सामाजिक सुरक्षा भत्ता घरदैलोमा बाँड्दै बैंक

  फागुन २२, २०७६

दमौली, २२ फागुन : तनहुँको दमौलीमा शाखा कार्यालय रहेका कतिपय बैंकले घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । व्यास नगरपालिकाका वडामा सो भत्ता वितरणको जिम्मा पाएको प्रभु र महालक्ष्मी विकास बैंकले घरदैलोमा नै पुगेर भत्ता बापतको रकम सेवाग्राहीलाई वितरण गरेका छन् । अझै कतिपय बैंकले शाखामा नै बोलाएर भत्ता वितरण गर्ने गरेका छन् ।

प्रभु बैंकले व्यास नगरपालिका–५ को समन्वयमा भत्ता बापतको रकम वितरण गरेको छ । उसले वडाको तीन ठाउँबाट ४१३ लाभग्राहीलाई भत्ता वापतको रकम वितरण गरेको बैंकका क्लष्टर हेड राजु रानाले जानकारी दिए । उनका अनुसार वडा कार्यालयबाट २४३, रानीटारी सामुदायिक भवनबाट १०५ र चिन्तुटार दरै समाजबाट ६५ ले भत्ता बुझेका छन् ।

ज्येष्ठ नागरिकलाई भत्ता लिनका लागि सदरमुकाम दमौलीसम्म आउन नपरोस् भनेर घरदैलोमा नै भत्ता वितरणको व्यवस्था मिलाइएको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । ज्येष्ठ नागरिकलाई दमौलीसम्म पुगेर भत्ता बुझ्न गाह्रो हुने भएकाले घरदैलोबाटै वितरणको व्यवस्था मिलाएका हौँ, उनले भने, ‘घरदैलोमा नै भत्ता बुझेपछि ज्येष्ठ नागरिक पनि खुशी भएका छन् ।’ वडाध्यक्ष श्रेष्ठका अनुसार एकल महिलालाई चौमासिकबापतको आठ हजार र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई १२ हजारका दरले भत्ता वितरण गरिएको छ ।

घरदैलोमै भत्ता बुझेपछि व्यास नगरपालिका–५ रानीटारीका पदमपाणी अधिकारीले खुशी व्यक्त गरे । ‘दमौली पुगेर बैंकमा लाइन बसेर भत्ता बुझ्न गाह्रो हुन्थ्यो, वडा कार्यालयले बैंकसँग समन्वय गरेर घरदैलोमा नै भत्ता दियो’, उनले भने, ‘यसले ज्येष्ठ नागरिकलाई एकदमै सजिलो भयो ।’ प्रभु बैंक दमौली शाखाले व्यास नगरपालिका ३, , ५ र १० मा सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा पाएको छ । शाखाले घरदैलोमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको जनाएको छ ।

यसैगरी महालक्ष्मी विकास बैंकले व्यास नगरपालिका–६ शिशाघाटमा भत्ताबापतको रकम वितरण गरेको छ । वडा कार्यालयको सहकार्यमा ५९२ लाभग्राहीमध्ये ३४२ लाई भत्ता वितरण गरिएको बैंकका शाखा प्रमुख सुदीप न्यौपानेले जानकारी दिए । उसले व्यास नगरपालिका–६ र ९ मा भत्ता वितरणको जिम्मा पाएको छ । व्यास नगरपालिका–६ का अध्यक्ष सूर्यभक्त भण्डारीले भत्ता लिनका लागि दमौली जानुपर्ने र लाइन बस्नुपर्ने अवस्था रहेकोले घरदैलोबाटै भत्ता वितरणको व्यवस्था मिलाइएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया