जमुनाहामा नाकामा सवारीसाधन आवागमनमा रोक

  चैत ०५, २०७६

नेपालगञ्ज, चैत ५ : कोरोना भाइरसको संक्रमण भित्रिन नदिन पश्चिम नेपालको भारतीय सीमानासंग जोडिएको प्रमुख नाका जमुनाहमा सवारीसाधन आवागमनमा बुधवारदेखि पूर्णरुपमा रोक लगाइएको छ ।

बाँके र भारतको बहराईचका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीको बैठकले नेपालगञ्ज नाकाबाट मालवाहक बाहेकका सबै सवारी साधनको आवगमनमा रोक लगाउने निर्णय गरेपछि बुधवार विहानबाट सवारीसाधनको आवागमन बन्द भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले दुवै देशमा प्रवेश गर्ने ठूला मालवाहक सवारी साधन बाहेक सर्वसाधारणसंग सम्बन्धित सबै सवारी साधनको आवागमनमा रोक लगाईएको बताउनुभयो ।

उहाँले अनावश्यक काम र किनमेलका लागि सीमापारी जाने र आउनेहरुले नाकामा भिडभाड धेरै गरेपछि भारतबाट फर्किनेहरुको स्वास्थ्य परिक्षणमा समेत समस्या आएकोले अन्य सवारी साधनदेखि साईकलसम्मको सञ्चालनमा रोक लगाइएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार नेपालतर्फ चौलिकाचोकसम्म मात्र सवारीसाधन सञ्चालन गर्न दिइएको छ । सवारीसाधन सञ्चालनमा रोक लगाए पनि पैदल आवात जावत भने बन्द गरिएको छैन ।

उहाँले अतिआवश्यक कामले सीमापारी जाने र भारतबाट घर फर्किने नेपालीहरुका लागि पैदल आवतजावत गर्ने छुट दिईएको बताउनु भयो ।  भारतमा कोरोनाका बिरामीहरु बढ्दै गएपछि त्यहाँ रहेका नेपालीहरु अहिले ठुलो संख्यामा नेपाल फर्किरहेका छन् । नेपाल फर्किने सबैको स्वास्थ्य परिक्षणलाई बुधवारबाट निकै कडा पारिएको र कसैलाई पनि परिक्षण बिना आउन नदिईएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

अहिले दैनिक करिब ५०० देखि ८०० सम्मको हाराहारीमा नेपालीहरु फर्किरहेकोले उनिहरुकै चेकजाँचमा समस्या भैरहेको सो कार्यालयले जनाएको छ । बाँके जिल्लाका विभिन्न उद्योगमा काम गर्न दैनिक साइकलमा आउने भारतीय कामदारहरुले पनि रुपैडिहामा साइकल छोडेर पैदल चौलिका चौकसम्म आएको र त्यसपछि सवारीसाधनबाट गन्तव्यतर्फ गएको जनाएका छन् ।

भारतमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रिन सक्ने आशंकामा जमुनाह नाका बन्द गर्नुपर्ने आवाज स्थानीय नागरिकबाट बारम्बार उठ्दै आएको थियो । मंगलवार अपरान्ह नेपालगञ्जमा अपरझट बसेको नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले बुधवारदेखि सवारी आवागमनमा रोक लगाउने निर्णय गरेका थिए । अत्यावश्यक काममा प्रयोग हुने एम्बुलेन्स, मालवाहक गाडीलाई भने आवागमन गर्न दिईएको छ ।

सवारी आवागमनमा रोक लगाए पछि अहिले जमुनाहा नाका सुनसान देखिएको छ । उताबाट आउने नेपालीहरु मात्रै सीमानामा बढी देखिएका छन् भने अतिआवश्यक कामले जाने पनि देखिएका छन् । सवारीसाधन सञ्चालनमा रोक लगाएपछि मानिसको आवागमन कम भएको र भारतबाट आउनेहरुको स्वास्थ्य परीक्षणमा सहजता भएको छ । बुधवार बिहानैदेखि टेन्ट लगाएर स्वास्थ्यकर्मीहरुले नाकामा प्रवेश गर्ने हरेक नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया