रामजानकी शोभायात्रा हुने

  फागुन १४, २०७६

काठमाडौँ, १४ फागुन : नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन र मिथिलाको कला संस्कृति उजागर गर्ने उद्देश्यले ‘संस्कृति बचाऔँ, पर्यटन भित्र्याऔँ’ अभियानअन्तर्गत श्री रामजानकी शोभायात्रा हुने भएको छ ।

मिथिला संस्कृति समाज नेपालले आज पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी गराएको हो । शोभायात्रा आगामी वैशाख २० गतेदेखि झापाको गौरीगञ्जबाट शुरु भई मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा हुँदै मकवानपुरको हेटौँडामा सम्पन्न हुने समाजका सचिव राधेश्याम विश्वकर्माले जानकारी दिए ।

जिल्लाका सदरमुकाम वा शहरमा समितिद्वारा शोभायात्राको स्वागत गर्न समारोह आयोजना गरिने जारी विज्ञप्तिमा उल्लेख छ । अभियानमार्फत संस्कृतिको संरक्षण गर्ने कार्यमा योगदान पु¥याएकालाई सम्मान गरिनेछ । अभियानका क्रममा शोभायात्रामा कलाकारले मिथिला संस्कृतिसँग सम्बन्धित विभिन्न गीत, संगीत तथा भजनकीर्तन गरिनेछ ।

पत्रकार सम्मेलनमा श्रीराम हनुमान अराधना मण्डल नेपालका संयोजक किशोरी महतोले यस अभियानबाट नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने र मिथिलाको कला संस्कृतिको प्रचारप्रसार हुने बताए । समाजका अध्यक्ष वीरेन्द्र ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा मधेशी पत्रकार समाज नेपालका अध्यक्ष मोहन सिंह, मधेशी महिला समाजका अध्यक्ष रिना साहलगायतले शोभायात्राको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया