नेपाली अधिकारीलाई ४ करोड घूस दिएको एयरबसद्वारा स्वीकार

  माघ २१, २०७६

माघ २१,  काठमाडौँ । एयरबसले नेपाली अधिकारीलाई कम्तीमा ४ करोड २८ लाख रुपैयाँ (३ लाख ४० हजार युरो ) घूस दिएको स्वीकार गरेको छ । युरोपेली एरोस्पेस कम्पनी, एयरबसले नेपाल एयरलाइन्स कर्पोरेशनका लागि दुई न्यारो बडी एरबस ए३२० विमानहरूको सम्झौता सुरक्षित गर्न कम्तीमा ३ लाख ४० हजार युरो तिर्नुपरेको फ्रान्सेली राष्ट्रिय वित्तीय अभियोजकको कार्यालयले जारी गरेको सम्झौतापत्रमा उल्लेख छ।

१८ लाख डलरको कुल वित्तीय प्रतिबद्धतालाई संकेत गर्ने उक्त सम्झौताका अनुसार सो भुक्तानी ‘विदेशी सरकारी अधिकारीका लागि घूसका रूपमा उल्लेख गर्न योग्य हुन सक्छ।’ एयरबसले दिएको कूल १८ लाख डलर (झण्डै नेपाली २० करोड रुपैयाँ) नेपाली बिचौलिया र अधिकारीहरुलाई भुक्तान गरिएको थियो या थिएन भन्ने विषय यकिन नभए पनि ३ लाख ४० हजार युरो भने तेश्रो पार्टीमार्फत नेपाली अधिकारीहरुसम्म आइपुगेको विश्वास छ।


नोभेम्बर २००९ मा दुबईमा भएको एयर शोमा नेपाल एयरलाइन्सका तत्कालीन प्रबन्ध निर्देशक सुगतरत्‍न कंसाकारले एयरबससँग वाइड बडी ए३३०-२०० र न्यारो बडी ए३२० विमान खरिदका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। सहमतिपत्रअनुसार ए३३० र ए३२० दुई वर्षमा बुझाउनुपर्ने तय भएको थियो। तर अग्रिम भुक्तानीको रूपमा ७ लाख ५० हजार डलर एयरबसलाई भुक्तानी दिएपछि कंसाकारलाई अनियमितता गरेको आरोपमा पक्राउ गरिएको थियो।

तपाईको प्रतिक्रिया