धौलागिरि अञ्चल अस्पतालमा आइसोलेसन कक्ष स्थापना

  फागुन २३, २०७६

गलकोट, फागुन २३ :  विश्वभर चुनौतीका रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखेर धौलागिरि अञ्चल अस्पताल बागलुङमा आइसोलेसन कक्ष स्थापना भएको छ ।

सो भाइरसको संक्रमण बढ्दै गएमा धौलागिरिकै ठूलो अस्पतालमा सम्भावित बिरामी आउनसक्ने भन्दै दुई श्ययाको सो कक्ष स्थापना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए ।

शंकास्पद बिरामीलाई विशेष निगरानीमा उपचार तथा परामर्शका लागि आइसोलेसन कक्ष तयार गरिएको उनले बताए । उनले भने, ‘आइसोलेसन कक्षमा अहिले दुई श्ययाको छ । यदि  संक्रमणका बिरामी देखा परेमा बढ्न  अन्य कक्ष थप हुन्छ ।’

विशेषगरी ज्वरो, रुखा र खोकीका बिरामी अस्पतालमा आउनासाथ उच्च सतर्कताका साथ उपचार तथा परामर्श गरिने अस्पतालले जनाएको छ । निजी अस्पताललाई पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर आइसोलेसन कक्षको तयारी गर्न प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले आग्रह गरेका छन् । उनले  जिल्लामा सार्वजनिक सभा, समारोह, मेला उत्सव नगर्न आह्वान गरिएको जानकारी दिए  । सरोकारवालासँगको बैठकले जिल्लामा सभा समारोह, भोज भतेर, वार्षिकोत्सव, महोत्सव, महायज्ञ, खेलकुद कार्यक्रमहरू नगर्न आग्रह गर्ने निर्णय गरेको  छ ।

गण्डकी प्रदेश कार्यालय स्वास्थ्य कार्यालयले सो भाइरसको संक्रमण फैलिन नदिनका लागि तयारी गर्न फागुन २९ र ३० गते दशवटै पालिका प्रमुखहरूलाई भेला गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाले जानकारी दिए । भाइरसबाट बच्न  हात नमिलाउन बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले आग्रह गरे । उनले नियमित साबुन पानीले हात धुने, घर पालुवा पशुपन्छीको सम्र्पकबाट टाढा रहने, हाछ्यु गर्दा मुख छोप्नुपर्ने तथा मासु तथा अण्डा राम्ररी पकाएर मात्र खानुपर्ने बताए ।

तपाईको प्रतिक्रिया