अघि बढ्न सकेन हनुमन्ते करिडोर निर्माण

  फागुन २८, २०७६

काठमाडौं, फागुन २७ : कोटेश्वर–जडीबुटी सडकको जाम कम गर्ने उपायका रुपमा हेरिएको हनुमन्ते करिडोर निर्माण कौशलटारदेखि चार दोबाटोसम्म अघि बढ्न सकेको छैन । खोलाको अधिकार क्षेत्रमा घर र जग्गा हुँदा निर्माण अघि बढ्न नसकेको हो ।

बालकुमारीबाट मनोहरा हुँदै कौशलटारसम्मको सडक निर्माण अघि बढे पनि त्यसअघिको सडक निर्माण हुन नसकेको हो । यस सडकमा ३० मिटर क्षेत्रभित्रै घरलगायतका संरचना रहेका छन् । तिनलाई हटाएर आवश्यक स्थान खाली गराउनसके निर्माण सम्पन्न गराउन सकिने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकालले बताउनुभयो ।

यो करिडोरको निर्माण मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालय र सडक विभागले गरिरहेको छ । यी तीन निकायबीच पनि कहिलेकाहीँ समन्वयको अभाव देखिने गरेको छ । त्यस्तै, स्थानीय सरकारले जग्गा विकास योजना बनाउन थालेका छन् । उहाँले भन्नुभयो, “करिडोरको निर्माण शुरु हुनुभन्दा पहिले योजना बन्नुपर्ने भए पनि करिडोर निर्माण शुरु भएको लामो समय पछि मात्रै शुरु भएको छ ।”

वाग्मती र त्यसका सहायक नदीमा करिडोर निर्माण गर्न तीनै प्याकेजमा ठेक्का सम्झौता विसं २०७५ मा भएको थियो । आगामी साढे दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने आयोजनाले जनाएको छ । सल्लाघारीबाट खोला किनारैकिनार बालकुमारीसम्म झण्डै नौ किमी सडक निर्माण हुँदा विशेष गरी भक्तपुरवासीलाई सहज हुने विश्वास गरिन्छ ।

सो सडकमा एकदेखि दुई मिटरसम्म पैदलयात्रु मार्ग र आठ मिटर चौडा कालोपत्र सडकको निर्माण हुनेछ । करिडोर निर्माणलाई सहायक सडकका रुपमा हेरिएकाले यसले मुख्य सडकको चाप कम गर्नेसँगै नदी सफा हुने, नदी कटान र अतिक्रमण रोकिने, हरियाली क्षेत्र कायम हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया