ओमानद्वारा नेपाल आठ विकेटले पराजित

  माघ २६, २०७६

काठमाडौं, २६ माघ : आइसिसी विश्वकप क्रिकेट लिग दुईमा ओमानले नेपाललाई आठ विकेटले पराजित गरेको छ । ओमानले नेपाललाई लगातार दोस्रो पटक हराएको हो । यसअघि ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले पराजित गरेको थियो । ओमानका अगाडि नेपाली बलर निरही बनेपछि ओमान सहजै विजयी भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ओमानसामु जितका लागि २५० रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ५० ओभर पूरै खेल्दै आठ विकेटको क्षतिमा २४९ रन बनाएको थियो । दुई सय ५० रनको विजय लक्ष्य ओमानले ४७ दशमलव दुई ओभरमा मात्र दुई विकेट गुमाएर पूरा ग¥यो ।

ओमानका लागि अकिब इलियासले शतकीय पारी खेल्नुभयो । उहाँले १०८ बल खेल्दै एक छक्का र १२ औकाको मद्दतमा अविजित १०९ रन बनाउनुभयो । पच्चीस दशमलव पाँच ओभरमा आरिफ शेखले अकिबको क्याच छोड्नु नै नेपालका लागि घातक सावित भयो ।

यस्तै जेशन मक्सुदले अविजित ६८ रनको योगदान दिनुभयो । दुबै जनाले १६७ रनको साझेदारी गर्नुभयो । यसैगरी खवर अलीले ४१ तथा जितिन्दर सिंहले २३ रन बनाउनुभयो । बलिङतर्फ नेपालका कुशल मल्ल र सुशन भारीले एक एक विकेट लिनुभयो ।

यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले ४८ रनको साझेदारी गर्नुभयो । अमेरिकासितको खेलमा तीन रनमै पभेलियन फर्किनुभएका सुवासले २२ रन बनाउनुभयो । यस क्रममा उहाँले एक चौका हान्नुभयो । ज्ञानेन्द्रले अर्धशतकीय पारी खेल्नुभयो । अमेरिकासितको खेलमा २१ रन मात्र बनाउनुभएका ज्ञानेन्द्रले उत्कृष्ट खेल प्रदर्शन गर्नुभयो । उहाँले ५६ रन बनाउनुभयो । मल्लले ७६ बल खेल्दै एक छक्का तथा छ चौकासमेत प्रहार गर्नुभयो । पारस खड्काले ३४ बलमा ३८ रन बनाउनुभयो । यसमा उहाँको एक छक्का र छ चौका सामेल थियो ।

यस्तै विनोद भण्डारीले पाँच चौकाको मद्दतमा ३५ रन बनाउनुभयो । उहाँ रन लिने क्रममा आउट हुनुभयो । शनिबार अमेरिकासितको खेलमा विश्व कीर्तिमान बनाउनुभएका कुशल मल्लले दुई छक्का र दुई चौका प्रहार गर्दै २८ रनको योगदान दिनुभयो । आरिफ शेखले २८ रन तथा करन केसीले १० रन बनाउनुभयो । सन्दिप लामिछानेले अविजित १० तथा आजको खेलमा डेब्यु गर्नुभएका कमलसिंह ऐरीले अविजित नौ रन बनाउनुभयो ।

बलिङतर्फ ओमानका अकिब इलियासले चार तथा मोहमद नदिमले तीन विकेट लिनुभयो । सतकीय पारीका साथै चार विकेटसमेत लिनुभएका ओमानका अकिब प्लेयर अफ दी म्याच घोषित हुनुभयो ।

ओमान जितसँगै लिगको शीर्ष स्थानमा उक्लेको छ । हालसम्म खेलेको नौ खेलमध्ये सातमा जित तथा दुईमा हारका साथ ओमानले १४ अङ्क बटुलेको छ । अमेरिका १२ अङ्कसहित लिगको दोस्रो स्थानमा झरेको छ । नेपालले भने हालसम्म खेलेको तीन खेलमा दुईमा हार तथा एकमा जित निकाल्दै दुई अङ्क जोडेको छ ।

नेपाल लिगको छैटौँ स्थानमा छ । अब नेपालले अन्तिम खेल बुधबार अमेरिकासित खेल्नेछ । आइसिसी विश्वकप क्रिकेट लिग दुईमा नेपालसहित, अमेरिका, ओमान, स्कटल्याण्ड, नामिविया, युनाइटेड अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी रहेका छन् ।

तपाईको प्रतिक्रिया