पूर्वप्रधान न्यायाधीश श्रेष्ठको निधनः बिहीबार सबै अदालत बन्द

  चैत ०५, २०७६

काठमाडौं, चैत ५ : सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको आज भएको असामयिक निधनप्रति समवेदना व्यक्त गर्दै उहाँको शोकमा बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनपछि आज बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उहाँको शोकमा बिहीबार सम्पूर्ण अदालत तथा न्यायाधिकरण बन्द गर्ने निर्णय गरेको हो ।

धनकुटा जिल्लामा १९८९ साल चैत ३० गते जन्मनुभएका श्रेष्ठ न्याय सेवामा शाखा अधिकृत, उपसचिव, अञ्चल न्यायाधीश र मुख्य न्यायाधीश हुँदै २०४८ साल भदौ २४ गते प्रधानन्यायाधीश हुनुभएको थियो ।

उहाँ उमेरहदका कारण २०५४ चैत २९ गते सेवानिवृत्त हुुनुभएको थियो । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनले न्याय र कानूनका क्षेत्रमा अपूरणीय क्षति भएको र मुलुकले देवानी कानूनका क्षेत्रका विशेष दख्खल राख्ने एक निर्भीक, अत्यन्त मिलनसार र मृदुभाषी व्यक्तित्व गुमाएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया