किन सोचेभन्दा तीव्र फैलिरहेको छ कोरोना भाइरस ?

  चैत ०३, २०७६

काठमाडौं, चैत ३ : अहिले कोरोना भाइरस (कोभिड–१९)को प्रकोप विश्वभर तीव्र गतिमा फैलिइरहेको छ । प्राय सबैजसो देशहरुले कोरोना भाइरसको रोकथामका लागि आफ्नो भएभरको शक्ति लगाएका छन् । तर यसको औषधि पत्ता लगाउन सकेका छैनन्, जसका कारण ज्यान गुमाउने र संक्रमितहरुको संख्या बढ्ने क्रम जारी छ ।

सामान्यतया भाइरस मानिसबाट मानिसमा सर्छ । पहिले नै संक्रमित भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई पनि भाइरस संक्रमण हुन्छ । यो कुरा साँचो हुन्थ्यो भने यो धेरै खुसीको कुरा हुन्थ्यो । किनकी यसको लक्षण देखिएका मानिसलाई पहिचान गरी आइसोलेसनमा राखेर उपचार गर्दा भाइरसको नियन्त्रण सजिलै रोक्न सकिन्थ्यो ।

तर अमेरिकाको मासाचुइट्सको घटनाले भने कोरोना भाइरस मानिसबाट मानिसमा सर्छ भन्ने कुरालाई गलत सावित गरिदिएको छ । अहिले यहाँ ८२ मानिसमा यसको संक्रमण देखिइसकेको छ । जबकी यहाँका कुनै पनि व्यक्ति पहिले कोरोना संक्रमितको सम्पर्कमा थिएनन् । कोरोना संक्रमणको लक्षण पनि देखिएको थिएन । तर, अहिले मासाचुइट्समा मात्रै संक्रमितको संख्या ८२ पुगिसकेको छ । अहिलेसम्म अमेरिकाका आधा दर्जनभन्दा बढी मानिसमा पनि यस्तो कुनै लक्षण नदेखिए पनि भाइरसको संक्रमण फैलिएको पाइएको छ । अधिकारीहरुले यसअघि यो भाइरस लक्षण देखिएका मानिसबाट यो रोग सर्न सक्ने बताएका थिए ।कुनै लक्षण नदेखिएका मानिसबाट पनि यो भाइरस अरूमा धेरै सर्छ भन्ने कुरा पुष्टि भइसकेको छ

मार्च १ मा अमेरिकाको स्वास्थ्य तथा मानव सेवामन्त्री एलेक्स अजरले लक्षण नदेखिएको मानिसबाट यो रोग फैलिने जोखिम निकै कम रहेको बताएका थिए । उनले सबैलाई कसैमाथि आशंका भए उनीहरुको लक्षण हेर्न सुझाएका थिए । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पनि यस्तै बताएको थियो । केन्द्रले पनि यो भाइरस शरीरमा यसको संक्रमणपछि लक्षण देखिनुभन्दा पहिला नै सर्नसक्ने तर यो भाइरस सर्ने मुख्य कारण भने नरहेको उल्लेख गरेको थियो ।

शनिबार अमेरिकी राष्ट्रपति कार्यालयको कोरोना भाइरस रेस्पोन्स कोर्डिनेटर डा. डेबोराह बिरएक्सले अहिले कोरोना भाइरस २० वर्षभन्दा कम उमेरका मानिसमा धेरै लक्षण नदेखिनुको कारण पत्ता लगाउने प्रयास गरिरहेको बताएकी छिन् । उनले यो भाइरस लक्षण देखिएका वा नदेखिएका मानिसबाट कसरी सर्छ भन्ने कुरा थाहा पाउँदासम्म उनीहरुले धेरै मानिसलाई यो भाइरसको संक्रमण सारिसकेको हुनसक्ने बताए । त्यसैले आफूहरुले सबै अमेरिकी नागरिकलाई यो भाइरसको विस्तार रोक्न व्यक्तिगत जिम्मेवारी दिन आग्रह गरेको उनको भनाइ छ ।

कुनै संकेत विना नै सर्ने रोगको भूमिका

धेरै विज्ञहरुले सीएनएनलाई दिएको अन्तर्वार्तामा अहिलेसम्म कति प्रतिशत रोग लक्षण देखिएका मानिसबाट सर्ने र कति प्रतिशत लक्षण नदेखिएका मानिसबाट सर्छ भन्ने पत्ता नलागेको बताएका थिए । यसअघि अनुमान गरिएको भन्दा कुनै लक्षण नदेखिएका मानिसबाट पनि यो भाइरस अरूमा धेरै सर्छ भन्ने कुरा भने पुष्टि भइसकेको छ ।

‘हामीले अहिले के थाहा पाएका छौं भने लक्षण नदेखिएका मानिसबाट सर्नुले यो भाइरसको संक्रमण बढाउन निकै महत्वपूर्ण भूमिका खेल्छ’, मिन्नेसोटा युनिभर्सिटीका संक्रमित रोग अनुसन्धान केन्द्रका निर्देशक माइकल ओस्टरहोल्मले भने । उनले यस किसिमको संक्रमण रोक्न निकै कठिन हुने पनि बताए ।

दुई साताअघि एक समाचार पत्रिकामा बिल गेट्सले पनि कुनै लक्षण नदेखिएका मानिसबाट यो रोग सर्नसक्ने भन्दै त्यसबारे चिन्ता व्यक्त गरेका थिए । उनले कुनै रोग नदेखिएका मानिसबाट सरेको पुष्टि भइसकेकाले यसअघिको सार्स र मार्सजस्ता भाइरसको तुलनामा यसलाई नियन्त्रण गर्नु निकै कठिन रहेको बताएका थिए । अन्य मानिसहरु पनि कुनै लक्षण नदेखिएका मानिसबाट यो रोग सर्ने सम्भावना बढी रहेकोमा सहमत छन् । अहिले कुनै लक्षण नदेखिएका मानिसबाट नै यो भाइरसको संक्रमण बढ्दो क्रममा रहेको अन्य विशेषज्ञहरुले पनि बताउँदै आएका छन् ।

मासाचुएट्सबाट फैलिएको प्रकोप

अमेरिकामा तीन हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको प्रकोप फैलिएको छ । साथै ६८ जनाको ज्यान यो भाइरसको कारण गइसकेको छ । गत फेब्रुअरी महिनामा क्याम्ब्रिज बायोटेक्नोलोजीका तीन कर्मचारीमा भाइरसको संक्रमण देखिएको थियो । उक्त तीन कर्मचारीमा शुरुमा कुनै संकेत देखिएको थिएन । मासाचुएट्समा कसरी यो भाइरस फैलियो भन्नेबारे आफूहरु अनुसन्धानको क्रममा रहेको मासाचुएट्सको सार्वजनिक स्वास्थ्य विभागकी प्रवक्ता एन स्केल्सले जानकारी दिइन् ।

अन्तर्राष्ट्रिय अध्ययन

अन्तर्राष्ट्रिय रुपमा पनि यो भाइरसको प्रकोप कुनै लक्षण नदेखिएका वा निकै कम मात्र लक्षण देखिएका मानिसबाट फैलिएको पाइएको छ । गत मंगलबार इजरायलबाट आएका २४ जना मानिसमध्ये जर्मनीमा सात जनामा भाइरसको संक्रमण पाइएको थियो । तीमध्ये पनि चारजनामा भाइरसको कुनै लक्षण थिएन । मानिसको श्वासप्रश्वासको कारणबाट नै यो भाइरस सर्न सक्छ ।

त्यस्तै फेब्रुअरी १८ मा चीनको वुहानबाट आएका दुईजनामा जर्मनीमा कोरोना भाइरस भएको पुष्टि भएको थियो । गत आइतबार सार्वजनिक भएको एक अध्ययनले सिंगापुरमा ९१ जनामा गरिएको अध्ययनमा ४८ देखि ६६ प्रतिशतमा यो भाइरस कुनै लक्षण नदेखिएका मानिसबाट फैलिएको थियो । चीनको तियान्जिङमा पनि ६२ देखि ७७ प्रतिशतमा यो भाइरस भाइरसको लक्षण नदेखिएका संक्रमितबाट नै फैलिएको पाइएको थियो ।

तपाईको प्रतिक्रिया