रुपन्देही, २४ माघ : लुम्बिनीमा अन्तरराष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्य महोत्सव आजदेखि शुरु भएको छ ।
प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा आयोजित महोत्सवको उद्घाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बुद्ध दर्शनलाई समाजसँग जोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले बुद्ध दर्शन आफैँमा जीवनपद्धतिको रुपमा रहेकाले समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन यसलाई समाजसँग जोड्नुपर्ने बताउनुभयो ।
ज्ञानका माध्यमबाट शान्ति प्राप्त गर्ने सशक्त माध्यम बुद्ध दर्शन रहेको बताउँदै उहाँले बुद्ध दर्शनले नै दुनियालाई शान्तिको बाटोमा हिडाउने बताउनुभयो । उहाँले भन्नुभयो, “यसकारण लुम्बिनीलाई विश्वमै शान्ति चाहानेका लागि पवित्र क्षेत्रको रुपमा लुम्बिनीलाई स्थापित गर्न सकिन्छ ।”
सरकारले लुम्बिनीको बृहत्तर विकासका विषयमा छलफल गर्दा जनतामाझ भ्रम सिर्जना गर्ने काम भइरहको बताउँदै मुख्यमन्त्री पोखरेलले अहिले जुन अवस्थामा लुम्बिनीलाई राखिएको त्यही अवस्थामा राख्दा स्थानीय जनताले फाइदा लिन नसक्ने उल्लेख गर्नुभयो । “विस्तारित गुरुयोजनाले स्थानीयलाई विस्थापित गर्छ भन्ने भ्रम छरिएको छ त्यो गलत छ , उहाँले भन्नुभयो, “लुम्बिनी विकास चाहाने हो भने अगुवाले फोहोरी राजनीति नगरुन् ।” प्रदेश सरकारले लुम्बिनीको विकासमा स्थानीयलाई सँगै लिएर अगाडि बढ्ने बताउनुभयो ।
लुम्बिनीको विकासका विषयमा जनतालाई भ्रम सिर्जना गरेर लुम्बिनीको वातावरण बिगार्ने काम नगर्न आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “लुम्बिनीको विकास चाहने हो भने फोहोरी राजनीति नगर्नुस् ।” बुद्ध दर्शनसँग जोडिएका कला विश्व कला बजारको महत्वपूर्ण हिस्सा रहेपनि लुम्बिनीका स्थानीय यससँग जोडिन नसकेको बताउँदै मुख्यमन्त्री पोखरेलले आजको जीवनसँग बुद्ध दर्शनलाई जोडेर जुनसुकै भाषामा पनि लुम्बिनी र यहाँको कला प्रस्तुत गर्न सकिने धारणा राख्नुभयो ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले लुम्बिनीको विकासका नाममा कसैले राजनीतिक स्वार्थ राख्न नहुने बताउनुभयो । महायोगी विद्याधर आचार्य श्रीधर राणा रिम्पोछेले बौद्ध कला र संस्कृतिको संरक्षणमा काठमाडाँैका नेवार जातिको ठूलो योगदान रहेको चर्चा गर्दै लिला बज्रले काष्ठमण्डप खडा गरी कलाको शुरुआत भएकाले नेपाली संस्कृतिमा उहाँको नाम थेरैलाई थाहा नहुनु दुर्भाग्य भएको बताउनुभयो । उहाँले बौद्ध कला र संस्कृतिको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक खिमलाल भट्टराई, पूर्वमन्त्री दीपकुमार उपाध्याय, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयलगायत लुम्बिनीको विकासमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले बौद्ध धर्म दर्शन पढाउने मात्रै नभइ बौद्ध कला र संस्कृति संरक्षण र संवद्र्धन गर्ने दायित्व विश्वविद्यालयको भएकाले महोत्सवको आयोजना गरिएको बताउनुभयो । तीन दिनसम्म चल्ने महोत्सवमा बौद्ध कला र साहित्यको प्रदर्शन तथा बौद्ध अध्ययनसम्बन्धी साहित्यको विविध विषयमा गोष्ठीको आयोजना तथा मोन्लाम पूजा, बौद्ध कला, संस्कृति तथा साहित्यको प्रदर्शनी हुने बताउनुभयो ।
महोत्सवअन्तर्गत आज बिहान लुम्बिनीमा शान्ति दौड सम्पन्न भएको छ । लुम्बिनीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको दौडमा एक हजार सहभागी भएको कार्यक्रम संयोजक कुमार खड्काले जनाकारी दिनुभयो ।
महोत्सवअन्तर्गत विश्वविद्यालय परिसरमा अक्षेश्वर महाविहारको संयोजनमा बौद्ध कलाको प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा बौद्ध धर्म, संस्कृतिसम्बन्धी विभिन्न समुदायको कलाकृति राखिएको छ । महोत्सवमा पूर्वमन्त्री मोदनाथ प्रश्रित, पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्वराजदूत खगनाथ अधिकारी, टङ्क कार्की, विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा त्रिरत्न मानन्धर, डा कुन्दन अर्याल, पुरातत्वविद् कोषप्रसाद आचार्य, वसन्त विडारी, प्राज्ञ गोपीरमण उपाध्यायसहित १६ विद्धान्ले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको विश्वविद्यालयका प्रमुख फणिन्द्र न्यौपानेले जानकारी दिनुभयो ।