कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्छ : नेपाल

  फागुन १९, २०७६

धनगढी, १९ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता प्रक्रियामा भएको ढिलाइ र कमीकमजोरी प्रति आत्मआलोचना गर्दै सच्चिएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

नेकपा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा आज सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले भन्नुभयो, “पार्टीका विद्यमान कमिटीलाई मिलाएर वैज्ञानिक आधारमा एकता प्रक्रियामा गएको भए एकता प्रक्रियामा समस्या आउने थिएन ।” पार्टीलाई कसैले विघटनको दिशामा जान्छ भनेर सोचेको भए उसको सपना पूरा नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो पार्टीलाई सुदृढ गर्नेबाहेक विकल्प छैन ।”

उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनचाहनाअनुसार तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र एक भएको उल्लेख गर्दै जनताले दिएको अभिभारा पूरा गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । वर्तमान अवस्थामा देशभित्र र बाहिरका शक्तिले सरकारमाथि चुनौती खडा गरिरहेका उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टी एकताको कामलाई कमजोर पार्ने काम स्वीकार्य हुँदैन ।”

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको दृढ इच्छाशक्तिले दुई पार्टीबीचको एकता सम्भव भएकाले भेलामा पार्टीको आलोचना नभई नीति विचारमा बहस चलाउनुपर्ने बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीको मर्म र भावनाअनुसार नेता कार्यकर्ता अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले गरेका काम जनता समक्ष पु¥याउने काममा सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । सो पार्टीका प्रदेश इञ्चार्ज भीमबहादुर रावलले विधि पद्धति र प्रक्रियाबाट पार्टी चल्नुपर्नेमा जोड दिनुभयो । भेलामा नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापा, नेता खगराज भट्ट, लक्ष्मणदत्त जोशी, भानुभक्त जोशी लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया