सहिद दिवस : सहिदका सपना बिर्सियौं कि

  माघ १६, २०७६

मनिषा आचार्य

‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुईचार सपूत मरेर नगए’ भनेजस्तै दिनहुँ नभएका नक्षत्रहरु झरेर सुर्यको दीपको पदार्पणसहित हरेक मानवले आफ्नो दैनिक गृहकार्यको सुरुवात गरेजस्तै समृद्ध मुलुक निर्माणका खातिर हरेक ऐतिहासिक कालखण्डमा नेपाली वीर सपुतहरुले आफ्नो ज्यानको उत्सर्ग गरेका छन् ।

आफ्नो व्यक्तिगत जीवन, परिवार र समग्रमा आफ्नै ज्यानलाई सुलीमा चडाएर स्वतन्त्रता, समानता र सार्वभौमिकताका निम्ति अबिचलित यात्रामा संघर्ष गर्दागर्दै आफ्नो देह त्यागेको सम्मान र सम्झनाको यो दिन हो माघ १६ गते ।

नेपालका प्रथम सहिद लखन थापासहित गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द ठकुरीलाई प्रजातन्त्रको पक्षमा वकालत गरी जनतामा भ्रम छरेको अभियोगमा टेकुको शुक्र वृक्ष, सिफलको रुख, खरिको रुख, शोभा भगवती लगायत स्थानमा निर्ममतापूर्वक हत्या गरिएको थियो ।

सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदानी भएर लोकहितका निम्ति आफ्नो जीवन समर्पण गरेका इतिहासको पानामा र प्रत्येक देशभक्त नगरिककको मन मनमा बस्न सफल अमर व्यक्तिहरुलाई बुझिन्छ । सहिद शब्द आफैंमा गौरवपूर्ण इतिहास बोकेको देशको स्वाधीनता, अखण्डता एवं लोकतन्त्रका लागि आत्मबलिदान गर्ने विरत्व गुणयुक्त साथै सहिद आत्मत्सर्ग, निस्ठा, आदर्श, चेतना, विरता, साहास र समर्पणजस्ता गुण र ती अनुसारका कर्मको पर्यायवाची शब्द हो । सर्वप्रथम मुलुकमा समुल परिवर्तन ल्याउनका लागि भावी पुस्ता र देशको समग्र सकारात्मक आयाम बदल्नका निम्ति आफ्नो जीवनको कुर्वानी गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति हार्दिक सम्मान र नमन छ ।

नेपालको प्रजातान्त्रिक इतिहास अनि राणा शासनका विरुद्धम प्रजातन्त्र बहालिका निम्ति शहिदहरुले बलिदानी दिएकोमा विसं २००७ सालमा भएको प्रजातन्त्रपछि पुनः निर्दलीय ब्यवस्था लगायत ०३२ सालको जनमत संग्रह, ०४६ सालमा भएको संवैधानिक राजतन्त्र अनि बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना हुँदै ०६२¬।०६३ सालको जनयुद्धको समाप्तिसम्म आइपुग्दा नेपाल आमाका धेरै सन्तानहरु सहिद भएका हुन् । सरकारले ०६७ असार ९ गते शान्ति तथा पुनस्र्थापना मन्त्रालयको सिफारिसमा एक हजार ६ सय १९ (१,६१९) जनालाई सहिद घोषणा गरेको थियो । त्यसपश्चात विभिन्न कालखण्डमा भएका सशस्त्र अनि हिंसाको फेरिहस्त अझै लामो छ, अझै पनि धेरै नेपाली बेपत्ता पारिएको सूचीमा छन् । पछिल्लोपटक विभिन्न झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत सहिद घोषणा गर्नुपर्ने र १० लाख रुपैयाँ आर्थिक सहयोगका लागि दबाब दिने प्रचलन बढेको छ । यसले वास्तविक सहिदको भावनामा ठेस पुगेको छ, सहिदप्रति अपमान भएको छ ।

सहिद दिवस र सप्ताहमा आयोजना हुने विविध कार्यक्रममा हामी सहिद र बेपत्ता योद्धाहरुको सपना पूरा होस्, क्रान्ति पूरा होस् धोका नहोस्, जनताको सत्ता प्राप्ति होस्, नेपाली जनताले अधिकार पाउन् देश स्वाधीन बनोस् भनेर निःसन्देह यी सम्पूर्ण साझा सुझावहरु छर्ने गर्छौं, यी सुझावहरु पूर्णतः सहि भए पनि यी सुझावलाई प्राप्ति गर्ने मार्गमा हामी छौं कि छैनौं भन्ने हो । भाषणमा ’हामी सहिदका सपना पूरा गर्छौं’ यसो भनिरहदा वास्तममा सहिदका सपना के थिए त ? ती सपनाहरु अहिले कहाँ अल्मलिएका छन् ? तिनीहरुलाइ पूरा गर्ने दायित्वबोध गर्न हामी कहानिर चुक्यौं ? ती सपनालाई पूरा कसरी गर्न सकिन्छ ? सहिदका सपना पूरा गर्ने बाटोमा थप सहिद भएकाहरुको योगदानको कहाँ र कति कदर भयो ? सामजिक बनोटमा असमानता र विभेद कायम रहेको कुरा यथार्त हुँदाहुँदै बिपन्नता र पराधिनता किन हाम्रो नियती बनिरह्यो ? यस्ता प्रश्नहरु ऋाज हामी हरेक नेपालीको मन मनमा उब्जिरहेका छन् । यिलगायत प्रश्नहरुको उत्तर खोजेर सहिदका सपना साकार पार्ने बाटोमा अबको नेतृत्व लग्नैपर्छ ।

मेरो विचारमा सहिदका सपनाहरु आजको पुँजीवादी, दलाल पुँजीवादी समाजलाई परिवर्तन गर्नु, देशमा नया जनवाद हुँदै वैज्ञानिक समाजवाद स्थापना गर्नु ,जनतालाई अधिकार सम्पन्न बनाउनु, देशलाई स्वाधिन बनाउनु र विश्वका जनताका मुक्तिका निमित्त आन्दोलनलाई सहयोग पुर्याउनु हो । सहिदको सम्मान माल्यार्पण र मौनधारणले मात्र पुग्दैन र हुँदैन, सहिदको सम्मान तब हुन्छ जब उनीहरुले देखेको सपना पूरा हुन्छ, तर सबैलाई ज्ञान छ हाम्रो देश सहिदका सपना अनुसार परिवर्तन हुन सकेको छैन, आज पनि देशमा पुँजीवादी व्यवस्था चलाउन खोजिदैछ सहिदको त्यागमा खरानी हुँदै गइरहेको प्रतिक्रियावादीहरु पुनः पुनर्जीवित हुन खोज्दैछन्, महान सहिदको मुटु छियाछिया हुनेगरी गोली दाग्नेहरु र क्रान्तिलाई आतंकवाद भन्नेहरु नै परिवर्तन, गणतन्त्र र समृद्धिको भाषण गरिरहेका छन्, जनतालाई उहीँ सडेगलेको पुँजीवादी व्यवस्थाभित्र कैदी बनाएर अधिकार पाएको हल्ला फिजाइरहेका छन् ।

हिजो दशक अगाडिका विभेद, शोषण र दमन अत्याचारका विभिन्न रुपहरु जारी छन्, तिनीहरुले आजसम्म आइपुग्दा साइज त बदले होलान् तर सोच बदलिएको छैन । त्यसैले आज सहिदलाई सम्झने प्रक्रियामै परिवर्तन गर्नेतर्फ सोच्न लाग्ने कि भन्नेहरुको बहुमत देखिन्छ, जुन बेला जुन परिस्थितिमा जसले देशको उज्यालो पक्षको निम्ति आफ्नो ज्यानको बाजी लगाए उनीहरुलाई राज्यले उचित रुपमा सम्झन जरुरी छ, उनका आश्रित परिवारलाई भरणपोषण, शिक्षादिक्षा र उनको योगदानको उचित मूल्यांकन गर्नु आजको आवस्यकता हो ।

सहिदका सपनालाई साकार पार्ने जिम्मेवारी अब युवा पुस्ताको हो, वर्तमान सन्दर्भमा राष्टियताको विषयमा भिन्नभिन्न खालका बहसहरु चलिरहँदा राष्टिय प्रतिरक्षा नै देशभक्त नागरिकको उच्च अभिव्यक्ति हो, युवा पिढीको सबैभन्दा पवित्र जिम्मेवारी पनि हो । २१ औं शताब्दीको युवा पिढीले यस सच्चाइलाई उच्च सम्मानका साथ राख्नुपर्दछ, आफ्नो मातृभूमिका लागि आफ्नो युवावस्थालाई समर्पित गर्दै आफ्नो पुस्ताको जिम्मेवारीलाई इज्जतका साथ पूरा गर्न शसक्त तरिकाले राष्टिय प्रतिरक्षाको अग्रमोर्चामा उभिनु नै सहिदप्रतिको उच्च सम्मान हो, सरकारले गरेका राम्रा काममा पूर्ण समर्थन र साथ दिँदै नराम्रा र देशलाई हानी गर्ने निर्णयका विरुद्धमा आवाज बुलन्द गरेर त्यसका विरुद्ध युवापुस्ताले नै महत्वपूर्ण भुमिका निर्वाह गर्ने संकल्प गर्नुपर्दछ ।

समृद्ध समाजवादी राष्ट्र निर्माण नै जनताको रगतको मूल्यमा रक्षित देशलाई अझ समुन्नत बनाउन र नेपाली जनताका सुन्दरतम आदर्शलाई यथार्ततामा रुपान्तरण गर्न संघर्षमा गौरवमय जोस र जागर प्रदर्शन गर्न वर्तमान युगका युवाका लागि सबैभन्दा ठूलो सम्मान र गौरवको विषय पनि हो । अब युवा विद्यार्थीले आर्थिक किल्ला निर्माण गर्ने मेरुदण्ड बन्नुपर्छ, आर्थिक श्रम लाग्ने र कठिनाइका क्षेत्रमा स्वयंसेवी भएर काम गर्न सक्ने ल्याकत राख्नुपर्दछ र उन्नत क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्नुपर्दछ । राष्ट्र निर्माणका क्रममा रहेका धेरै ठूला आकारका तथा पुनर्निर्माणका परियोजनाका क्षेत्रमा पराक्रम देखाउनु पर्दछ, युवाहरुलाई स्वदेशमै विज्ञान र प्रविधिको तीव्रतम युगलाई समेत उछिन्ने र अगाडि बढाउन सक्ने सुनौलो अवसर र व्यवस्था राज्यले मिलाउनुपर्छ, आफ्नो सृजनात्मकता, वौधिकता तथा प्रतिभालाई पूर्णतामा विकास गर्ने युवा विज्ञान प्रविधिको अभियानमा लगाउनुपर्दछ्र ।

हामी युवा विद्यार्थीहरु समुन्नत नेपालका स्तम्भहरु हौं, हामीले वैज्ञानिक तथा प्राविधिक शक्ति तथा प्रतिभावान राष्ट्रको रुपमा देशको भविष्यलाई डोर्याउने कामको जिम्मा लिँदै उत्पादन, उद्यमशीलता तथा विविध सामाजिक, राजनितिक क्रियाकलापमा सक्रियताका साथ सहभागी हुनुपर्छ, सैद्धान्तिक तथा व्यवहारिक क्षमता र बिल्कुलै सीपयुक्त क्रान्तिकारी श्रमिकका रुपमा आफूलाई तयार पार्नुपर्दछ ।

अन्त्यमा गणतन्त्र स्थापनाका निम्ति आफ्नो जीवन उत्सर्ग गर्ने हाम्रा सहिदका मार्गहरु अनुशरण गर्दै हजारौं वीरगंनाहरुले ज्यानको आहुती त्यसै दिएका छैनन्, आजसम्म देशमा भएका राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणको श्रेय पूर्णतः सहिदहरुलाई नै जान्छ । सहिदको सपना र समर्पणलाई हामीले कति साकार पार्यौं र कति अधुरै छन् भन्ने हामी सबैले मनन गर्न जरुरी छ, सहिदका परिवार अनि उनीहरुको अवस्था कस्तो छ भन्नेतर्फ विचार गर्न जरुरी छ, सहिदको संकल्पको छत्रछाया राज्यलाई सधैं प्राप्त होस्, सहिदका सपनालाई साकार पार्न युवापुस्ता अग्रपंक्तिमा रहेर देशप्रतिको आफ्नो जिम्मेवारीलाई इमान्दारिताका पूरा गर्न कम्मर कसौं सहिदहरु एक कर्मठ देशभक्त नागरिकका लागि मर्यादा हुन्, विश्वास हुन्, राष्ट निर्माणका अमर, अजर, आदर्श खम्बा हुन् ।

(लेखक अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी केन्द्रीय सदस्य हुन् ।)

तपाईको प्रतिक्रिया