वैदेशिक रोजगारीमा जाने युवालाई बिना धितो ऋण

  माघ १७, २०७६

जनकपुरधाम, १७ माघ : प्रदेश २ बाट वैदेशिक रोजगारीमा जाने युवाले बिना धितो सहुलियत ऋण पाउने भएको छ ।

प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउन सम्झौता सम्झौता भएको छ । बिहीबार भएको सम्झौता अनुसार बैंकले युवालाई ऋण दिन शुरुआत गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गर्दै प्रदेश सरकारको पहल तथा सीप परियोजनाको सहयोगमा कार्यक्रम शुरुआत गरिएको जानकारी दिनुभयो । उहाँले अब वैदेशिक रोजगारीमा जाने युवालाई सीप सिकेर रोजगारमा जान आग्रह समेत गर्नुभयो । यसअघि एसबिआइ बैंकले कर्जाको शुभारम्भ गरेको थियो ।

प्रभु बैंकले सो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा वैदेशिक रोजगारमा जाने युवालाई उपलब्ध गराउनेछ । सिरहा, धनुषा र महोत्तरीमा एसबिआइ बैंकले सेवा दिने जनाइएको छ । ती बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाउँमा बचत खाता खोली दिने र राहदानी लिइ श्रमसम्झौतापछि बैंकमा जम्मा गरेपछि पाँच दिनभित्र कर्जा उपलब्ध गराउने प्रावधान राखिएको छ ।

बैंकका कार्यकारी प्रमुख मणिराम पोखरेलको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साह,सचिव रामकृष्ण सुवेदी, डिफिडका रोब क्लर्क, सीप परियोजाका बलजित बोहराले नयाँ कार्यक्रम शुरुआत भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया