विद्यालयमा पानी शुद्धीकरण मेशिन जडान

  फागुन २८, २०७६

गोरखा, फागुन २८ : गोरखाको पालुङटार नगरपालिका–४ लुइँटेलमा स्थित श्री अमरज्योति जनता माध्यमिक विद्यायलमा करिब ५० लाखको लागतमा पानी शुद्धीकरण मेशिन जडान गरिएको छ । विद्यालयमा स्वच्छ खानेपानीको अभाव हुँदै आएपछि गोरखा फाउण्डेशन नेपालको समन्वयमा पानी शुद्धीकरण मेशिन जडान गरिएको विद्यालयका प्रधानध्यापक माधवराज देवकोटाले जानकारी दिए ।

अहिले छ वटा च्याम्बर मेशिन राखिएको छ’, उनले भने, ‘एउटा मेशिनले पानीमा रहेका आइरन, एल्मुनियम, म्याग्नेसियमजस्ता पदार्थ फिल्टर गर्छ, अनि पानीलाई नरम बनाउने काम गर्छ र अर्काे मेशिनले शरीरलाई आवश्यक पर्ने लवण थप्छ ।’ मेशिनबाट प्रशोधित भएर पानीट्यांकीमा जम्मा हुने व्यवस्था मिलाइएको उनले बताए ।

प्रधानध्यापक देवकोटाका अनुसार अहिले करिब एक हजार ८०० मिटर दूरीमा रहेको धारापानी मुहानबाट विद्यालयमा पानी ल्याइएको छ । ‘मुहानबाट ल्याइएको पानी मेशिनबाट प्रशोधित हुँदै पानी शुद्धीकरण भएर ट्यांकीमा जम्मा हुन्छ’, उनले भने, ‘पानी संकलनका लागि एक हजार लिटर क्षमताको रिजर्भ ट्यांकीको व्यवस्था गरिएको छ ।’

जडान गरिएको मेशिनले एक घण्टामा करिब एक हजार ५०० लिटरसम्म पानी फिल्टर गर्नसक्ने उनले बताए । पानी शुद्धीकरण मेशिन राख्नका लागि विद्यालयले दुई लाख ५० हजारको लागतमा सुरक्षित अस्थायी घरसमेत निर्माण गरेको प्रधानाध्यापक देवकोटाले जानकारी दिए । ‘शुद्धीकरण भएको पानी विद्यार्थी तथा शिक्षकले पिउनका लागि चार वटा धारा जडान गरिएको छ’, उनले भने, ‘धाराबाट बोतलमा थापेर मात्र पानी पिउने व्यवस्था मिलाएका छाँै, तर हातमुख धुन अर्कै धाराको प्रयोग गर्नुपर्छ ।’

गोरखा फाउण्डेशन नेपालको समन्वयमा मेशिन जडान गरिएको उनले बताए । मेशिन जडानका क्रममा फाउण्डेशनले विद्यालयका तीन शिक्षकलाई वाटर पिउरोलोजिष्टसम्बन्धी एक दिने तालीमसमेत प्रदान गरेको थियो । विद्यालयमै स्वच्छ पिउनेपानीको सुविधा भएपछि विद्यार्थी, अभिभावक र शिक्षक सबै खुशी भएका छन् ।

तपाईको प्रतिक्रिया