सरस्वती क्लबका कप्तान दीपेशलाई दुई वर्ष प्रतिबन्ध

  फागुन १४, २०७६

काठमाडौँ, १४ फागुन : अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती युवा क्लबका कप्तान दीपेश श्रेष्ठलाई दुई वर्ष फुटबल खेल्न प्रतिबन्ध लगाएको छ । उनलाई प्रतिबन्धसँगै ५० हजार जरिवाना गरिएको छ ।

एन्फाले आज विज्ञिप्ति जारी गर्दै हालै सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत हिमालयन शेर्पा क्लबसितको खेलमा सरस्वतीका कप्तान दीपेशले मिलेमतो गरेको आरोप लगाएको छ । उनलाई आजको मितिदेखि खेल्न प्रतिबन्ध लगाइएको हो ।

दीपेशले प्रतियोगिता नियमावली विपरीत काम गरेको भन्दै एन्फाले कारवाही गरेको हो । हिमालयनसितको खेलमा दीपेशले मिलेमतो गरेको आशंका गरिँदै आएको थियो । सरस्वतीले उक्त खेलमा हिमालयनलाई ४–३ गोलले पराजित गरेको थियो । प्रतियोगिताभर सरस्वतीले जितेको त्यो मात्र एउटा खेल थियो ।

‘ए’ डिभिजन लिगमा सरस्वती एउटामा जित, एउटामा बराबरी तथा ११ खेलमा हारका साथ रेलिगेसनमा पर्दै डिभिजन ‘बी’ मा झरेको थियो । दीपेश हाल धगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम टोलीबाट खेलिरहेका छन् ।

यसैगरी हिमालयनका टोली ब्यवस्थापक विजेन्द्र पुडासैनीलाई तीन महिनाका लागि निलम्बन गरिएको छ । उनलाई ३० हजार जरिवाना गरिएको छ । एन्फाले हिमालयनका गोलकिपर मिनबहादुर बस्नेतलाई सुध्रिने मौकासहित चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया