कोरोनाका कारण टोकियो ओलम्पिक स्थगित नभएको दाबी

  फागुन ०१, २०७६

टोकियो, १ फागुन : जापानको टोकियोमा आयोजना गर्न लागिएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित नभएको दाबी गरिएको छ ।

कोरोना भाइरसको संक्रमण थप फैलिनसक्ने भएकाले प्रतिगोगिता स्थगित भएको हल्ला गलत भएको आयोजकहरूले बताएका छन् ।

उनीहरूले भनेका छन्, “कोरोना भाइरसको संक्रमणको खतरा देखाएर यो ओलम्पिक प्रतियोगिता न त स्थगित हुन्छ, न त पछाडि सर्छ, यो पूर्वनिर्धारित समयमै हुन्छ ।”

ओलम्पिक प्रतियोगिताको आयोजक समितिका अध्यक्ष योशिरो मोरीले पत्रकारहरूसँग बिहीबार भन्नुभयो, “म यो स्पष्ट पार्न चाहन्छु कि टोकियो ओलम्पिक प्रतियोगिता स्थगित गर्ने वा पछाडि सार्नेगरी केही काम हुनेछैन ।”

जापानका पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका मोरीले प्रतियोगिताको तयारीका बारेमा छलफल गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको दुईदिने बैठक शुभएको पनि जानकारी दिनुभयो ।

आयोजक समितिका अध्यक्ष मोरीले सरकार र सरोकारवाला पक्षहरूसँग आफूहरूले काम गरिरहेको पत्रकारहरूलाई बताउनुभयो ।

आईओसी समन्वय आयोगका अध्यक्ष जोन कोस्टले पनि कोरोना भाइरसको संक्रमणको समस्या ‘अनपेक्षित विषय’ भएको बताउँदै यो तत्काल समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

कोरोनासम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी सरकार र अन्य सरोकारावालाहरूको भएकाले त्यसमा ओलम्पिक आयोजकले चिन्ता लिनु नपर्ने उहाँको भनाइ छ ।

जापानमा अहिलेसम्म कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ भने अरू २४८ जना संक्रमित भएको जापानी अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् ।

“ओलम्पिकका आयोजकहरूले निर्धारित समयमै टोकियो ओलम्पिक हुन्छ,” स्थगित हुँदैन भन्दै दाबी गरेको यो तेस्रो पटक हो ।

कोरोना भाइरसका कारण प्रतियोगिता स्थगित हुने हल्ला पटक पटक चलेपछि उनीहरूले स्थगित नहुने र पछाडि पनि नसर्ने भन्दै पटक पटक स्पष्टीकरण दिनु परेको छ ।

हरेक चार चार वर्षमा हुने ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिता यस वर्ष आगामी जुलाई २४ मा उद्घाटन भएर अगस्ट ९ तारिखका दिन सकिने गरी तय भएको छ ।

तपाईको प्रतिक्रिया