पुलिस क्लबले जित्यो उपाधि

  फागुन २२, २०७६

कोहलपुर, २१ फागुन : छैठौँ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेकोे छ । बाँकेको नेपालगञ्ज कबर्डहलमा आज भएको फाइनल खेलमा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लबलाई तीन शून्यको सोझो सेटमा हराउँदै पुलिसले उपाधि कब्जा गरेको हो । उपाधि जीतेसँगै पुलिसले रु दुई लाख नगदसहित मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ ।

यो जीतसँगै नेपाल पुलिसले पिएम कपमा दुई संस्करणको उपाधि हात पारेको छ भने उपाधिमा ह्याट्रिक गर्ने एपिएफको सपना पूरा हुन सकेन । फाइनलमा पुलिसले २५–१६, २५–१७ र २५–१७ को सोझो सेटमा एपिएफलाई स्तब्ध पारेको हो । उपबिजेता बनेको एपिएफले १ लाखमा चित्त बुझाउनु परेको छ ।

आज नै भएको अर्को खेलमा न्यू डायमण्डलाई तीन शून्यको सोझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मीले तेस्रो स्थान हात पारेको छ । आर्मीले २५–२१, २५–२० र २५–२० को सेटमा न्यू डायमण्डलाई पराजित गर्दै तेस्रो हुँदा ५० हजार प्राप्त गरेको छ । विजयी टिम र उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवालले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो । बाँके जिल्ला भलिबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा पाँच घरेलु टिम सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया