राम्रा कार्यक्रमलाई निरन्तरता दिन प्रदेश प्रमुख कलौनीको आग्रह

  फागुन ०३, २०७६

सुर्खेत, ३ फागुन : कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले राम्रा कार्यक्रमलाई निरन्तरता दिन प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रदेश सरकारको दोस्रो वार्षिकोत्सवका अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै समयमै बजेट खर्च गर्न सक्ने गरी कार्ययोजना बनाउन आग्रह गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा सबैको सुझाव लिनसके कार्यान्वयनमा सजिलो हुने बताउनुभयो ।

प्रदेश प्रमुख कलौनीले प्रदेश संरचना नौलो भएकाले साधन स्रोत, भौतिक पूर्वाधार र आवश्यक कानून अभावका कारण केही बिलम्ब हुनु स्वभाविक भएको बताउनुभयो । “आफ्नो जग आफँै खडा गर्दै अघि बढ्नुपरेको छ, यस्तो अवस्थामा सोचेजस्तो काम गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “तैपनि प्रदेश सरकारले जिल्ला–जिल्लामा आफ्ना संरचना स्थापना गरेर जनताको अपेक्षाप्रति गाम्भीर्यता देखाएको छ, जुन प्रशंसनीय छ ।” समयमै बजेट खर्च गरेर आफ्नो वार्षिक लक्ष्य हासिल गर्न सरकारलाई उहाँले सुझाव दिनुभयो । सबैभन्दा पहिले प्रदेशको नाम र राजधानीको सर्वसम्मत टुङ्गो लगाएर अनुकरणीय काम गर्न सफल भएकामा प्रदेश प्रमुख कलौनीले सरकारको प्रशंसा गर्नुभयो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले ‘समृद्ध कर्णाली ः सुखारी कर्णालीवासी’ बनाउने दीर्घकालीन सोचलाई सार्थक तुल्याउन सामाजिक सुरक्षा, पूर्वाधार विकास र सुशासनका आधार निर्माण गरेको जानकारी दिनुभयो । उहाँले कर्णालीको विकास मोडल अन्य प्रदेशभन्दा फरक हुन आवश्यक रहेको भन्दै विज्ञ समूहलगायतका सरोकारवालाको सुुझावका आधारमा योजना निर्माण तथा कार्यान्वयन भइरहेको बताउनुभयो ।

“कर्णालीको विकास प्रदेश सरकारको लगानीबाट मात्र सम्भव छैन्, यसका लागि निजी लगानीकर्ता एवं विकास साझेदारको लगानी भित्र्याउन चाहन्छौँ”, उहाँले भन्नुभयो, “प्रदेशभित्रका ठूला आयोजनाको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि विदेशी निर्माण कम्पनीलाई नेपाल सरकारमार्फत अनुरोध गरेका छौँ ।” प्रदेश सरकारले दुई वर्षको अवधिमा कानूनी, साङ्गठनिक संरचना निर्माण एवं जनशक्ति व्यवस्थापन गरिसकेकाले बाँकी तीन वर्ष पूर्वाधार निर्माणमा केन्द्रित हुने मुख्यमन्त्री शाहीको भनाइ थियो । विसं २०७४ फागुन ३ गते नियुक्त हुनुभएका मुख्यमन्त्री शाहीले फागुन ६ गते मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।

समारोहमा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले प्रदेश सरकारले सङ्घीय व्यवस्थाको जग हाल्ने काम गरेको बताउनुभयो । उहाँले सरकारलाई आवश्यक पर्ने कानून निर्माण गर्ने, सरकारका कामको निगरानी गरेर एवं सल्लाह, सुझाव दिएर सरकारलाई प्रदेशसभाले सहयोग गर्दै आएको बताउनुभयो । कर्णाली प्रदेशसभामा विपक्षी दलका नेता जीवनबहादुर शाहीले चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा ७.४६ प्रतिशत मात्र बजेट खर्च भएको भन्दै कर्मचारी हुँदाहुँदै काम गर्न किन नसकेको भनी प्रश्न गर्नुभयो । प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया