तरुण दलले कालोबजारी र मूल्यवृद्धिको खबरदारी गर्ने

  फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले कोरोना भाइरस (कोबिड–१९)को सम्भावित सङ्क्रमणको हल्लासँगै बजारमा देखिएको कालोबजारी र मूल्यवृद्धिको खबरदारी गर्ने जनाएको छ । काँग्रेसको तरुण विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारीले आज सञ्चारकर्मीसँग कुरा गर्दै बजारमा देखिएको कालोबजारी र मूल्यवृद्धिप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “सर्वसाधारणका लागि अत्यावश्यक सामग्रीको पर्याप्त आपूर्तितर्फ सरकारले गम्भीरता देखाएन भने जनताको अधिकारका लागि हाम्रा तरुण युवाले खबरदारी गर्नेछन् ।” उहाँले कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न आवश्यक चिकित्सकीय उपकरण र औषधिको तयारीका लागि सरकारलाई आग्रह गर्दै कोरोना भाइरसको जोखिमबारे जनस्तरसम्म जनचेतना फैलाउन तरुण युवा परिचालन हुने बताउनुभयो ।

केन्द्रीय सदस्य भण्डरीले कोरोना सङ्क्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान पार्टी र आबद्ध संस्थाहरुमार्फत विविध ढङ्गले अघि बढाइने बताउनुभयो । तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले पार्टीको निर्देशनबमोजिम देशभरका शाखाहरुले सबै जिल्लामा कोरोना भाइरसको जोखिमबारे जनचेतना फैलाउन परिचालन हुने बताउँदै कालोबजारी नियन्त्रण गर्न जनताका पक्षमा हस्तक्षेपसम्म गर्ने चेतावनी दिनुभयो ।

काँग्रेसले कोरोनाको सङ्क्रमणबारे विश्व स्वास्थ्य सङ्गठनले गराएको सचेतता, सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर पार्टी एवं पार्टीसँग आबद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभालगायतका कार्यक्रम बुधबारदेखि लागू हुने गरी अर्को सूचना नगरिएसम्मलाई स्थगित गरिसकेको छ ।

तपाईको प्रतिक्रिया