सामाजिक सुरक्षा नागरिकको मौलिक हक : अर्थमन्त्री

  फागुन ११, २०७६

काठमाडौं, ११ फागुन : अर्थमन्त्री डा युवराज खतिवडाले बिमा योजनामा आधारित सामाजिक सुरक्षामा जनतालाई समेट्न सकिएमा सबैखाले सामाजिक सुरक्षा योजना सफल हुने बताउनुभएको छ ।

राष्ट्रिय बिमा संस्थानको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा नागरिकको मौलिक हक हो भनिएको छ, बिमा योजना योगदानमा आधारित सामाजिक सुरक्षा हो, यसमा बढीभन्दा बढी नागरिकलाई ल्याउन सकियो भने सबैलाई सामाजिक सुरक्षा भनेर घोषणा गरिएको सर्वव्यापी लक्ष्य र अवधारणा पूरा हुन्छ ।”

अर्थमन्त्री खतिवडाले भन्नुभयो, “अहिले मुलुकमा कूल जनसङ्ख्याको २२ प्रतिशतमा जीवन बिमा पुगिसकेको छ । बिमाको दायरा अझै बढाउन नागरिकको पहँुच विस्तार गर्नुपर्छ, जसको पहुँच वित्तीयरुपमा पुग्दैन उसलाई सरकारले सहयोग गर्छ, निरपेक्ष गरिबीको रेखामुनि चरम गरिबिमा रहेकालाई बिमाको प्रिमियम तिर्न पैसा पुग्दैन भने त्यसलाई सरकारले सहयोग गर्छ ।

चरम गरिबीमा रहेका परिवारको सङ्ख्या करिब १६ लाख ५० रहेको जानकारी दिँदै उहाँले सरकारले अहिले एक परिवारले तीन हजार ५०० मा वार्षिक एक लाख बराबरको सुविधा प्राप्त गर्ने गरी व्यवस्था मिलाइकामा त्यो सुविधा गरिबीको रेखामुनि रहेकालाई निःशुल्क गर्ने तयारी रहेको घोषणा गर्नुभयो ।

“त्यो निःशुल्क गरेपछि एकैपटक १६ लाखभन्दा बढी परिवारका ७०÷७५ लाख व्यक्ति बिमाको दायरामा आउनुहुन्छ, हामीले अघि बढाएको बिमाबाट पनि गरिबी निवारणमा योगदान पुग्नेछ, बिमा संस्थानबाट क्षतिपूर्तिकको छिटो भुक्तानी भएका कार्यक्रम विस्तार हुन सहयोग पुग्ने छ”, अर्थमन्त्री खतिवडाले भन्नुभयो ।

“ठूला र धनी वर्गलाई मात्र हेर्ने होइन, सानालाई बेवास्ता गर्दा सरकारले अघि बढाएको बिमा विस्तारमा सहयोग पुग्दैन, बिमा विस्तार हुदैन, पुरानो संस्थानलाई नयाँ ढाँचामा चलाउन प्रयास गरौँ”, उहाँले भन्नुभयो । अध्यक्ष गङ्गाराम कँडेलले बिमा क्षेत्रमा विश्वसनीय संस्थाका रुपमा प्राप्त गरिरहेको छविलाई थप प्रभावकारी तुल्याउन संस्थालाई प्रविधिमैत्री र समयसापेक्ष तुल्याउन भइरहेका प्रयासबारे जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया