वासिंटन, फागुन २४ (रासस/एएफपी) : विश्वका विभिन्न देशमा समेत गरी कोरोना भाइरसका संक्रमितको संख्या एक लाख नाघेको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ ।
संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्यांकअनुसार यस भाइरसको प्रकोपबाट संक्रमित हुने व्यक्तिको संख्या एक लाख ११३ पुगेको छ ।
उक्त विश्वविद्यालयको तथ्यांकअनुसार यस प्रकोपबाट संक्रमितमध्ये अधिकांश चीनमा नै रहेको बताइएको छ । चीनमा मात्र यसका संक्रमित करिब ८० हजारजना रहेको उक्त विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ ।
विश्वभर हाल कोरोना संक्रमितहरू एक लाखभन्दा बढी पुगेको समाचार विभिन्न सञ्चारमाध्यमले दिएका छन् । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरस संक्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ ।
अधिकारीहरूले विभिन्न देशबाट जारी गरेका सूचनाहरूको अध्ययनमा यस भाइरसको संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या शनिबारसम्म तीन हजार ५०० नाघेको छ । यस भाइरसको संक्रमण ९२ वटा देशमा फैलिएको छ ।
कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी छ हजार ७६७ जनामा कोरोना संक्रमण देखिएको शनिबार जनाइएको छ ।
कोरोना भाइरसबाट इटालीमा १९७ जनाको ज्यान गएको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । त्यहाँ बिहीबार र शुक्रबार गरी करिब ९० जनाको मृत्यु भएपछि मृतकको संख्या बढेर १९७ पुगेको बताइएको छ । त्यसैगरी गरी इटालीमा तीन हजार ९१६ जनामा यस रोगको संक्रमण भएको पाइएको छ ।
इटालीका विभिन्न २२ वटा शहरमा यसको प्रकोप देखिएको छ । इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ । सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ ।
उता संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा यस प्राणघातक कोरोना जीवाणु (भाइरस) का कारण दुई व्यक्तिको मृत्यु भएपछि यहाँ पनि यस भाइरसबाट शिकार हुनेको संख्या १६ पुगेको बताइएको छ । संयुक्त राज्य अमेरिकामा २०० सयभन्दा बढी व्यक्तिमा यस भाइरसको संक्रमण देखिएको छ ।
यस भाइरसको प्रकोपबाट स्पेनमा पनि पाँचजनाको ज्यान गएको छ । शुक्रबार प्राप्त भएको एक समाचारमा त्यहाँ पाँचको मृत्यु भएको हो । शुक्रबार प्राप्त भएको एक समाचारमा त्यहाँ यस प्रकोपबाट एकजनाको ज्यान गएको र त्यससँगै यसबाट ज्यान जानेको संख्या पाँच पुगेको हो ।
स्पेनका स्वास्थ्य अधिकारीहरूले यस भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ३६५ पुगेको छ । यहाँ पनि दिन प्रतिदिन यसका संक्रमितहरूको संख्या बढ्दै गएको छ ।
स्पेनको म्याड्रिड शहरमा नै यसका संक्रमित भेटिएका छन् । स्पेनका स्वास्थ्य अधिकारीहरूले बिहीबार मात्र त्यहाँ १०२ जना नयाँ संक्रमित भेटिएका हुन् ।
राजधानी म्याड्रिड शहरमा शुक्रबारसम्म १३७ वटा यस भाइरसका संक्रमितहरू उपचारमा रहेका छन् । उक्त शहरमा गएरातिसम्म २४ घण्टाभित्रै दुई जनाको ज्यान गएको छ ।
ती दुईमध्ये एकजना ९९ वर्षीया महिला र अर्का ७६ वर्षीय वृद्ध रहेका छन् । यहाँका अधिकारीहरूले पनि यो भाइरसले बढीजसो वृद्धवृद्धाहरूलाई शिकार बनाउने गरेको अनुभव बताएका छन् ।
यसैगरी प्राप्त समाचारमा यो भाइरसको संक्रमण नेदरल्यान्डसमा पनि देखिएको छ । नेदरल्यान्डसमा यसको प्रकोपबाट एकजना वृद्धको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
उनीहरूका अनुसार शुक्रबार मात्र नेदरल्यान्डसमा यस भाइरसबाट एकजना ८६ वर्षीय वृद्धको ज्यान गएको छ । रोटेड्यामस्थित इकाजेआ अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
नेदरल्यान्डसमा यो भाइरसको प्रकोपबाट ज्यान जानेमा उनी नै पहिलो व्यक्ति भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
शुक्रबार मात्र यहाँ ८२ जना कोरोना भइरसका संक्रमित रहेको पाइएकामा त्यो संख्या बढेर शनिबार नै १२८ पुगेको पनि बताइएको छ । यसका कारण यहाँको सरकारले विशेष सतर्कता अपनाएको पनि जनाएको छ ।
यसैबीच इरानबाट प्राप्त भएको पछिल्लो समाचारमा त्यहाँ यसको प्रकोपबाट मृत्यु हुनेको संख्या १२४ पुगेको छ । इरानी सरकारले शुक्रबार मात्र १७ जनाको ज्यान गएको घोषणा गरेको हो । योसँगै यस भाइरसबाट मृत्यु हुनेको संख्या १२४ पुगेको हो ।
इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले यो संक्रमणबाट शुक्रबार साँझसम्ममा चार हजार ७४४ जना संंक्रमित रहेका छन् । यहाँ हरेक दिन नयाँ नयाँ संक्रमित थपिँदै गएका बताइएको छ ।
यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार केही दिनमात्र यता यहाँ एक हजार २३४ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरू ठूलो संख्यामा थपिँदै गएकाले अवस्था बडो चिन्ताजनक रहेको पाइएको समाचारमा जनाइएको छ ।