फिस्लिङ ‘ए’ टिम च्याम्पियन

  फागुन २३, २०७६

काठमाडौं, २२ फागुन : नेपाल र्‍याफ्ट एन्ड कायक क्लब फिस्लिङ ‘ए’ चौथो राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिताको टिम च्याम्पियन भएको छ ।आठौं पर्वतीय खेलकुद महोत्सवअन्तर्गत नेपाल र्‍याफिटङ एन्ड क्यानोइङ संघको आयोजना तथा सिन्धु पर्यटन व्यवसायी संघको सहयोगमा सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोसीमा भएको प्रतियोगितामा कुल १ हजार पूर्णाङ्कमा ९५१ अंकसाथ फिस्लिङ ‘ए’ विजेता भयो ।

तीनदिने प्रतियोगितामा कप्तान सुरज गुरुङ, सविन गुरुङ, दिपेश गुरुङ, शक्ति गुरुङ र रविल मियासम्मिलित टिमले स्प्रिन्टमा विजेता भई १०० अंक, हेड टु हेड विधामा विजेता भई २०० अंक, स्लालम विधामा विजेता भई ३५० अंक तथा डाउनरिभर रेसमा तेस्रो भई ३०१ अंकसहित कुल ९५१ अंक बटुलेको कान्तिपुरमा उल्लेख गरिएको छ ।

काठमाडौंको नेपाल कायक क्लब स्प्रिन्ट र हेड टु हेड विधामा दोस्रो, स्लालममा चौथो र डाउनरिभर रेसमा विजेता भई क्रमशः ९२, १८४, २८७ र ३५० अंक गरी कुल ९१३ अंकसाथ दोस्रो भयो । कुल ८७६ अंक प्राप्त गरेको कास्किको प्याडल नेपाल टिम तेस्रो भयो । विजेताले ४० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाए । तेस्रो टिमले १५ हजार प्राप्त गर्‍यो ।

आठौं राष्ट्रिय कायक स्लालमतर्फ चितवनका मोहन रानाले ११४.१० अंकसाथ विजेता भए । उनले १५ हजार पुरस्कार पाए । दोस्रो भएका उदयपुरका डम्बरबहादुर पूर्वाछानेले ११९.६७ अंक पाए । उनले १० हजार प्राप्त गरे । तेस्रो स्थानमा धादिङका रन्जन कँडेल रहे । उनले १२१.५२ अंक प्राप्त गर्दै ५ हजार पुरस्का पाए । स्पर्धामा ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

तपाईको प्रतिक्रिया