता शर्माले दिए । 

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि तयार गरिएको एक मिनेटको भिडियो सन्देश टेलिभिजनबाट एक सातासम्म लगातार प्रसारणको तयारी भएको प्रवक्ता शर्माले बताए । 

सचेतना फैलाउँदै राजपा–समाजवादी 

काठमाडौं÷ कोरोना भाइरसको संक्रमण रोकथामका लागि राजपा र समाजवादीले पनि सचेतना कार्यक्रम चलाउन सुरु गरेका छन् । संगठन विस्तारको तीनमहिने अभियानमा रहेको समाजवादीले ठुल्ठूला आमसभा नगर्न निर्देशन गरेको छ । अभियान जारी राखे पनि त्यसमा ठूलो भिड नलगाउन निर्देशन दिएको अभियानका संयोजक राजेन्द्र श्रेष्ठले बताए । ठूला भेला स्थगित गरेर भेटघाट र बैठकमा आफ्‍नो अभियान सीमित गरेको श्रेष्ठले बताए । ‘घरदैलो र कोठाभित्र हुने साना बैठक निरन्तर छन्,’ उनले भने । 

संयोजक श्रेष्ठका अनुसार समाजवादी पार्टीले आफ्ना विद्यार्थी र युवा संगठनलाई समेत यसबारे सचेतना फैलाउन खटाएका छन् । उनीहरू केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको स्तरमा काम गरिरहेका छन् । 

कोरोना भाइरसकै कारण समाजवादीले ३० चैतमा काठमाडौंमा गर्ने तय गरेको आमसभाबारे भने अन्तिम निर्णय लिन सकेको छैन । त्यसबारे चैत दोस्रो सातापछि मात्रै अवस्था हेरेर निर्णय लिने समाजवादीको तयारी छ । त्यस्तै, राजपाले पनि ठूला भेला र बैठक तत्काललाई रोकेर कोरोनाविरुद्ध सचेतना कार्यक्रममा सञ्चान गर्न सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिएको छ । २१ फागुनमा बसेको राजपा अध्यक्षमण्डलको बैठकपछि संयोजक महेन्द्र यादवले विज्ञप्ति जारी गरी कोरोना भाइरसको संक्रमणबारे सरकारलाई ठोस निर्णय लिन आग्रह नै गरेको थियो । 

‘पार्टी केन्द्रले सबै मातहतका समितिलाई सचेतना कार्यक्रम गर्न सर्कुलर जारी गरेको छ,’ राजपा महासचिव केशव झाले नयाँ पत्रिकासँग भने, ‘त्यहीअनुसार सबै जिल्ला र मातहतका समितिले कोरोनाविरुद्ध सचेतना अभियान सुरु गरेका छन् ।’ 

बाबुरामको ट्विटरमा नयाँ नाम ‘नियमित हात धोऔँ’

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना भाइरसको संक्रमणविरुद्ध सचेतना फैलाउने उद्देश्यले ट्विटरमा नाम परिर्वतन गरेका छन् । उनले बुधबार ट्विटरको नाम परिवर्तन गरेर ‘नियमित हात धोऔँ र वास युएर ह्यान्ड’ राखेका छन् ।उनले सचेतना फैलाउनका लागि नाम परिवर्तन नगरेको जनाएका छन् । ‘कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहल : मेरो ट्विटर नाम परिवर्तन गरेर (नियमित हात धोऔँ÷वास युअर ह्यान्ड) राखेको छु,’ उनले ट्विटमा भनेका छन्, ‘विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो ।’ डा. भट्टराई केही समयदेखि लगातार सरकारलाई विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न समाजिक सञ्जालमार्फत आग्रह गरिरहेका छन् । नयाँपत्रिकाबाट साभार

तपाईको प्रतिक्रिया