‘स्पोर्टस हब’ पनि बन्दै पर्यटकीय शहर पोखरा

  फागुन २३, २०७६

कास्की, फागुन २३ : गत मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकुद (साग)का आठ खेल पोखरामा सञ्चालन भए । बिच भलिबल र भारत्तोलन बाहेकका अन्य सबै खेल यहाँको रंगशालामा खेलाइयो । पहिलोपटक अन्तरराष्ट्रिय प्रतियोगिताको आतिथ्यताको अवसर पाएको थियो ।  साग भव्य रूपमा सफल भयो ।

साग सकिएको चार दिनपछि रंगशाला भित्रको क्रिकेट मैदानमा पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट शुरु भयो । दुई हप्तासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीले आफ्नो रोमाञ्चक खेल कौशल प्रस्तुत गरे । पीपीएलपछि गत माघ ६ देखि ९ गतेसम्म नेपाल र मलेसियाबीच यहाँ एक दिवसीय तीनवटा मैत्रीपूर्ण क्रिकेट खेल सञ्चालन भए । सोही महिनाको ११ र १२ गते मार्सल आर्टस् हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनार रंगशालामै सम्पन्न भयो । स्वदेश तथा विदेशबाट गरी ६०० जना खेलाडी सेमिनारमा सहभागी बने ।

माघ २७ गतेदेखि नै  रंगशालामा अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन (आईटीएफ) को जुनियर यू–१८ टेनिसमा विभिन्न ११ देशका खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरे ।यही  फागुन ३ गते रंगशालाबाट शुरु भएको अन्तर्राष्ट्रिय म्याराथन पुनः रंगशालामा नै आएर समापन गरियो । माथि उल्लिखित प्रतियोगिता तीन महिनाको अवधिमा रंगशालामा सञ्चालन भएका अन्तरराष्ट्रियस्तरका खेल गतिविधि हुन् ।

यी बाहेक रंगशाला बाहिरसमेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद गतिविधि निरन्तर सञ्चालन हुने गर्दछन् । पोखरासँगैका अन्य पालिकाहरूमा समेत विगत एक÷दुई वर्ष यता आएर खेल क्रियाकलाप बढेका छन् । रंगशालाभित्र महत्वपूर्ण खेलका पूर्वाधार निर्माणसँगै खेल गतिविधिले समेत तीव्रता पाएको हो । यही फागुन ११ देखि १७ गतेसम्म प्याराग्लाइडिङ वल्र्ड कप छनोट खेलसमेत यहाँ नै आयोजना भयो । विभिन्न २० राष्ट्रका ९० जना खेलाडीले वल्र्ड कप छनोटमा प्रतिस्पर्धा गरे ।  बिहीबारदेखि  मोफसलको प्रतिष्ठित राष्ट्रिय अन्तर्राष्ट्रिय अन्तर क्लब आहा रारा गोल्डकप शुरु भएको छ ।

वर्षभरि नै रंगशालामा एउटा न एउटा खेल गतिविधि प्रायः सञ्चालन हुने गर्दछ । विभिन्न खेल संघ, क्लब तथा शैक्षिक संघसंस्थाका खेलकुद क्रियाकलापले यहाँ ‘स्पोर्टस हब’ बन्दै गएको खेलकर्मीहरू बताउँछन् । फुटबल, कराते, हक्की, टेनिस तथा भबिलका प्रदेश तथा जिल्लास्तरीय प्रतियोगिता तथा विभिन्न उमेर समूहका प्रतियोगिता वर्षभरि नै जसो सञ्चालन हुँदा खेलकुदको माहोल ह्वात्तै बढेको छ । गतमाघ ७ देखि यहाँकै भण्डारढीकमा प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल भएबाट प्रदेश सरकारले समेत खेल प्रतियोगिताका लागि लगानी गर्न शुरु गरेको छ ।

बढ्दो खेल गतिविधिले पर्यटकीय शहर पोखरालाई ‘स्पोर्टस हब’का रूपमा परिचित गराएको छ भने यहाँ सञ्चालन हुने प्रतियोगिता खेल्न आउने विदेशी खेलाडीहरू यहाँको सुन्दरतामा खेल्न पाउँदा असाध्यै खुशी हुने गरेका छन् । यहाँको प्राकृतिक सुन्दरताले समेत खेल पर्यटनलाई वृद्धि गरेको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल गतिविधिले पोखरालाई विश्व खेलकुदको रंगमञ्चमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेको छ ।  रंगशालाभित्र नै अधिकांश खेलको पूर्वाधार छन् भने केही निर्माणको प्रक्रियामा छन् ।

फुटबलको अन्तर्राष्ट्रिय रंगशाला निर्माणको अन्तिम चरणमा छ । चार करोड लगानीमा ब्याडमिन्टन हल निर्माण गरिएको छ । बहुउद्देस्यीय कभर्ड हल, बास्केटबल, भलिबल तथा टेनिस कोर्ट, ह्याडबल एकेडेमी तथा आर्चरीका पूर्वाधार एकै थलोभित्र रहेकाले समेत रंगशालामा प्रत्येक दिन जसो खेल गतिविधि सञ्चालन हुने गर्दछ । आवश्यक पूर्वाधार भएका कारणले खेल गतिविधिसमेत बढेको र खेलाडीले राम्रोसँग अभ्यास गर्ने मौका पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेशकुमार गुरुङ बताउँछन् ।

सरकारी तथा निजी क्षेत्रको समेत ध्यान खेलकुद विकासमा केन्द्रित भएकाले पूर्वाधारसँगसँगै प्रतियोगिता बढेकाले पोखरालाई खेलकुद शहरका रूपमा चिनाउने काम गरेको उनले बताए । निर्माणाधीन फुटबल रंगशाला यहाँको गौरव रहेकाले यसबाट आगामी दिनमा धेरै प्रतियोगिताको ढोका खुल्ने उहाँको भनाइ छ ।

सदस्य गुरुङले निर्माणाधीन पूर्वाधारको संरक्षणमा पोखरेलीले विशेष ध्यान दिनुपर्ने बताउँछन् । उनले भने, ‘यहाँ रंगशालामा जस्तो एकै थलोमा अधिकांश खेल पूर्वाधार अन्यत्र कहीँ पनि छैनन्, यो हाम्रो लागि ठूलो सौभाग्य हो । यसको दीर्घकालीन संरक्षण गर्नु पोखरेलीको दायित्व हो ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले मुख्य खेल पूर्वाधार रंगशालाभित्र निर्माण भएको बताउँदै यसै वर्षभित्र पौडीपोखरी र सुटिङको पूर्वाधार निर्माण थालनी हुने जानकारी दिए ।

खेलकुद विकासका लागि पहिलो प्राथमिकता पूर्वाधार रहेकाले आवश्यक पूर्वाधार बनेपछि खेल क्षेत्रले विकासको फड्को मार्ने उहाँको भनाइ छ ।

रंगशालाभित्र क्रिकेट मैदान पूर्वाधार निर्माणका लागि चालू वर्षमा संघ सरकारले तीन करोड तथा प्रदेश सरकारले दुई करोड बजेट विनियोजन गरे पनि हालसम्म काम अघि बढ्न नसकेकामा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतमले चिन्ता व्यक्त गरे ।

क्रिकेटका अन्तर्राष्ट्रिय खेल प्रतियोगिता आयोजना हुन थाले पनि अहिलेसम्म आधारभूत पूर्वाधारसमेत नबन्नु दुःखद् भएकाले सरोकारभएकाहरूले ढिलाइ गर्न नहुने उनी बताउँछन् ।

आवश्यक पूर्वाधार निर्माण भएको खण्डमा हाल पछाडि परेको क्रिकेट खेलले समेत यस क्षेत्रमा विकासको गति लिनेमा पोखरेलीले विश्वास लिएका छन् ।

तपाईको प्रतिक्रिया