आयोजक बाक्सिला फुटबल क्लबले उपाधि चुम्यो

  फागुन २६, २०७६

खोटाङ, फागुन २५ : जिल्लाकै सर्वाधिक ठूलो धनराशिको ‘बाक्सिला गोल्डकप’को ११ औँ संस्करणमा आयोजक बाक्सिला फुटबल क्लबले उपाधि चुमेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारस्थित स्थानीय पृथ्वी माविको खेलमैदानमा आज दिउँसो भएको फाइनल खेलमा सोल्मा स्पोट्स क्लबलाई शून्यका विरुद्ध दुई गोल गर्दै आयोजक बाक्सिला फुटबल क्लबले उपाधि चुमेको हो ।

खेलको पहिलो हाफको ३७ औँ मिनेटमा बाक्सिला फुटबल क्लबका जर्सी नम्बर–११ का सुशन तामाङले गोल गर्दै जीतका लागि खाता खोल्नुभएको थियो । त्यस्तै मध्यान्तरपछि बाक्सिला फुटबल क्लबकै जर्सी नम्बर–८ का सौरभ कार्कीले अर्काे गोल थपेपछि टोलीले ११ औँ संस्करणको उपाधि चुमेको हो ।

खेल अवधिको म्यान अफ द म्याच बाक्सिला फुटबल क्लबकै जर्सी नम्बर–५ का खेलाडी रुपेश भुजेल हुनुभएको छ । खेलमा विजयी भएसँगै बाक्सिला फुटबल क्लबले नगद रु दुई लाख ११ को साथमा गोल्डकप, मेडक र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता बनेका सोल्मा स्पोर्ट क्लबले नगद रु ९९ हजार ९११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताका सेमिफाइनलिष्ट दुई टोली साविक विजेता खारम्बु स्पोर्टस क्लब खार्मी र हलेसी तुवाचुङ स्पोर्टस् क्लबलाई नगद रु २० हजार ११÷२० हजार ११ को साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक बाक्सिला फुटबल क्लबका अध्यक्ष शिवकुमार राईले बताउनुभयो ।

मोफसलमा फुटबल खेलको व्यावसायिक विकासको लक्ष्य लिएर विसं २०६२ देखि सञ्चालन हुँदैआएको ११ औँ संस्करणमा बेष्ट प्लेयर बाक्सिलाका विकी राई र सर्वाधिक गोलकर्ता बाक्सिलाकै सुशन तामाङलाई जनही नगद रु ११ हजार १११ को साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । खेल अवधिका बेष्ट गोलकिपर बाक्सिलाकै रेम्बो चौधरी, बेष्ट डिफेण्डर सोल्माका दीपक भुसाल र बेष्ट कोच बाक्सिलाका लक्ष्मण तामाङलाई जनही नगद रु पाँच हजार ११ को साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

आयोजकले हरेक वर्ष प्रदान गर्दै आएको खेलकूद पत्रकारिता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष एवं नागरिक दैनिकका संवाददाता दमन राईलाई प्रदान गरेको छ । आयोजकले प्रदान गरेको नगद रु पाँच हजार ११ राशिको सो पुरस्कार महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्ने राईले बताउनुभयो ।

विजयी खेलाडीलाई प्रदेशसभा सदस्य राजन राई र केपिलासगढी गाउँपालिका प्रमुख कृष्णकुमार राईले संयुक्तरुपमा प्रदान गर्नुभयो । प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडीलाई नगद रु दुई हजार ११ को साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । फागुन २२ गतेबाट शुरु प्रतियोगितामा सहभागी टोलीलाई प्रोत्साहनस्वरुप जनही रु २०÷२० हजार नगदसमेत प्रदान गरिएको आयोजक बाक्सिला फुटबल क्लबका सचिव पवन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी टोलीलाई यस वर्ष प्रवेश शुल्कसमेत नलिइएको आयोजकले जनाएको छ ।

गोल्डकपमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्यतासमेत पाएको जिल्ला फुटबल सङ्घमा आबद्ध दश क्लबमध्ये आठ क्लबले मात्र सहभागिता जनाएको थियो । प्रतियोगितामा खारम्बु स्पोर्टस् क्लब, बाक्सिला फुटबल क्लब, सोल्मा स्पोर्टस् क्लब, नेर्पा स्पोर्टस् क्लब, हलेसी तुवाचुङ स्पोर्टस् क्लब, जन्तेढुङ्गा स्पोर्टस् क्लब, खोटाङ भगवती स्पोर्टस् क्लब र हलेसी खेलकूद विकास समितिको सहभागिता जनाएको हो ।

चन्दा सङ्कलन तथा दाताको सहयोगमा सञ्चालन हुँदै आएको गोल्डकपका लागि केपिलासगढी गाउँपालिकाले रु पाँच लाख आर्थिक सहयोग गरेपछि क्लबले यस वर्षको प्रतियोगिताको नाम ‘११ औँ केपिलासगढी बाक्सिला रनिङ गोल्डकप’ राखेको थियो । गोल्डकप सञ्चालन गर्न नगद रु पाँच लाखभन्दा बढी सहयोग गर्ने व्यक्ति तथा संस्थाको नाम गोल्डकपको अगाडि राख्ने निर्णय भएअनुसार यस वर्ष ‘११ औँ केपिलासगढी बाक्सिला रनिङ गोल्डकप’ राखिएको आयोजकले जनाएको छ ।

जिल्लामा फुटबल खेलको व्यावसायिक विकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रवद्र्धन गर्न ‘बाक्सिला गोल्डकप’लाई निरन्तरता दिइएको आयोजकले जनाएको छ । विगत १५ वर्षअघि शुरु गरिएको ११ औँ संस्करणको प्रतियोगिता प्रतिनिधिसभा सदस्य एवं नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विशाल भट्टराईले उद्घाटन गर्नुभएको थियो ।

१० स्थानीय तह रहेको जिल्लामा गोल्डकप सञ्चालन गर्दै आएको बाक्सिला फुटबल क्लबले जिल्लामा फुटबल खेलको विकासमा ठूलो टेवा पु¥याएको बताइएको छ । जिल्लामा निरन्तर गोल्डकप सञ्चालन गर्दै आएको बाक्सिला फुटबल क्लब जिल्लाकै एक मात्र र आधिकारिक फुटबल क्लब हो ।

तपाईको प्रतिक्रिया